‘मोहर’को नयाँ पोष्टर ,पल शाहको दोहोरो अवतार

ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मोहर’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । आगामी साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको नयाँ पोष्टरले खास केही कुरा बताउन खोजेको जस्तो देखिन्छ ।

सार्वजनिक पोष्टरमा अभिनेता पल शाहको दोहोरो अवतार देखिन्छ । उनी पहिलो लुक्समा अभिनेत्री बेनिशा हमालसँग लामो कपाल पालेर अंगालोमा बाँधिएका छन् । अर्को लुक्समा छोटो कपालको साथमा अभिनेत्री नीति शाहको अंगालोमा देख्न सकिन्छ । यसले, कतै पल सिनेमामा दोहोरो भूमिकामा त छैनन् भन्ने उत्सुकता दर्शकमाझ उत्पन्न हुने देखिन्छ ।

जेठको २७ गते टिजर सार्वजनिक हुने सिनेमा ‘मोहर’लाई अलिखित नियमहरुमा आधारित कथा भनिएको छ । यसैले, पोष्टरबाटै दर्शकमाझ निर्माणपक्षले कौतुहलता जगाउन खोजेको प्रष्ट हुन्छ । टिजर सार्वजनिक भएपछि सिनेमाको कथावस्तुका बारेमा दर्शकले अझै थप वुझ्न सक्ने निर्माणपक्षले बताएको छ ।

चुम्बन जंग शाहीको लगानी रहेको सिनेमामा अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि मुख्य भूमिका छ । दिपेन बस्न्यातको छायांकन रहेको सिनेमामा कुमार महर्जनको एक्शन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द रचना छ ।

फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको यो सिनेमामा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक र लक्ष्मण राज पौडेल निर्माण नियन्त्रकको रुपमा छन् ।

सिनेमा ‘रियाल रिङ्गेट’को प्रदर्शन मिति घोषणा,फर्स्टलुक पोस्टर सार्वजनिक

विभोर पोखरेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘रियाल रिङ्गेट’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली युवाहरूको सपना, संघर्ष र बिछोडको मार्मिक कथामा आधारित सिनेमालाई गगनलाल प्रधानले निर्माण गरेका हुन् । रेबेल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता प्रधान दशकौँदेखि गीत संगीत निर्माणमा सक्रिय छन् । सिनेमाको कथा लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

सिनेमाको नाम नेपालीहरू मजदुरी गर्न जाने देशह कतार तथा साउदी अरेबियाको करेन्सी ‘रियाल’ र मलेसियाको करेन्सी ‘रिङ्गेट’लाई मिसाएर बनाइएको छ । यसको पोस्टरमा भावनात्मक गहिराइ झल्काइएको छ । पोस्टरको ट्यागलाइनमा लेखिएको छ, ‘जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो ।’ यसले सिनेमाको समग्र मर्मलाई एक वाक्यमा समेटेको छ । यो छोटो कविता कवि नाथन रायनले लेखेका हुन् ।

पोस्टरको माथिल्लो भागमा देखिएकी महिला पात्र नीता ढुंगानाको अनुहारमा पीडा, अपुरो आशा र शून्यता देखिन्छ । पोस्टरको बीच भागमा विभिन्न सामाजिक पृष्ठभूमिका पात्रलाई प्रस्तुत गरिएको छ । जसले गरिबीले थिचिएका र अनगिन्ती सपना बोकेर बिदेशिएका नेपाली युवाको प्रतिनिधित्व गर्छन् । पृष्ठभूमिमा प्रवासी मुलुकको सहरका विशाल गगनचुम्बी भवनहरूले मलेसिया, कतार वा युएईजस्ता खाडी मुलुकहरूको संकेत गर्छ ।

सिनेमामा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।

सिनेमामा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत तथा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेका यी गीतका शब्द अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् । भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायांकन गरिएको सिनेमालाई काफिया फिल्मस्ले वितरण गर्दैछ ।द सिनेमा टाइम्स

जेठ २३ गतेदेखि प्रदर्शनमा चलचित्र जन्ते बाख्रो

आज जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र जन्ते बाख्रोको प्रिमियर बुधबार सिभिल मलमा आयोजना गरिएको थियो

प्रिमियरमा कलाकारहरु सौगात मल्ल, सन्दीप क्षेत्री, लाहुरे, अनुपविक्रम शाही, वर्षा राउत, सञ्जोग कोइराला, अशिम शाहलगायत उपस्थित थिए ।

चितवनको गर्मीमा ‘बिगुल’ फुक्दै चलचित्रको यो टिम

काठमाडौं । निर्देशक रमेश कोइराला निर्देशीत ‘बिगुल’ फिल्मको छायांकन चितवनका बिभिन्न स्थानमा धमाधम भइरहेको छ । बैशाख अन्तिमबाट थालीएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् ।

‘अधिक गर्मीका बाबजुत पनि सहजताका साथ सुटिङ भइरहेको छ,’ निर्देशक कोइराला भन्छन्,‘हामी चितवनको सेड्युल समापन सम्मुख पुगेका छौं । बाँकी दुई गीत र केही सिन काठमाडौंमा खिच्ने छौं ।’ दिनेश कोइरालाको कथा रहेको फिल्ममा समाजीक बिषयबस्तु उठान गरिएको छ ।

बेनीशा हमाल, नरेन खड्का, बिनोद न्यौपाने, नीर शाह, रबिन्द्र खड्का, रमेश बुढाथोकी, गीता अधिकारी, सरोज खनाल, शिसिर वाङ्देल, इश्वरी बराललगायतका साथमा नव अभिनेत्री मिरा पण्डित मुख्य भूमिकामा रहेको फिल्मले मनोरञ्जनका साथमा समाजीक सन्देश समेत प्रस्तुत गर्ने बताइन्छ । म्याग्नोलिया ग्रुपको ब्यानरमा महेश कोइराला र सूर्यकान्त कोइराला निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता कल्पना पौडेल हुन् ।

कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत रहेको फिल्मको गीतको कोरियोग्राफी कमल राई र कविराज गहतराजले गर्नेछन् । शिब ढकालको छायांकन रहेको फिल्ममा एनवी महर्जनको द्वन्द्व निर्देशन, मौनता श्रेष्ठको पटकथा, श्याम केसीको निर्माण व्यवस्थापन छ । फिल्म ०८२ भित्रै दर्शकमाझ ल्याउने योजना निर्माण पक्षको छ ।

ब्लक बस्टर सफल बनेसँगै ‘उनको स्विटर’ टिमले काट्यो चारतले केक

काठमाडौं । नेपालको पूर्वी भूभागमा रहेका लिम्बु समुदायकी युवतीलाई इतर समुदायको युवाले मन पराएपछि हुने परिस्थितिमा आधारित रहेर निर्माण गरिएको अग्र्यानिक चलचित्र ‘उनको स्विटर’ प्रदर्शनको एक महिना हाराहारीमा पुग्दा १० करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको छ । यही अवसरमा चलचित्र निर्माण समूहले खुसीयाली मनाउँदै केक काटेको छ । चलचित्र निर्माण समूहले मंगलबार बेलुका दर्शकहरुसँगै बसेर चलचित्र हेर्दै चार तले केक काटेको थियो ।

गत बैशाख २६ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र हेर्न अझैसम्म पनि हलमा दर्शकको घुईंचो लाग्ने गरेको छ । नेपाली बक्स अफिसमा राम्रो रेकर्ड राख्न सफल यस चलचित्रको उचाइलाई लिएर धेरै दर्शकहरुले समेत प्रशंसा गरेका थिए । नेपालमा भव्य सफल भएसँगै बिदेशमा सर्वाधिक माग भइरहेको चलचित्र उनको स्विटरले बिदेशका स्टेसनमा पाएको शोहरुमा राम्रो व्यापार गरिरहेको छ ।

यस चलचित्रमा विपीन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन बिक्रम राई, प्रेम सुब्बा, प्रतिक्षा लिम्बु, मेनुका प्रधान लगायतका कलाकारहरुहरुले अभिनय गरेका छन् । केन्द्र मोसन पिक्चर्स र आर्टमान्डु नेपाल प्रा.लि.ले निर्माण गरेको चलचित्रको लेखन तथा निर्देशन भने नबिन चौहानले गरेका हुन् ।