“कमेडी कि कडा यथार्थ ? ‘गोबर गणेश’को गीतले उठायो पढाइको प्रश्न”

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ ।

क्याची गीतले सिनेमाको मुड दर्शाउने प्रयास गरेको छ । रमाइलो शैलीको गीतले चलचित्रको मुड र थोरै भए पनि कथा र त्यसको प्रिजेन्टेसनको शैली बताउने काम गरेको छ ।

गीतको भिडियो, शब्द र संगीतले सिनेमाको बेस कमेडी रहेको प्रष्ट्याएको छ । गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ ।

पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रष्ट पार्छ । सबै कुरामा अब्बल हुँदा पनि पढाई मात्रै कमजोर हुँदा त्यसले समाज र साथीभाइबीच पार्ने नकारात्मक प्रभावलाई गीतले देखाएको छ ।

गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडियोमा मरिचमान केन्द्रमा छन् । उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले पनि राम्रो स्थान पाएका छन् ।

चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका छन् । छायांकन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

‘सिन्दुरे जात्रा’ लिएर आउँदै ब्लकबस्टर निर्देशक पौडेल

काठमाडौं । ब्लकबस्टर निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् ।

निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् । २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमा सिनेमाको टाइटल छ । सिन्दुरे जात्राको मन्त्र पढेजस्तो आवाज रहे पनि के भनेको हो त्यो भने बुझिँदैन ।

चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित चलचित्र हो वा अरु नै कथा रहनेछ यसबारे निर्देशक पौडेलले केही बताएका छैनन् ।

सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन् । सबिन अधिकारी र बसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने केही समयपछि जानकारी गराउने निर्देशक पौडेलले बताए ।

आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्र कहिले रिलिज गर्ने त्यो पनि निर्देशक पौडेलले प्रष्ट पारेका छैनन् ।

केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो । प्रदर्शन भइरहेका बेला जेनजीको आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित बन्न पुगेको ‘कोशेढुङ्गा’ले समाजिक विषय, मनोभावना र निर्देशन शैलीका कारण राम्रो प्रतिक्रिया बटुलेको थियो ।

ब्लकबस्टर निर्देशक पौडेलले यो नयाँ प्रोजेक्टबाट कस्तो नयाँ सिर्जना ल्याउने हुन् भन्नेमा चासो विषय बन्ने निश्चित छ ।

‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै बिनाको धन’ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर

काठमाडौँ।  देशभरका सिनेमाघरमा तेस्रो सातादेखि सफल प्रदर्शनमा रहेको परिवारिक चलचित्र ‘मन बिनको धन’ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर घोषणा गरेको छ। चलचित्र टिमले नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै जन्मदिनका दिन हलमा आएर चलचित्र हेर्ने दर्शकलाई टिकट रकम फिर्ता गरिने जानकारी दिएको हो।

बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको यस फिल्मको ‘ह्याप्पी बर्थडे’ गीतमा टंक बुढाथोकी, मेलिना राई, अन्नु चौधरी, अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको छ। गीतका शब्द, संगीत तथा एरेन्ज सबै टंक बुढाथोकीकै हुन्।

निर्माता तथा निर्देशक बुढाथोकीका अनुसार “जन्मदिनलाई विशेष बनाउन दर्शकलाई हाम्रो तर्फबाट सानो उपहार” स्वरूप टिकट रकम फिर्ता गरिने हो। जन्मदिन पर्ने दर्शकले हलबाट टिकट काटेर चलचित्र हेरेपछि टिमलाई सम्पर्क गर्दा रकम फिर्ता पाउनेछन्।

 

लगातार सफल प्रदर्शनमा रहेको ‘मन बिनको धन’ले २० दिनमै तीन करोड ६० लाखभन्दा बढी व्यापार गरिसकेको निर्माण टिमले जनाएको छ। चलचित्रलाई देशभर सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। विशेषगरी विद्यालयहरू आफ्ना विद्यार्थीलाई लिएर हलसम्म पुगिरहेका दृश्यहरू चर्चित बनेका छन्।

गुरु–शिष्य सम्बन्ध, पारिवारिक मूल्य, कर्तव्यबोध र शिक्षाको महत्वलाई समेटेको कथाले दर्शकलाई भावनात्मक रूपमा छोएको देखिन्छ। कलाकार अशोक दर्जीको वास्तविक जीवन घटनामा आधारित फिल्म हेरेपछि दर्शकले उनलाई अँगालो हालेर रुने दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। स्कुले विद्यार्थीदेखि अभिभावक, युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेरका दर्शक हलतिर आकर्षित भएका छन्। सअघि नै निर्माण टिमले देशभरका विद्यालयका विद्यार्थीलाई छुट दिने घोषणा गरिसकेको थियो।

चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारको दमदार अभिनय छ।

टंक बुढाथोकीले लेखेको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार गरेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) छिन्। जी.पी. संग्रोला, विवेक नेपाल र बिजया पाण्डे सह–निर्मातामा रहेका छन्। फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरुङको सम्पादन समावेश छ।

प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को सम्पूर्ण छायाङ्कन सकियो

काठमाडौं – दिनेश राउतको निर्देशनमा बनिरहेको प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को सम्पूर्ण छायाङ्कन सकिएको छ। गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो। छायाङ्कन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ। पोस्ट-प्रोडक्सनको प्रगति मूल्याङ्कन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक राउतले जानकारी दिए।

यसअघि छायाङ्कनको बीचमै नै चलचित्र ‘कुमारी’ चर्चामा रह्यो। घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल बनेको थियो। हाल देशव्यापी कन्सर्टमा रहेका गायक केहर सिंहले पनि दर्शकको अत्यधिक मागसँगै सो गीत गाइरहेका छन्। गायक लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले गाएको लाइभ भर्सन अहिले टिकटक र युट्युबमा अत्यधिक लोकप्रिय छ। ‘जेन-जी’ पुस्ताका प्रयोगकर्ताले टिकटकमा सर्वाधिक प्रयोग गरिरहेको गीतको स्टुडियो भर्सन भने चलचित्र रिलिजसँगै मात्रै सार्वजनिक गरिनेछ।

यस चलचित्रबाट अबिषेक खड्का र आकृति राजभन्डारीले प्रमुख भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार चलचित्रमा देखिनेछन्।

चलचित्रको छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन्। निर्माण बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा गरेको हो भने निर्माता महेन्द्र अधिकारी हुन्। चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ।

‘कुमारी’मा चार गीत रहेका छन्। सबै गीतमा स्वर गायक लिम्बुले नै दिएका छन्। सङ्गीतमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संयुक्त योगदान रहेको छ। शब्द लेखकमा सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्ले छन्।

निर्माण टिमका अनुसार, ‘कुमारी’ यही वर्षभित्र नै प्रदर्शन गर्ने लक्ष्य रहेको छ। छायाङ्कन सकिएको घोषणा सँगसँगै, निर्माण पक्षले अब पोस्ट–प्रोडक्सनमा पूर्ण फोकस गर्ने बताएको छ।

चलचित्र ‘धागो’ आज नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज

काठमाडौं – भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ आज नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज भएको छ। उदिप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ।

चलचित्रमा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण उत्पन्न हुने दैनिक समस्या, सामाजिक दबाब र विषम परिस्थितिका बीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने निरन्तर प्रयासलाई मार्मिक रूपमा चित्रण गर्छ। सङ्घर्ष, बिछोड र परिवारमा देखा पर्ने मनोवैज्ञानिक उतार-चढावका बीच केही हल्का हास्य तत्त्व पनि समावेश गरिएकोले कथा गम्भीर भए पनि दर्शकलाई जोडेर राख्छ।

‘धागो’ भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रहरूमा रिलिज भएको छ। भारतका यी क्षेत्रहरूमा नेपाली चलचित्रको दर्शक वर्ग बलियो रहेकोले ‘धागो’ ले उल्लेख्य ओपेनिङ पाउने अपेक्षा गरिएको छ। यस्तै, नेपालमा क्युएफएक्स सिनेमा, वन सिनेमा, आईएनआई सिनेमा लगायत देशभरका हलमा रिलिज भएको छ।

‘धागो’ मा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेकी छन्। साथै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारले साथ दिएका छन्। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिएकी छन्। चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन्।

फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसद्वारा निर्माण गरिएको यस चलचित्रमा उमा थापा, उत्तम थापा र उदिप थापा निर्माताको भूमिकामा छन्। नेपालमा आरआर फिल्म्सले वितरण गरिरहेको छ।

‘ऊनको स्वीटर’ अब भारतमा रिलिज हुने

काठमाडौं – नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै उल्लेखनीय सफलता बनाएको चलचित्र ‘ऊनको स्वीटर’ अब भारतमा रिलिज हुने भएको छ। आर्टमान्डूले निर्माण गरेको यस चलचित्रलाई भारतमा एसली प्रोडक्सनले वितरण गर्ने निर्णय गर्दै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छ। यस अनुसार नोभेम्बर २१ देखि चलचित्र दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहितका प्रमुख स्थानहरूका सिनेमा हलहरूमा पहिलो चरणमा प्रदर्शन गरिने निर्देशक नवीन चौहानले बताए।

हालै मात्र भारतको चलचित्र प्रमाणीकरण बोर्डबाट सेन्सर पास भएको ‘ऊनको स्वीटर’ भारत रिलिजका लागि दार्जिलिङस्थित एसभिएफ सिनेमा, कर्स्याङको कर्स्याङ फन्टाजी सिनेमा, नाम्चीको नाम्ची इम्पेरियल सिनेमा, सिक्किममा गान्तोकस्थित डेन्जोङ सिनेमा र वज्र सिनेमा, साथै गान्तोककै आईएनओएक्स गान्तोक सिनेमा, वेस्ट बंगालको लागि सिलिगुडीको आईएनओएक्स सिनेमा सिटी सेन्टर, आईएनओएक्स वेगा सर्कल, आईएनओएक्स एग्रोपोलिस सिलिगुडी र साउथ सिटी सिलिगुडी लगायतका प्रतिष्ठित हलहरूले प्रदर्शनका लागि आफ्नो स्क्रिन प्रदान गरिसकेका छन्। हिमाली क्षेत्रका नेपाली भाषी तथा नेपाली समुदाय नजिक रहेका भारतीय दर्शकलाई लक्षित गर्दै यी स्थानहरूलाई प्राथमिकता दिइएको बताइएको छ।

साथै, चलचित्रको भारत प्रिमियर रिलिजको १ दिन अघि नोभेम्बर २० मा सिक्किममा हुने भएको छ। प्रिमियरमा नेपालबाट अभिनेताहरू विपिन कार्की र एलेक्स पारससहित कलाकारहरू, गायक सुजन चापागाईँ र निर्देशक नवीन चौहान लगायत सहभागि रहने जनाइएको छ। यस्तै, त्यस क्षेत्रका नेपाली कलाकर्मीहरु तथा सिक्किमका राज्य तहका व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ।

गत वैशाख २६ गते नेपालमा सार्वजनिक भएको ‘ऊनको स्वीटर’ देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई वर्षकै चर्चित मध्ये एक बनेको थियो। नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको चलचित्रले नेपाली समाजका वास्तविक भाव र बुझाइलाई स्पर्श गर्ने कथा वाचन, सशक्त अभिनय तथा मन छुने सङ्गीतका कारण दर्शक र समीक्षक दुवैबाट प्रशंसा पाएको छ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेललगायत कलाकारहरूको प्रभावकारी अभिनय रहेको छ। गीत सुजन चापागाईँले र सङ्गीत कोविद बज्रले निर्देशन गरेका छन्।

भारत रिलिजबारे एसली प्रोडक्सनले जारी गरेको वक्तव्यमा ‘ऊनको स्वीटर’ले नेपालमा जस्तै भारतका दर्शकमा पनि गहिरो प्रभाव पार्ने अपेक्षा राखिएको उल्लेख छ। नेपाली कथा वाचन र सांस्कृतिक भावनाले भरिएको यस चलचित्रले भारतका नेपाली भाषी क्षेत्रका दर्शक मात्र होइन, मौलिक कथा खोज्ने व्यापक भारतीय दर्शक समुदायलाई पनि आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ।

चलचित्र ‘मन बिनको धन’ को “बा आमा” गीत सार्वजनिक

काठमाडौँ, कात्तिक २६ 

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’ को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समाबेश “बा आमा ” बोलको गीत सार्वजनिक गरिएको हो । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकी संगीत तथा एरेन्ज र शंकर आचार्यको शब्द रहेको छ ।

देशैभरिका हलमा प्रदर्शन भईरहेको ‘मन बिनको धन’लाई दर्शकले मन पराएका छन् ।फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् ।

हल भिजिटमा पुगेका कलाकार अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ ।दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । फिल्म हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ ।

चलचित्रका कलाकारहरु राजधानी र राजधानी बाहिर दर्शकको प्रतिक्रिया लिन हरेक दिन हल हलमा पुगेका छन् ।पहिलो दिनमा ९५ शो पाएको फिल्मले अहिले सवा सयको हाराहारीमा सो पाएको छ । हरेक सोमा दर्शकको हाउसफुल उपस्थिति रहेको छ ।

चलचित्र अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा,बुद्दि तामाङ, रवीन्द्र झा,शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली लगायतका कलाकारको अभिनय रहेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।

फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

‘चलचित्र पत्रकार’ पुस्तक लोकार्पण

काठमाडौँ — नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको समग्र चित्रण र विश्लेषण गरिएको पुस्तक ‘चलचित्र पत्रकार’ शुक्रबार लोकार्पण गरिएको छ।


चलचित्र विकास बोर्डको सहयोगमा चलचित्र पत्रकार संघ नेपालद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोह सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले गरेका थिए।


कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डीसी), चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्की, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, पूर्वअध्यक्ष शान्तिप्रिय र कुवेर गिरी, कलाकार केदार घिमिरे, साहित्यकार डा. नवराज लम्साल, राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाल लगायतका विशिष्ट व्यक्तित्वहरूले सामूहिक रूपमा पुस्तक विमोचन गरे।
चलचित्र विकास बोर्डका अध्यक्ष डीसीले नेपाली चलचित्र क्षेत्रको समग्र अभिवृद्धिमा चलचित्र पत्रकारिता अभिन्न अंग भएको उल्लेख गर्दै भने —
“चलचित्र पत्रकारिताले चलचित्रको प्रचार र प्रवर्द्धनका साथै आलोचना, विश्लेषण र सुधारका दिशा देखाउने माध्यमको रूपमा काम गरेको छ। यसको समृद्धि र शुद्ध पत्रकारिताका लागि चलचित्र पत्रकार कल्याण कोष स्थापना गर्ने पवित्र उद्देश्यलाई बोर्डले सहयोग गरेको छ। यस प्रकारका प्रयासहरूले चलचित्र पत्रकारितालाई अझ जिम्मेवार, अनुसन्धानमुखी र स्थायी बनाउन मद्दत गर्छ।”
चलचित्र पत्रकार संघका अध्यक्ष बलामीले संघले चलचित्र पत्रकारितालाई शुद्धीकरण र व्यावसायिकता तर्फ उन्मुख बनाउँदै नयाँ पुस्तालाई अघि ल्याउने अभियानमा निरन्तर क्रियाशील रहेको बताए।
कार्यक्रममा चलचित्र पत्रकारिताको खोजी र अनुसन्धानमुखी स्वरूपका बारेमा अध्यक्ष डीसी, कलाकार संघ अध्यक्ष निरौला, पत्रकार शान्तिप्रिय, ध्रुव लम्साल, मदन रिजाल र रघुनाथ सापकोटाबीच गहिरो विचार–विमर्श गरिएको थियो।
विचार–विमर्शमा सहभागी पत्रकारहरूले चलचित्र पत्रकारितालाई कुनै निश्चित चलचित्र वा व्यक्तिको प्रचार केन्द्रित नभई स्वतन्त्र, निष्पक्ष र सिर्जनात्मक पत्रकारिताको सिद्धान्तअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
‘चलचित्र पत्रकार’ पुस्तकको बिक्रीबाट प्राप्त सम्पूर्ण रकम चलचित्र पत्रकार कल्याण कोषमा जम्मा गरिने निर्णय गरिएको छ।

तेक्वान्डो खेलाडी उमर खानलाई लिएर नयाँ सिनेमा ‘कंगाल करोडपति’ घोषणा

काठमाडौं । गत वर्षको सफल सिनेमा ‘होस्टेल ३’मा निवार्ह गरेको खलपात्रको भूमिकाबाट दर्शकमाझ चिनिएका अभिनेता तथा तेक्वान्डो खेलाडी उमर खानलाई लिएर नयाँ सिनेमा ‘कंगाल करोडपति’ घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबा बीच यो सिनेमाको निर्माण घोषणा गरिएको हो ।

सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको निर्देशन राजु श्रेष्ठले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा समेत हो । सिनेमामा उमरसहित पदम लोहोरको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने टुंगो लाग्न बाँकी रहेको निर्देशक श्रेष्ठले बताए । एउटा सामान्य मान्छे करोडपति र कंगाल बन्दाको अवस्थालाई सिनेमामा हास्य शैलीमा देखाइने छ ।

डेढ करोड लगानी अनुमान गरिएको सिनेमाको छायांका अगामी फागुन महिनादेखि सुरु हुने जानकारी निर्माण टिमले दिएको छ । कैफ खान निर्माता रहेको सिनेमामा सुमन गजमेरको कथा, पटकथा तथा संवाद लेखन छ । उनले यसअघि ‘रंगी’ लेखेका थिए । सिनेमामा मनोज केसी कार्यकारी निर्माताको रूपमा छन् ।

“निर्माणाधिन चलचित्र संग्राहलय” का लागि रेड एम एक्स क्यामेरा प्रदान”

काठमाडौं । चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको चलचित्र संग्राहलयका लागि अत्याधुनिक रेड एम एक्स क्यामेरा प्रदान गरिएको छ।

नेपाली चलचित्र क्षेत्रमै पहिलो पटक चलचित्र सम्पदालाई व्यवस्थित रूपमा संग्रह गर्ने लक्ष्यका साथ बोर्डले चलचित्र संग्राहलयको तयारी तीव्र पारेको छ।
१६ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको नेतृत्वमा सिनेफोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले उक्त क्यामेरा हस्तान्तरण गरेका हुन्। क्यामेरा बोर्डका अध्यक्ष दिनेश डिसीले ग्रहण गरेका हुन्।


उपकरण ग्रहण गर्दै अध्यक्ष डिसीले चलचित्र क्षेत्रको ऐतिहासिक यात्रालाई संग्रह र सम्मान गर्ने अभियानमा यो सहयोग महत्वपूर्ण थपिएको बताए।
“चलचित्रको इतिहास, प्रविधि र योगदानको संरक्षण केवल कागजमा होइन, दस्तावेज र उपकरणमार्फत प्रमाणित गर्ने समय आएको छ,” उनले बताए।
संग्राहलयमार्फत नेपाली चलचित्रका पुराना क्यामेरा, उत्पादन उपकरण, फिल्म पोस्टर, संगीत सामग्री, पटकथा, पुरस्कार–सम्मान लगायतका ऐतिहासिक सम्पदा संरक्षित गरिने बोर्डले जनाएको छ। यो क्यामेरा बाट नेपाली चलचित्र “मायाज बार”, “छ एकान छ”,  “अझै पनि” लगाएतका  चलचित्रहरु छायांकन गरिएको थियो ।
क्यामेरा प्रदान गरेका बुढाथोकीले नेपाली चलचित्रको इतिहास जोगाउन र नयाँ पुस्तालाई प्रेरणा दिन सहयोग गरेकोमा आत्मसन्तुष्टि भएको बताए।   दागंबाट राजधानीमा चलचित्र व्यवसाय गर्न आएका उनको कम्पनीले हाल चलचित्र निर्माणको लागि भाडामा उपकरण तथा पोष्ट प्रोडक्सनको व्यवस्थापन गर्दै आएको छ । सिनेफोकस अत्याधुनीक लाईट तथा उपकरणमा अब्बल मानिन्छ ।
“चलचित्र क्षेत्र हाम्रो पहिचान हो। यसको इतिहासलाई सुरक्षित राख्नु सबैको दायित्व हो,” उनले बताएका हुन्। उक्त हस्तान्तरण समारोहमा चलचित्र पत्रकार संघका समिर बलामी तथा महासचिव रघुनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो ।