“कमेडी कि कडा यथार्थ ? ‘गोबर गणेश’को गीतले उठायो पढाइको प्रश्न”

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ ।

क्याची गीतले सिनेमाको मुड दर्शाउने प्रयास गरेको छ । रमाइलो शैलीको गीतले चलचित्रको मुड र थोरै भए पनि कथा र त्यसको प्रिजेन्टेसनको शैली बताउने काम गरेको छ ।

गीतको भिडियो, शब्द र संगीतले सिनेमाको बेस कमेडी रहेको प्रष्ट्याएको छ । गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ ।

पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रष्ट पार्छ । सबै कुरामा अब्बल हुँदा पनि पढाई मात्रै कमजोर हुँदा त्यसले समाज र साथीभाइबीच पार्ने नकारात्मक प्रभावलाई गीतले देखाएको छ ।

गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडियोमा मरिचमान केन्द्रमा छन् । उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले पनि राम्रो स्थान पाएका छन् ।

चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका छन् । छायांकन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै बिनाको धन’ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर

काठमाडौँ।  देशभरका सिनेमाघरमा तेस्रो सातादेखि सफल प्रदर्शनमा रहेको परिवारिक चलचित्र ‘मन बिनको धन’ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर घोषणा गरेको छ। चलचित्र टिमले नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै जन्मदिनका दिन हलमा आएर चलचित्र हेर्ने दर्शकलाई टिकट रकम फिर्ता गरिने जानकारी दिएको हो।

बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको यस फिल्मको ‘ह्याप्पी बर्थडे’ गीतमा टंक बुढाथोकी, मेलिना राई, अन्नु चौधरी, अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको छ। गीतका शब्द, संगीत तथा एरेन्ज सबै टंक बुढाथोकीकै हुन्।

निर्माता तथा निर्देशक बुढाथोकीका अनुसार “जन्मदिनलाई विशेष बनाउन दर्शकलाई हाम्रो तर्फबाट सानो उपहार” स्वरूप टिकट रकम फिर्ता गरिने हो। जन्मदिन पर्ने दर्शकले हलबाट टिकट काटेर चलचित्र हेरेपछि टिमलाई सम्पर्क गर्दा रकम फिर्ता पाउनेछन्।

 

लगातार सफल प्रदर्शनमा रहेको ‘मन बिनको धन’ले २० दिनमै तीन करोड ६० लाखभन्दा बढी व्यापार गरिसकेको निर्माण टिमले जनाएको छ। चलचित्रलाई देशभर सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। विशेषगरी विद्यालयहरू आफ्ना विद्यार्थीलाई लिएर हलसम्म पुगिरहेका दृश्यहरू चर्चित बनेका छन्।

गुरु–शिष्य सम्बन्ध, पारिवारिक मूल्य, कर्तव्यबोध र शिक्षाको महत्वलाई समेटेको कथाले दर्शकलाई भावनात्मक रूपमा छोएको देखिन्छ। कलाकार अशोक दर्जीको वास्तविक जीवन घटनामा आधारित फिल्म हेरेपछि दर्शकले उनलाई अँगालो हालेर रुने दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। स्कुले विद्यार्थीदेखि अभिभावक, युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेरका दर्शक हलतिर आकर्षित भएका छन्। सअघि नै निर्माण टिमले देशभरका विद्यालयका विद्यार्थीलाई छुट दिने घोषणा गरिसकेको थियो।

चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारको दमदार अभिनय छ।

टंक बुढाथोकीले लेखेको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार गरेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) छिन्। जी.पी. संग्रोला, विवेक नेपाल र बिजया पाण्डे सह–निर्मातामा रहेका छन्। फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरुङको सम्पादन समावेश छ।

प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को सम्पूर्ण छायाङ्कन सकियो

काठमाडौं – दिनेश राउतको निर्देशनमा बनिरहेको प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को सम्पूर्ण छायाङ्कन सकिएको छ। गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो। छायाङ्कन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ। पोस्ट-प्रोडक्सनको प्रगति मूल्याङ्कन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक राउतले जानकारी दिए।

यसअघि छायाङ्कनको बीचमै नै चलचित्र ‘कुमारी’ चर्चामा रह्यो। घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल बनेको थियो। हाल देशव्यापी कन्सर्टमा रहेका गायक केहर सिंहले पनि दर्शकको अत्यधिक मागसँगै सो गीत गाइरहेका छन्। गायक लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले गाएको लाइभ भर्सन अहिले टिकटक र युट्युबमा अत्यधिक लोकप्रिय छ। ‘जेन-जी’ पुस्ताका प्रयोगकर्ताले टिकटकमा सर्वाधिक प्रयोग गरिरहेको गीतको स्टुडियो भर्सन भने चलचित्र रिलिजसँगै मात्रै सार्वजनिक गरिनेछ।

यस चलचित्रबाट अबिषेक खड्का र आकृति राजभन्डारीले प्रमुख भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार चलचित्रमा देखिनेछन्।

चलचित्रको छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन्। निर्माण बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा गरेको हो भने निर्माता महेन्द्र अधिकारी हुन्। चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ।

‘कुमारी’मा चार गीत रहेका छन्। सबै गीतमा स्वर गायक लिम्बुले नै दिएका छन्। सङ्गीतमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संयुक्त योगदान रहेको छ। शब्द लेखकमा सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्ले छन्।

निर्माण टिमका अनुसार, ‘कुमारी’ यही वर्षभित्र नै प्रदर्शन गर्ने लक्ष्य रहेको छ। छायाङ्कन सकिएको घोषणा सँगसँगै, निर्माण पक्षले अब पोस्ट–प्रोडक्सनमा पूर्ण फोकस गर्ने बताएको छ।

चलचित्र ‘धागो’ आज नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज

काठमाडौं – भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ आज नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज भएको छ। उदिप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ।

चलचित्रमा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण उत्पन्न हुने दैनिक समस्या, सामाजिक दबाब र विषम परिस्थितिका बीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने निरन्तर प्रयासलाई मार्मिक रूपमा चित्रण गर्छ। सङ्घर्ष, बिछोड र परिवारमा देखा पर्ने मनोवैज्ञानिक उतार-चढावका बीच केही हल्का हास्य तत्त्व पनि समावेश गरिएकोले कथा गम्भीर भए पनि दर्शकलाई जोडेर राख्छ।

‘धागो’ भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रहरूमा रिलिज भएको छ। भारतका यी क्षेत्रहरूमा नेपाली चलचित्रको दर्शक वर्ग बलियो रहेकोले ‘धागो’ ले उल्लेख्य ओपेनिङ पाउने अपेक्षा गरिएको छ। यस्तै, नेपालमा क्युएफएक्स सिनेमा, वन सिनेमा, आईएनआई सिनेमा लगायत देशभरका हलमा रिलिज भएको छ।

‘धागो’ मा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेकी छन्। साथै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारले साथ दिएका छन्। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिएकी छन्। चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन्।

फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसद्वारा निर्माण गरिएको यस चलचित्रमा उमा थापा, उत्तम थापा र उदिप थापा निर्माताको भूमिकामा छन्। नेपालमा आरआर फिल्म्सले वितरण गरिरहेको छ।

‘ऊनको स्वीटर’ अब भारतमा रिलिज हुने

काठमाडौं – नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै उल्लेखनीय सफलता बनाएको चलचित्र ‘ऊनको स्वीटर’ अब भारतमा रिलिज हुने भएको छ। आर्टमान्डूले निर्माण गरेको यस चलचित्रलाई भारतमा एसली प्रोडक्सनले वितरण गर्ने निर्णय गर्दै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छ। यस अनुसार नोभेम्बर २१ देखि चलचित्र दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहितका प्रमुख स्थानहरूका सिनेमा हलहरूमा पहिलो चरणमा प्रदर्शन गरिने निर्देशक नवीन चौहानले बताए।

हालै मात्र भारतको चलचित्र प्रमाणीकरण बोर्डबाट सेन्सर पास भएको ‘ऊनको स्वीटर’ भारत रिलिजका लागि दार्जिलिङस्थित एसभिएफ सिनेमा, कर्स्याङको कर्स्याङ फन्टाजी सिनेमा, नाम्चीको नाम्ची इम्पेरियल सिनेमा, सिक्किममा गान्तोकस्थित डेन्जोङ सिनेमा र वज्र सिनेमा, साथै गान्तोककै आईएनओएक्स गान्तोक सिनेमा, वेस्ट बंगालको लागि सिलिगुडीको आईएनओएक्स सिनेमा सिटी सेन्टर, आईएनओएक्स वेगा सर्कल, आईएनओएक्स एग्रोपोलिस सिलिगुडी र साउथ सिटी सिलिगुडी लगायतका प्रतिष्ठित हलहरूले प्रदर्शनका लागि आफ्नो स्क्रिन प्रदान गरिसकेका छन्। हिमाली क्षेत्रका नेपाली भाषी तथा नेपाली समुदाय नजिक रहेका भारतीय दर्शकलाई लक्षित गर्दै यी स्थानहरूलाई प्राथमिकता दिइएको बताइएको छ।

साथै, चलचित्रको भारत प्रिमियर रिलिजको १ दिन अघि नोभेम्बर २० मा सिक्किममा हुने भएको छ। प्रिमियरमा नेपालबाट अभिनेताहरू विपिन कार्की र एलेक्स पारससहित कलाकारहरू, गायक सुजन चापागाईँ र निर्देशक नवीन चौहान लगायत सहभागि रहने जनाइएको छ। यस्तै, त्यस क्षेत्रका नेपाली कलाकर्मीहरु तथा सिक्किमका राज्य तहका व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ।

गत वैशाख २६ गते नेपालमा सार्वजनिक भएको ‘ऊनको स्वीटर’ देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई वर्षकै चर्चित मध्ये एक बनेको थियो। नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको चलचित्रले नेपाली समाजका वास्तविक भाव र बुझाइलाई स्पर्श गर्ने कथा वाचन, सशक्त अभिनय तथा मन छुने सङ्गीतका कारण दर्शक र समीक्षक दुवैबाट प्रशंसा पाएको छ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेललगायत कलाकारहरूको प्रभावकारी अभिनय रहेको छ। गीत सुजन चापागाईँले र सङ्गीत कोविद बज्रले निर्देशन गरेका छन्।

भारत रिलिजबारे एसली प्रोडक्सनले जारी गरेको वक्तव्यमा ‘ऊनको स्वीटर’ले नेपालमा जस्तै भारतका दर्शकमा पनि गहिरो प्रभाव पार्ने अपेक्षा राखिएको उल्लेख छ। नेपाली कथा वाचन र सांस्कृतिक भावनाले भरिएको यस चलचित्रले भारतका नेपाली भाषी क्षेत्रका दर्शक मात्र होइन, मौलिक कथा खोज्ने व्यापक भारतीय दर्शक समुदायलाई पनि आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ।

‘होस्टेल ३’ भारतमा पनि ५१ दिन मनाउन सफल

काठमाडौं – नेपालमा सुरु भएको ‘होस्टेल’ चलचित्र फ्रेन्चाइजको तेस्रो भागले सिमाना नाघ्दै भारतीय नेपाली समुदायबिच पनि नेपाली सिनेमाको लोकप्रियता विस्तार गर्न सफल भएको छ। नेपालमा लगातार ५१ दिन प्रदर्शनको ऐतिहासिक सफलता मनाएको नेपाली चलचित्र ‘होस्टेल ३’ ले अब भारतमा पनि सोही सफलता दोहोर्‍याएको हो।
सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन भइरहेको यो चलचित्रले त्यहाँ पनि ५१ दिन पूरा गरेको भारतका  वितरक सुरज खड्काले बताए। भारतमा ‘होस्टेल ३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन्। सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो।
चलचित्रका निर्देशक सशान कँडेलले भारतमा पनि फिल्मको ५१ दिन पूरा भएको खुसी व्यक्त गरे। उनले भने, “सर्वप्रथम, यति ठुलो फ्रेन्चाइजलाई विश्वास गरी निर्माण इजाजत दिनुहुने दुर्गिश फिल्म्सलाई धेरै धन्यवाद दिन चाहन्छु। निर्माण, वितरण र प्रचार प्रसारमा सहभागी सबैलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।”
‘होस्टेल ३’ले क्याम्पस जीवनका उतार चढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा चित्रण गर्दै युवापुस्तामाझ विशेष चर्चा पाएको छ। चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुष लगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा, निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी, सह निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्युसर कोसिस राज क्षेत्री रहेका छन्।
सफल व्यापारसँगै ‘होस्टेल ३’ हाल नेपालकै अग्रणी ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा पनि स्ट्रिमिङ भइरहेको छ। दर्शकहरूले यो एप गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतका माध्यमबाट डाउनलोड गरी हेर्न सक्छन्। साथै, वेब ब्राउजर वा क्रोमकास्ट प्रयोग गरी कम्प्युटरमा समेत सहजै हेर्न सकिन्छ।

बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज

काठमाडौं – गत वर्षको बडादसैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक गरिएको छ।

लक्ष्मीपूजाको अवसर पार्दै रिलिज गरिएको यो चलचित्रलाई दर्शकले रु. २९९ मा विश्वभरबाट हेर्न सक्नेछन्। चलचित्र ‘सिनेमाघर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ।

अभिनेता बिराज भट्टको निर्देशनमा बनेको यो चलचित्रमा बिराजसँगै समीर, न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भा सहितका कलाकारको अभिनय देख्न सकिन्छ। चलचित्रको कथा स्वयं बिराज भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकार ले तयार पारेका हुन्। द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन्।

नेपालकै प्रमुख पर्व तिहारको माहौलमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न गरिएको यो डिजिटल रिलिजले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लेटफर्मतर्फ उन्मुख गराउने नयाँ कदमको रूपमा हेरिएको छ। ‘सिनेमाघर’ले पछिल्ला वर्षहरूमा नेपाली चलचित्रहरूलाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउँदै आएको छ, र ‘१२ गाउँ’ को रिलिजले यस अभियानलाई थप बल प्रदान गर्ने अपेक्षा गरिएको छ। सिनेमाघरमा चर्चित चलचित्रहरू ‘पिताम्बर’, ‘होस्टेल ३’, ‘गाउँ आएको बाटो’, ‘फेरी रेशम फिलिली’ लगायतका दर्जनौँ चलचित्रहरू स्ट्रिमिङ भइरहेका छन्।

‘१२ गाउँ’ हेर्ने लिङ्क: https://cinemaghar.app/movie/12-gaun

‘डिल डे’मा ‘बलिदान’को रफ्तार बढ्यो, बुधवार धेरै हल हाउसफुल

काठमाडौं – दसैँपछि पनि नेपाली चलचित्र ‘बलिदान’को लोकप्रियता घट्ने सङ्केत देखिएको छैन। बुधवारको ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुट योजनासँगै चलचित्रले देशभरका अधिकांश सिनेमा हलहरूमा हाउसफुल प्रदर्शन गरिरहेको छ।

देशका प्रमुख मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमा, आइएनआइ सिनेमा, बिग मुभिज, एफक्युब सिनेमा र वन सिनेमा लगायतमा बुधवार दर्शकको भीड उल्लेखनीय रहेको हल व्यवस्थापकहरूले बताएका छन्। वितरकका अनुसार, बुधवारको धेरै शो प्रायः अघिबाटै बुक भइसकेका थिए। वितरक र हल सञ्चालकहरूले काठमाडौंसहित धनगढी, विराटनगर, बुटवल, पोखरा, चितवन, नेपालगन्ज र झापा सम्मका हलहरूमा राम्रो व्यापार भइरहेको जनाएका छन्।

समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, हेमन्त बुढा, कविता राय लगायतको अभिनय रहेको यो चलचित्रमा आमा–छोराको प्रेम, त्याग र देश प्रेमको कथा प्रस्तुत गरिएको छ। दर्शकहरूले चलचित्रलाई भावनात्मक, यथार्थपरक र मनोरञ्जनात्मक मिश्रण भएको भन्दै प्रशंसा गरिरहेका छन्।

हप्ताभर हलमा दर्शक भेट्न पुगेका कलाकार र निर्माण टोलीले बुधवारको भीडलाई ‘बलिदान’प्रतिको विश्वास रहेको बताए। दर्शकहरू छुटको दिन पर्खेर हलतर्फ ओइरिँदा दोस्रो हप्ता सुरु भइसके पनि देशभर ‘बलिदान’को माग नघटेको प्रमाणित भएको निर्देशक सन्तोष सेनले बताए। उनले थपे, “दर्शकले मिहिनेतको कदर गरेर हल भरिदिँदा ऊर्जा दोब्बर हुन्छ। यो रफ्तार कायम रहनेमा विश्वस्त छु।”

‘आशुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

सन्तोष सेन मेरो समयमा आइदिएका भए म पनि एक्सन हिरो हुन्थेँ : क्याप्टेन विजय लामा

काठमाडौं – वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बलिदान’हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन्। लामाले चलचित्रले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्दै यसलाई “फरक स्तरको चलचित्र” भनेर प्रशंसा गरेका छन्।

सोमबार साँझ चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने, “बलिदानमा मैले ठुलो बलिदानै पाएँ। यो चलचित्रसँग आबद्ध सबैको ठुलो योगदान देखेँ। यो फरक स्तरको चलचित्र हो। नेपाली चलचित्रको स्तर बढ्दै गएको छ भन्ने प्रमाण बलिदान हो।” लामाले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन आफू सधैँ प्रयासरत रहेको बताउँदै ‘बलिदान’ हेर्दा त्यसको सम्भावना अझ स्पष्ट रूपमा महसुस गरेको बताए। उनका अनुसार, “हामीले अभिनय गर्दा देखेको सपना अहिलेका सन्तोष सेनहरूले साकार पार्दैछन्।”

निर्देशक सन्तोष सेनको कामको प्रशंसा गर्दै लामाले भने, “मेरो समयमा सन्तोष सेन आइदिएका भए म पनि समीर भट्टजस्तै एक्सन अभिनय गरिरहेको हुन्थेँ होला।”

समीर भट्टको अभिनयबारे बोल्दै उनले समीर र उनका पिता बिराज भट्ट दुवैको योगदानलाई फरक समयमा महत्त्वपूर्ण रहेको बताए। “बिराज बिराज नै हो, समीर समीर नै हो। बिराजको समयमा बिराजको अधिपत्य थियो, अब समीरको पालो हो,” लामाले भने।

यसैबीच, चलचित्रकी अभिनेत्री ऋचा शर्माले पनि दर्शकको माया पाउँदा आफू निकै भाव विह्वल भएको बताइन्। उनले समीर भट्टकी आमाको भूमिकामा गरेको अभिनयले दर्शकसँग गहिरो सम्बन्ध स्थापित गरेको बताइन्। “मेरा भूमिकासँग धेरै आमाहरू भावनात्मक रूपमा जोडिनुभयो, त्यो मेरो लागि खुसीको कुरा हो,” ऋचाले भनिन्।

सन्तोष सेन निर्देशित ‘बलिदान’ बडादसैँको अवसरमा फूलपातीबाट प्रदर्शनमा आएको हो। हाल दोस्रो हप्तामा पनि देशभर करिब १ सय ३० शोका साथ प्रदर्शन भइरहेकाले चलचित्रले पहिलो सातामै राम्रो व्यापारिक सफलता हात पारेको वितरकहरूले जनाएका छन्।

अभिनेता समीर भट्टको दमदार एक्सन र अभिनयको प्रशंसा गर्दै दर्शकहरूले उनलाई पछिल्लो पुस्ताको एक्सन स्टारको रूपमा चित्रण गरिरहेका छन्। आमा–छोराबीचको प्रेम र त्यागमा आधारित कथाले दर्शकको हृदय छोएको बताइएको छ।

‘आशुसेन फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

“दर्शकको माया संगै ‘बलिदान’ अब लामो रेसको घोडा – हलहरूमा भावनाको बाढी”

काठमाडौं नेपाली चलचित्र बलिदान ले देशभरका हलहरूमा सातौं हप्ता पूरा गर्दै पनि दर्शकको माया र साथ यथावत् राख्न सफल भएको छ। वडादशैंको फूलपातीको दिनदेखि प्रदर्शनमा आएको यो चलचित्रले कथा, अभिनय र देशप्रेमले भरिएको प्रस्तुतीका कारण सबैको मन जित्दैछ।

हलमा पुग्ने अधिकांश दर्शकले चलचित्रको कथा र एक्सनलाई अत्यन्त मन परेको प्रतिक्रिया दिएका छन्। समीर भट्टलाई भेट्न हलसम्म पुग्ने दर्शकहरू सेल्फी लिँदै भावुक हुने, र कतिपय त काखमा समाएर रुनसम्म पुगेका छन्। चलचित्रको कथा, संवाद र अभिनयले धेरैको मन छोएको दर्शकहरूले बताएका छन्।

निर्माता प्रेम पुरी ले पछिल्लो समयमा पैसा लिएर नकारात्मक टिप्पणी गर्नेहरूको गतिविधिप्रति असन्तुष्टि जनाउँदै भने,

फिल्म नहेरी नराम्रो भन्नेलाई कृपया हलमा गएरबलिदानहेरेर मात्र प्रतिक्रिया दिनुहोस्।

त्यस्तै, निर्देशक सन्तोष सेन ले पनि आत्मविश्वासका साथ भने,

यदि फिल्म नराम्रो लाग्यो भने पैसा फिर्ता गर्न तयार छु।

दर्शकहरूका अनुसार बलिदान ले नेपालको पछिल्लो जेनेरेसन आन्दोलन, देश र जनताको भावना तथा माटोको कथा सशक्त रूपमा प्रस्तुत गरेको छ। यसैले यो चलचित्र लामो रेसको घोडा बन्ने संकेत देखिएको छ।

चलचित्रका पोस्टर, टिजर, ट्रेलर र गीतले रिलिजअघि नै ठूलो चर्चा पाएका थिए। बलिदान सँगै अन्य दुई नेपाली चलचित्र पनि प्रदर्शनमा आएका छन्, तर दर्शकहरूको आकर्षण भने बलिदान तिरै केन्द्रित देखिएको छ।

आसुसेन फिल्म्स प्रालि को ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिष्ट, कार्यकारी निर्माता प्रेम पुरीहुन्। चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक स्वयं सन्तोष सेन को दमदार अभिनय देख्न सकिन्छ।

चलचित्रको वितरण काफिया फिल्मकुबेर फिल्म ले संयुक्त रूपमा गरिरहेका छन्।