चलचित्र ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक

काठमाडौं – कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित उक्त कार्यक्रममा चलचित्र युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। निर्देशक अर्जुन सुवेदी, अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बु, अभिनेता विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, अभिनेत्री सबु गुरुङलगायतको उपस्थिति रह्यो।

ट्रेलरमा एक अर्ग्यानिक नेपाली प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठेराबिच अंकुरिएको प्रेमको संवेदनशील चित्रण गरिएको छ। ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबिचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई उजागर गरेको छ। कथा मुख्यतः अभिनेत्री परीक्षा लिम्बुको वरिपरि केन्द्रित छ, जहाँ उनी र अभिनेता प्रकाश सपुतबिचको प्रेमकथा चलचित्रको मुख्य धागोका रूपमा प्रस्तुत गरिएको छ।

‘सोल्टिनी’लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। लेखनमा अर्जुन र कुमार भट्टराई रहेका छन्। प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ।

निर्देशक सुवेदीका अनुसार ‘सोल्टिनी’ले समाजमा विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको सशक्त आवाज उठाउने उद्देश्य लिएको छ।

बक्स अफिस कलेक्सनमा ‘बलिदान’ एक नम्बरमा

दसैँको फूलपातीमा एकै दिन रिलिज भएका तीनवटा सिनेमामा ‘बलिदान’ सबैभन्दा अगाडि देखिएको छ । बक्स अफिस कलेक्सनमा ‘बलिदान’ एक नम्बरमा रहेको छ ।

चलचित्र विकास बोर्डले बुधबार आठ दिनको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ । बोर्डको बक्स अफिस रिपोर्ट अनुसार सबैभन्दा धेरै ‘बलिदान’ले आठ दिनमा ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ ।

यो बक्स अफिसमा जडान भएका हलको मात्रै तथ्यांक हो । सिंगल थिएटर र बक्स अफिसमा जडान नभएका हलको कलेक्सन भने बाहिर आएको छैन ।

बक्स अफिस कलेक्सनमा दोस्रो स्थानमा ‘हरिबहादुरको जुत्ता’ छ । यसले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कलेक्सन गरेको छ ।

तेस्रो स्थानमा रहेको ‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
‘बलिदान’मा समीर भट्ट मुख्य भूमिकामा छन् । समीरसँगै सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी, सन्तोष सेन पनि मुख्य भूमिकामा छन् । सन्तोष सेनले निर्देशन गरेका छन् ।

‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । हरिवंशसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत मुख्य भूमिकामा छन् । दिपेन्द्र कुमार खनालले निर्देशन गरेका छन् ।

‘माइतीघर’मा धीरज मगर, केदार घिमिरे, उपासनासिंह ठकुरी र प्रकाश सपूत मुख्य भूमिकामा छन् । मिलन तामाङले निर्देशन गरेका छन् । यी तीनवटा चलचित्र असोज १३ गते फूलपातीका दिन रिलिज भएका थिए ।

‘वरिष्ठ बलराम’को गीतमा विजय र समृद्धिको ठुम्का

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको छ । ‘न्यौली बनैमा’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।

गीतमा प्रशान्त शिवाकोटीको शब्दरचना छ । संगीत पनि प्रशान्तकै छ । स्वर प्रशान्त र शान्तीश्री परियारको छ ।

प्रेमिल गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा छ । गीतमा माया र शंका छ । शंकाका बीचमा प्रेमका कारण बनेको विश्वास छ । विश्वासका कारण घर बसाउने सहमति छ ।

गीतमा प्रेमिकासँग सँगै जीवन विताउने सपना बोकेको प्रेमीले बताएका छन् । प्रेमिकाले भने प्रेमीको बानीव्यवाहारप्रति शंका व्यक्ति गरेकी छन् ।

मायामा शंका नगर्न गरेको प्रेमीको आग्रहमा प्रेमिका सहमत हुने गीतको भिडियो पनि आकर्षक छ । भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय छ । गीत र भिडियोले विजय र संबृद्धिको जोडी रहेको संकेत गरेको छ ।

कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

गित –

चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक

काठमान्ड पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालले मुख्य स्थान पाएका छन् । बाँकी अन्य कलाकार पनि फिचर्ड छन् ।

एउटा पोस्टरमा भने दयाहाङ र विजय मात्रै छन् । रातो सुट र सर्ट–पाइन्टमा ठाँटिएका छन्, दयाहाङ । हातमा मोबाइल बोकेका उनी क्रुद्ध देखिएका छन् । विजय भने निरास देखिएका छन् । दोस्रो पोस्टरमा दयाहाङ र विजय दुवै सोचमग्न छन् । यो पोस्टरमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी फिचर्ड छन् । उनीहरूलाई क्यारेक्टरमा देख्न सकिन्छ ।

पोस्टरले चलचित्रको कथा के हो भन्नेमा कौतुहलता सिर्जना गरेको छ । तर, कथा केही पनि चुहाएको छैन ।
तेस्तै सार्बजनिक गरिएको पहिलो झलकमा भने दयाहाङ राई र विजय बराल बिचको नोक-झोकलाइ प्रस्तुत गरिएको छ । यसले चलचित्र प्रतिको उत्सुकतालाई बढाई दिएको छ ।

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ । पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ ।

यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ को छायाकंन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

नेपाली चलचित्र ‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने

काठमाडौं – दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो।

फेस्टिभलले जारी गरेको सूचनाअनुसार, फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ। यस पटक महोत्सवका लागि ३,०५९ वटा चलचित्र पेस भएका थिए, जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो।

फिल्मका निर्माता केदार भुसालले यस उपलब्धिले नेपाली कथाहरूलाई विश्वसामु पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको बताएका छन्। उनले भने, “नेपालका फरक–फरक कथाहरूलाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौँ। ‘रिहाना’को बुसान छनोटले मलाई अझ ठुलो हौसला र प्रेरणा दिएको छ।”

चलचित्रलाई ‘अ दुम्सी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको हो, जसमा मिराज मोशन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेमको सहकार्य रहेको छ। चलचित्रको लेखन तथा निर्देशन सुरज पौडेलले गरेका हुन्। यसमा पृथु भट्ट र सृजना अधिकारीको मुख्य भूमिका छ। चलचित्रलाई उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालले मिलेर निर्माण गरेका हुन् भने रोशनी अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छन्।

शिशिर विशंखेको छायाङ्कन रहेको चलचित्रको सम्पादन गौरव कुमार मुल्लिकले गरेका हुन्। कास्टिङ निर्देशकको जिम्मेवारी मदन श्रेष्ठले निभाएका छन्। यसै गरी, साउन्ड डिजाइन र मिक्सिङको काम डिकेश खड्गी शाहीले गरेका छन्, र राम लाल खड्का प्रोडक्सन डिजाइनरका रूपमा छन्। फिल्मको सह–लेखन शैलेश आरसी (एलएसएम)ले गरेका छन्।

बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक मानिन्छ। विशेष गरी एसियाली सिनेमालाई विश्वसामु चिनाउने प्रमुख मञ्चको रूपमा यसले ख्याति कमाएको छ। नयाँ निर्देशक र फरक कथा शैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले यसलाई ‘एसियाको क्यान्स’ पनि भनिन्छ।

यस महोत्सवमा छनोट हुनु कुनै पनि देश वा चलचित्र निर्माताका लागि ठुलो उपलब्धि मानिन्छ। ‘रिहाना’ को यो सहभागिताले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा नेपालको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

‘बेहुली फ्रम मेघौली’ निर्देशकले चलचित्र ‘जिरो डिग्री’ बनाउने, विजय बराल मुख्य भूमिकामा

काठमाडौं – ‘बेहुली फ्रम मेघौली’का निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ चलचित्र ‘जिरो डिग्री’ बनाउने भएका छन्। सोमबार मिनिमल पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्र घोषणा गरिएको हो।

चलचित्रको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका छन्। ‘जिरो डिग्री’को कथा सडक नभएको गाउँमा आफ्ना मातापिताको निधन हुँदा विदेशमा रहेका छोराछोरी आई पुगुन्जेलसम्म शव जोगाउन डीप फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित छ। यो चलचित्र एउटा फ्रिज गाउँसम्म पुर्‍याउने प्रसङ्ग मात्र नभएर ‘लाइट कमेडी’ कथा पनि रहेको निर्देशकले बताए। यस चलचित्रमा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन्।

ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको पोस्टरमा मध्य भागमा डीप फ्रिजको चित्र छ, जसलाई केही मानिसहरूले बोकेर खोला तारिरहेका छन्। सामान्यतया चलचित्रको पोस्टरमा कलाकारको अनुहार वा ठुलो दृश्य रहने परम्परालाई तोड्दै कथाको महत्त्वपूर्ण वस्तुलाई यहाँ केन्द्रमा राखिएको छ।

चलचित्रका कार्यकारी निर्माता मोती कार्की हुन्। ‘जिरो डिग्री’को छायाङ्कन तिहारपछि सुरु हुनेछ र आगामी वर्ष प्रदर्शन गर्ने योजना छ। यसको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ। चलचित्रका गीतहरूमा अङ्कित बाबु अधिकारीले सङ्गीत दिनेछन् भने चलचित्र ‘ऊनको स्वीटर’को चर्चित गीत ‘काफ्ले’का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन्।