काठमाडौं । दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहेको सिनेमा ‘वरिष्ठ बलराम’को गीत यतिबेला सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको छ ।
‘न्यौली बनैमा…’ बोलको गीत दर्शकको मन जित्दै टिकटकलगायत सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको छ । प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको गीतको लय पूर्वी नेपालको लोकलय र मध्य नेपालको लोक लयको सेरोफेरोमा छ । पूर्वी र मध्य नेपालको लोकलय पक्रिएर त्यसमा संगीतकारले आफ्नो सिर्जनशिलता मिसाउँदा गीत मिठो बनेको छ ।
प्रशान्त शिवाकोटी र शान्तीश्री परियारको स्वर रहेको गीतमा स्थानीय माटो र जनजीवनका शब्द मिसिदा त्यसैलाई दर्शकले मन पराएको देखिएको छ ।
गीतलाई उकास्न गीतको लय र शब्दमा रहेको मिठासमा भिडियोले थप बल पु¥याएको छ । भिडियोमा देखिएका कलाकार विजय बराल यस्तो नृत्यका लागि पुरानो अनुहार होइनन् । ‘जनै हराएको बाहुन’लगायत केही चलचित्रमा उनको नृत्य रहे पनि टाइम र स्पेसका हिसाबले यसमा उनले धेरै स्थान पाएका छन् । आफूले पाएको समयमा उनले गरेको नृत्य राम्रो हुँदा दर्शकले मन पराएका छन् ।
अभिनयमा खारिएका र दर्शकले पत्याएका उनले नृत्यमा पनि आफू उत्तिकै राम्रो रहेको यो गीतबाट प्रमाणित गर्दा गीत अहिले टिकटकमा केही क्लिप्समा मात्रै होइन युट्युबमा पनि हिट भइरहेको छ ।
समृद्धि अर्याल पनि नृत्य हेर्दाहेर्दा दिक्क लाग्दो अनुहार होइन । त्यसैले फ्रेस कलाकारको राम्रो नृत्यले पनि दर्शकको मन जित्दा ‘न्यौली बनेमा’ अहिले लोकप्रिय भइरहेको छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतको अभिनय छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्य रहेको सिनेमामा आशिष एच तामाङ र श्रीराज कार्कीको लगानी छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।
मनकृष्ण महर्जनको छायांकन रहेको सिनेमाका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन रहेको सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र मोफसलमा कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।