सिनेमा ‘रियाल रिङ्गेट’को प्रदर्शन मिति घोषणा,फर्स्टलुक पोस्टर सार्वजनिक

विभोर पोखरेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘रियाल रिङ्गेट’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली युवाहरूको सपना, संघर्ष र बिछोडको मार्मिक कथामा आधारित सिनेमालाई गगनलाल प्रधानले निर्माण गरेका हुन् । रेबेल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता प्रधान दशकौँदेखि गीत संगीत निर्माणमा सक्रिय छन् । सिनेमाको कथा लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

सिनेमाको नाम नेपालीहरू मजदुरी गर्न जाने देशह कतार तथा साउदी अरेबियाको करेन्सी ‘रियाल’ र मलेसियाको करेन्सी ‘रिङ्गेट’लाई मिसाएर बनाइएको छ । यसको पोस्टरमा भावनात्मक गहिराइ झल्काइएको छ । पोस्टरको ट्यागलाइनमा लेखिएको छ, ‘जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो ।’ यसले सिनेमाको समग्र मर्मलाई एक वाक्यमा समेटेको छ । यो छोटो कविता कवि नाथन रायनले लेखेका हुन् ।

पोस्टरको माथिल्लो भागमा देखिएकी महिला पात्र नीता ढुंगानाको अनुहारमा पीडा, अपुरो आशा र शून्यता देखिन्छ । पोस्टरको बीच भागमा विभिन्न सामाजिक पृष्ठभूमिका पात्रलाई प्रस्तुत गरिएको छ । जसले गरिबीले थिचिएका र अनगिन्ती सपना बोकेर बिदेशिएका नेपाली युवाको प्रतिनिधित्व गर्छन् । पृष्ठभूमिमा प्रवासी मुलुकको सहरका विशाल गगनचुम्बी भवनहरूले मलेसिया, कतार वा युएईजस्ता खाडी मुलुकहरूको संकेत गर्छ ।

सिनेमामा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।

सिनेमामा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत तथा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेका यी गीतका शब्द अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् । भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायांकन गरिएको सिनेमालाई काफिया फिल्मस्ले वितरण गर्दैछ ।द सिनेमा टाइम्स

जेठ २३ गतेदेखि प्रदर्शनमा चलचित्र जन्ते बाख्रो

आज जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र जन्ते बाख्रोको प्रिमियर बुधबार सिभिल मलमा आयोजना गरिएको थियो

प्रिमियरमा कलाकारहरु सौगात मल्ल, सन्दीप क्षेत्री, लाहुरे, अनुपविक्रम शाही, वर्षा राउत, सञ्जोग कोइराला, अशिम शाहलगायत उपस्थित थिए ।