चलचित्र ‘जारी–२, सङ अफ च्याब्रुङ’को नयाँ गीत रिलिज

काठमाडौं । असोज ३ गते रिलिज हुने चलचित्र ‘जारी–२, सङ अफ च्याब्रुङ’को नयाँ गीत रिलिज भएको छ । वर्षकै प्रतिक्षित सिनेमाको ‘अम्लारी’ बोलको गीत सार्वजनिक भएको हो ।

अविज्ञा घिमिरे र विकास लिम्बुको स्वर रहेको गीतमा सुष्मा सिग्देलको शब्दरचना छ । संगीत सुशान्त गौतमको छ । पालम, ख्याली र हाकपारेमा भने दयाहाङ राई र यसेली योङहाङको स्वर छ ।

गीतको केन्द्रमा प्रेम र एकअर्काको साथ छ । सम्झना र त्यसले दिने पीडा गीतमा समेटिएको छ । भिडियोमा सिनेमा मुख्य कलाकार फिचर्ड छन् ।

उपेन्द्र सुब्बा सिनेमाका लेखक तथा निर्देशक हुन् । चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका छ । अन्य कलाकारमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमालाई वर्ष व्यापार गर्ने चलचित्रको श्रेणीमा राखिएको छ ।

‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष यो सिनेमाले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ ।

सिनेमाले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ ।

सिनेमा ‘अभिमन्युः च्याप्टर वान’को शीर्षक गीत सार्वजनिक

काठमाडौं । सुशान्त गौतमको डेव्यु निर्देशनमा नेपाली र हिन्दी भाषामा निर्माण भएको सिनेमा ‘अभिमन्युः च्याप्टर वान’को शीर्षक गीत सार्वजनिक गरिएको छ । र्‍यापर भियोमाको शब्द रचना, संगीत तथा स्वरमा तयार भएको यो र्‍याप गीतले पैसाले मान्छेको असली चरित्र उजागर गर्ने सन्देश दिँदै पैसामा माया साटिने र सम्बन्ध टुट्ने यथार्थता प्रस्तुत गरेको छ ।

र्‍यापर भियोमा आफैंले अभिनय समेत गरेको गीतको भिडियोमा सिनेमाका केही महत्त्वपूर्ण दृश्यहरू पनि समावेश छन् । निर्माण पक्षका अनुसार ‘अभिमन्यु’ पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट मुक्त हुन संघर्ष गर्ने पात्रको कथामा आधारित सिनेमा हो । जसलाई यो शीर्षक गीतले पनि अभिव्यक्त गरेको छ ।

आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो सिनेमामा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौला, अनिल कुर्मी लगायतको अभिनय रहेको छ । यो सिनेमाको हिन्दी संस्करण आगामी असोज ६ गते प्रदर्शन हुँदैछ ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको ‘अभिमन्यु’मा मुकेश खनालको लेखन, मदन थापाको क्रिएटिभ निर्देशन तथा शरद महतोको छायांकन रहेको छ । सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल र गुञ्जन गिरीको लगानी रहेको सिनेमामा रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्मातामा छन् ।

सिनेमा ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

काठमाडौं । आगामी दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शन आउन लागेको सिनेमा ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको यो गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ ।

सिनेमाका तीन मुख्य कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड गीतमा दानबहादुर कार्कीको शब्द रचना र दीपक शर्माको संगीत छ । लोक लयमा आधारित गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोमा प्रकाश र स्वस्तिमाले आकर्षक नृत्य गरेका छन् । माया–प्रेम र नोकझोंकको वरिपरि घुमेको गीतको भिडियोमा आकर्षण र असहमतिको द्वन्द्व देखिन्छ ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा हरिवंश, प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ । सिनेमामा हरिवंशले आफ्नो चर्चित पात्र हरिबहादुरको भूमिका निभाएका छन् । चोरको छवि बनाएको यो पात्रको भावनात्मक पाटो सिनेमामा देखाइएको अभिनेता आचार्यले गीत रिलिज कार्यक्रममा बताए ।

सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो सिनेमामा कृष्ण बहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ ।

भिडियो

‘कुमारी’ घोषणामा टुँडिखेलमा प्रत्यक्ष गाइएको गीत ‘कहाँ छौ’ युट्युबमा रिलिज

काठमाडौं – दुई दिन अघि काठमाडौंको टुँडिखेलमा नेपाली चलचित्र ‘कुमारी’ घोषणा कार्यक्रममा प्रत्यक्ष गाउँदै सार्वजनिक गरिएको गीत ‘कहाँ छौ’लाई इन्टरनेटमा सार्वजनिक गरिएको छ। चलचित्र घोषणाको लागि नै उक्त गीतलाई ‘केहर एन्ड द लुङ्गा’ ब्यान्डले प्रत्यक्ष प्रस्तुत गरेको थियो। यो गीत ‘कुमारी’ चलचित्रको एक प्रमुख गीत हो। गीतलाई चलचित्रको डिजिटल वितरक केन्द्र मोशन पिक्चर्स मार्फत सार्वजनिक गरिएको हो।

यस गीतमा यही चलचित्रबाट पार्श्व गायनमा डेब्यु गरेका गायक केहर सिंह लिम्बुको स्वर रहेको छ। यसमा उनको ब्यान्ड सदस्यहरूको शब्द तथा सङ्गीत रहेको छ। गीतको भिडियोमा चलचित्रको घोषणा, पोस्टर अनावरण र कलाकार परिचयसमेत समावेश गरिएको छ।

यसअघि ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’जस्ता हिट प्रेमकथाका फिल्म निर्देशन गरेका थिए भने पछिल्ला वर्षमा ‘पर्व’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’जस्ता सामाजिक मुद्दा उठाउने चलचित्र निर्देशन गरेका दिनेश राउतले ‘कुमारी’को निर्देशन गर्दैछन्। मङ्गलवारबाट छायाङ्कन सुरु हुने यो चलचित्र प्रेमकथामा आधारित छ, जसमा अबिशेक खड्का र आकृति राजभन्डारीले अभिनय गर्नेछन्। दुवै कलाकारले यही चलचित्रबाट प्रमुख भूमिकामा डेब्यु गरेका हुन्। चलचित्रमा अबिशेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायतका कलाकारको पनि अभिनय रहनेछ।

‘कुमारी’को निर्माण बिनिश इन्टरटेन्मेन्टले गर्दैछ भने पिक्चर फ्रेम सह निर्माता रहेको छ। निर्माता महेन्द्र अधिकारी, लेखक विकास सुवेदी, र छायाङ्कन निर्देशक सुसन प्रजापति रहेका छन्।

यस चलचित्रमा चार वटा गीत समावेश हुनेछन्। अन्य गीतमा गीतमा केहर सिंह लिम्बुको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’सँगै प्रशान्त सिवाकोटीले सङ्गीत गर्नेछन् भने शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।

यो चलचित्र यसै वर्ष भित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। डिजिटल वितरक केन्द्र मोशन पिक्चर्स हुनेछ भने काठमाडौं उपत्यकाभित्र डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले वितरण गर्नेछन्।

भिडियो: https://youtu.be/pRWRb_GHx9k