शुक्रवार रिलिज हुने नेपाली चलचित्र महाभोजको अग्रिम टिकट बुकिङ खुला

शुक्रवार रिलिज हुने नेपाली चलचित्र महाभोजको अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । यो चलचित्र दुई साता अघि नै रिलिज तय भएकोमा विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको थियो ।

चलचित्रले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको वितरकहरूले बताएका छन् । यस चलचित्रको काठमाडौं, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरबाट चलचित्रले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रिभ्यु शो हरूमा केही सहकारी पीडितहरूले पनि चलचित्र हेरेका छन् । उनीहरूले आफ्नो दबिन लागेको आवाजलाई यो चलचित्रले ठुलो स्वरमा बोलिदिएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यो चलचित्र धेरै भन्दा धेरै दर्शकले हेरेर राज्यलाई थप दबाब दिनुपर्ने बताइरहेका छन् ।

विकास सुवेदीको लेखेको तथा दिनेश राउतले निर्देशन गरेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतको अभिनय रहेको छ । विशेष भूमिकामा सुरक्षा पन्त पनि रहेकी छन् । ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

विराज भट्ट पछी फिल्म ‘राम नाम सत्य’मा नायिका सुपुष्पा भट्ट फाइनल

माइकल चन्दको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा नायिका सुपुष्पा भट्ट फाइनल भएकी छिन् । सुपुष्पासँग आज फिल्मको टिमले कागजी संझौता गरेको हो । सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुवन्धित गरिएको निर्माणपक्षले बताएको छ ।

सुपुष्पाको पछिल्लो रिलिज फिल्म ‘फेरि रेशम फिलिली’ हो । यो फिल्ममा सुपुष्पाको कामको निकै तारिफ भएको थियो । सुपुष्पाले आफ्नो भूमिका चित्तवुझ्दो रहेपछि फिल्म साइन गरेको बताइन् । यो फिल्ममा यसअघि नायिका दिव्या रायमाझी पनि अनुवन्धित भइसकेकी छिन् ।

सुपुष्पा साइन गरेपछि निर्देशक चन्दले भने–‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी नायिका चाहिएको थियो । उहाँको अभिनय पनि अब्बल छ । कथाले मागे अनुसार नै फिट भएपछि हामीले उहाँलाई अनुवन्धित गरेका हौं ।’

फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ मुख्य भूमिकामा फाइनल भइसकेका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । एक्सन, लभ र सस्पेन्स कथामा यो फिल्म निर्माण हुनेछ ।

फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माणपक्षको भनाई छ । फिल्मलाई सुसन प्रजापतिले खिच्नेछन् । अब, केही कलाकार फाइनल गरेपछि लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ ।

अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ मा अभिनेता मुकुन भुसाल

काठमाडौँ । अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ मा अभिनेता मुकुन भुसाल भित्रिएका छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर निर्माण युनिटले उनलाई भित्र्याएको हो । फिल्ममा उनी अभिनेत्री साम्राज्ञी एलआर शाहको जोडीको रूपमा देखिनेछन् । फिल्मका शाह केही अगाडि भित्रिएका थिए ।
काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहेको फिल्मको निर्देशन कसले गर्नेछन्, त्यो भने सस्पेन्स नै राखिएको छ । भदौबाट सुटिङ थालिने ‘जदौ’ को अन्य कलाकार–प्राविधिक छिट्टै टुङ्गो लगाइनेछ बताइन्छ । फिल्ममा मुकुनसँगै अभिनेत्री सन्ध्या श्रेष्ठ पनि अनुबन्धित भएकी छन् ।

सिल्भर स्क्रिन र सम्मिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ्ग र शान्ति तामाङ छन् । श्याम तामाङले खिच्ने फिल्मको गीतमा बाबुल गिरीको सङ्गीत अनि बुद्धि माझीको निर्माण व्यवस्थापन रहनेछ ।

फिल्म २०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना रहेको जानकारी सिल्भर स्क्रिनकी प्रबन्धक निर्देशक विमला भण्डारीले जानकारी दिइन् ।

फिल्म ‘कल्ली’को फस्टलुक ,नायक सौगात मल्ल बाघसँग देखिए

फिल्म ‘कल्ली’को फस्टलुक सार्वजनिक गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्म अब फागुनको १ गतेबाट रिलिजमा आउने भएको छ । फिल्मको सार्वजनिक दुई पोष्टरमा फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।

महेश दवाडीको लेखन रहेको यो फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन छ । सार्वजनिक दुई पोस्टरमध्ये एक पोष्टरमा नायक सौगात मल्ल बाघसँग देखिएका छन् । रिसाहा अवतारमा देखिएको मल्लको हातमा भाला छ । भालामा रगत देखिन्छ ।

यस्तै, सार्वजनिक अर्को एक पोष्टरमा सौगातको साथमा नायिका बेनिशा हमाल, नायक उत्तम प्रधान, नाजिर हुसेन, कलाकार अर्पण थापा र सुलक्षण भारतीलाई देख्न सकिन्छ । यो पोष्टरले फिल्मका अधिकांश पात्रहरुको चरित्र बोल्न खोजेको छ ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, सुलक्षण भारती, नािजर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगरको मुख्य भूमिका छ । यस्तै, फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा छन् ।

आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको फिल्ममा एनवी महर्जनको एक्सन, मिलन श्रेष्ठको सम्पादन, निसाल पौडेलको छायांकन छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । फिल्मको दुई पोष्टरले दर्शकको उत्सुकता र प्रतीक्षा अझै बढाउने निश्चित छ ।
लेकाली इन्टरटेन्मेन्ट प्रा।लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा कल्ली तयार भएको छ ।

 

चलचित्र ‘बलिदान’को दुइ पोस्टरमा,सौगात मल्लको लुक्स सार्वजनिक

नेपाली चलचित्र उद्योगमा व्यापक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’को लागि अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरिएको छ । आगामी बडादसैँको फूलपातीको दिन प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रका दुइ पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन् ।

एक पोस्टरमा मल्लको एउटा आँखा कालो रङको छ । उनले लामो दाह्री, केश र गाढा रङको वस्त्र धारण गरेका छन् । उनको हातमा एउटा बलिरहेको राँको देखिन्छ । पृष्ठभूमिमा अन्य मानिसहरूको समूह र आगोको ज्वालाहरू पनि देख्न सकिन्छ, जसले चलचित्रको कथावस्तु द्वन्द्वात्मक प्रकृतिको रहेको जानकारी दिन्छ । अर्को पोस्टरमा अभिनेता मल्लले हातमा हतियार बोकेर लडाइको परिवेशमा देखिएका छन् । निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’मा अभिनेता मल्लको बिल्कुलै फरक अवतार रहेको छ, जसको लागि उनले अधिक मेहनत गरेका छन् ।


सौगात मल्ल नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनय कलाका लागि परिचित छन् र उनका हरेक नयाँ भूमिकालाई दर्शकले निकै चासोका साथ हेर्ने गर्छन् । ‘बलिदान’ मा उनको यो फरक र शक्तिशाली गेटअपले दर्शकहरूलाई सिनेमा घरसम्म तान्न सफल हुने अपेक्षा गरिएको छ । ‘बलिदान’लाई चाडपर्वको माहौलमा दर्शकहरूका लागि एउटा उत्कृष्ट मनोरञ्जनको खुराकको रूपमा हेरिएको छ ।

यसअघि ‘बलिदान’का प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर प्रि(टिजर सार्वजनिक गरिएको थियो, जहाँ समीर देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहित देखिएका थिए । सो प्रि(टिजर नेपालसहित नेपालीहरूको बसोबास रहेका दर्जन बढी देशहरूमा युट्युब ट्रेन्डिङमा आएको थियो ।

आसुसेन फिल्म्स् प्रा।लि। को प्रस्तुति रहेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्लसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।

‘मोहर’को नयाँ पोष्टर ,पल शाहको दोहोरो अवतार

ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मोहर’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । आगामी साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको नयाँ पोष्टरले खास केही कुरा बताउन खोजेको जस्तो देखिन्छ ।

सार्वजनिक पोष्टरमा अभिनेता पल शाहको दोहोरो अवतार देखिन्छ । उनी पहिलो लुक्समा अभिनेत्री बेनिशा हमालसँग लामो कपाल पालेर अंगालोमा बाँधिएका छन् । अर्को लुक्समा छोटो कपालको साथमा अभिनेत्री नीति शाहको अंगालोमा देख्न सकिन्छ । यसले, कतै पल सिनेमामा दोहोरो भूमिकामा त छैनन् भन्ने उत्सुकता दर्शकमाझ उत्पन्न हुने देखिन्छ ।

जेठको २७ गते टिजर सार्वजनिक हुने सिनेमा ‘मोहर’लाई अलिखित नियमहरुमा आधारित कथा भनिएको छ । यसैले, पोष्टरबाटै दर्शकमाझ निर्माणपक्षले कौतुहलता जगाउन खोजेको प्रष्ट हुन्छ । टिजर सार्वजनिक भएपछि सिनेमाको कथावस्तुका बारेमा दर्शकले अझै थप वुझ्न सक्ने निर्माणपक्षले बताएको छ ।

चुम्बन जंग शाहीको लगानी रहेको सिनेमामा अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि मुख्य भूमिका छ । दिपेन बस्न्यातको छायांकन रहेको सिनेमामा कुमार महर्जनको एक्शन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द रचना छ ।

फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको यो सिनेमामा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक र लक्ष्मण राज पौडेल निर्माण नियन्त्रकको रुपमा छन् ।

सिनेमा ‘रियाल रिङ्गेट’को प्रदर्शन मिति घोषणा,फर्स्टलुक पोस्टर सार्वजनिक

विभोर पोखरेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘रियाल रिङ्गेट’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली युवाहरूको सपना, संघर्ष र बिछोडको मार्मिक कथामा आधारित सिनेमालाई गगनलाल प्रधानले निर्माण गरेका हुन् । रेबेल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता प्रधान दशकौँदेखि गीत संगीत निर्माणमा सक्रिय छन् । सिनेमाको कथा लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

सिनेमाको नाम नेपालीहरू मजदुरी गर्न जाने देशह कतार तथा साउदी अरेबियाको करेन्सी ‘रियाल’ र मलेसियाको करेन्सी ‘रिङ्गेट’लाई मिसाएर बनाइएको छ । यसको पोस्टरमा भावनात्मक गहिराइ झल्काइएको छ । पोस्टरको ट्यागलाइनमा लेखिएको छ, ‘जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो ।’ यसले सिनेमाको समग्र मर्मलाई एक वाक्यमा समेटेको छ । यो छोटो कविता कवि नाथन रायनले लेखेका हुन् ।

पोस्टरको माथिल्लो भागमा देखिएकी महिला पात्र नीता ढुंगानाको अनुहारमा पीडा, अपुरो आशा र शून्यता देखिन्छ । पोस्टरको बीच भागमा विभिन्न सामाजिक पृष्ठभूमिका पात्रलाई प्रस्तुत गरिएको छ । जसले गरिबीले थिचिएका र अनगिन्ती सपना बोकेर बिदेशिएका नेपाली युवाको प्रतिनिधित्व गर्छन् । पृष्ठभूमिमा प्रवासी मुलुकको सहरका विशाल गगनचुम्बी भवनहरूले मलेसिया, कतार वा युएईजस्ता खाडी मुलुकहरूको संकेत गर्छ ।

सिनेमामा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।

सिनेमामा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत तथा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेका यी गीतका शब्द अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् । भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायांकन गरिएको सिनेमालाई काफिया फिल्मस्ले वितरण गर्दैछ ।द सिनेमा टाइम्स

जेठ २३ गतेदेखि प्रदर्शनमा चलचित्र जन्ते बाख्रो

आज जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र जन्ते बाख्रोको प्रिमियर बुधबार सिभिल मलमा आयोजना गरिएको थियो

प्रिमियरमा कलाकारहरु सौगात मल्ल, सन्दीप क्षेत्री, लाहुरे, अनुपविक्रम शाही, वर्षा राउत, सञ्जोग कोइराला, अशिम शाहलगायत उपस्थित थिए ।