रिलिजको केही घण्टामै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘बलिदान’ ट्रेलर

काठमाडौं – बडादसैँको फूलपातीमा रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’को ट्रेलरले युट्युबमा तहल्का मच्चाएको छ । सार्वजनिक भएको केही घण्टामै यो नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । साथै, नेपालीको बसोबास भएका अन्य मुलुकहरूमा पनि यसले ट्रेन्डिङमा आफ्नो स्थान बनाएको छ ।

धेरै समयदेखि चर्चामा रहेको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक भएसँगै दर्शकमाझ यसले थप उत्सुकता जागेको छ । ट्रेलरमा समावेश शक्तिशाली संवाद, तीव्र एक्सन दृश्य र भावनात्मक प्रस्तुतिले धेरै दर्शकको मन जितेको देखिन्छ । विशेष गरी, समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल र अर्पण थापाको फरक अवतार र अभिनयले ट्रेलरलाई आकर्षक बनाएको छ ।

ट्रेलरको भावनात्मक सुरुवातदेखि समीर भट्टको शक्तिशाली संवाद र एक्सनले दर्शकलाई बाँधेर राख्छ । यसमा सौगात मल्ल र समीरबीचको द्वन्द्व अनि अन्य पात्रहरूको प्रस्तुतिले चलचित्रको कथावस्तु झन् रोमाञ्चक हुने देखाएको छ । छायाङ्कन, संवाद र ब्याकराउन्ड स्कोरको उत्कृष्ट संयोजनले ट्रेलरलाई उच्चस्तरको बनाएको छ ।

चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’लाई केवल चलचित्र नभई हरेक नेपालीको विद्रोहको प्रतीक भनेर बताउनुभएको छ, जसले गर्दा यो चलचित्र नेपाली दर्शकका लागि अझ विशेष बनेको छ । यसको शीर्षक गीत ‘यो ज्यान बलिदान’ पनि पहिले नै चर्चामा आइसकेको छ ।

ट्रेलर ट्रेन्डिङ चार्ट: https://charts.youtube.com/charts/TrendingTrailers/NP

‘बलिदान’को ट्रेलर सार्वजनिक, समीर भट्टको दमदार एक्सन

काठमाडौं – नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत दर्शकमाझ चर्को उत्सुकता जगाइसकेको चलचित्रले ट्रेलरमार्फत अझ व्यापक रूपमा चर्चा बटुलेको छ।

ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत छिन्। उनले छोरासँग, “देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्” भन्दै वचन लिन खोज्ने दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ।

यसपछि दर्शकले आतुरतापूर्वक प्रतीक्षा गरेका अभिनेता समीर भट्टको प्रवेश हुन्छ। उनले उच्च स्वरमा घोषणा गर्छन् – “मेरो शरीरको एक एक थोपा रगत माग दिन्छु। जे भन्नु छ मलाई भन सुन्छु। तर मेरो आमाको बारेमा केही भनिस् भने काट्दिन्छु”। यो संवादसँगै उनी शक्तिशाली एक्सनमा उत्रन्छन्। उनका लडाइँका दृश्यहरू यति तीव्र छन् कि लाग्छ उनले आफ्नो सम्पूर्ण शक्ति स्क्रिनमा पोखिदिएका छन्।

ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्। मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका छन् भने समीर र सौगातबीचको द्वन्द्व दृश्य विशेष रूपमा उभिएको छ।

कहिलेकाहीँ समीरले दर्जनौँ खलनायकहरूसँग एक्लै लड्ने दृश्य देखिन्छ, जसले दर्शकलाई जिरिङ्ग बनाउँछ। छायाङ्कन, संवाद र ब्याकराउन्ड स्कोरले ट्रेलरलाई उच्चतम विन्दुमा पुर्‍याएको छ।

यसअघि सार्वजनिक गरिएको टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको शक्तिशाली संवाद र ऋचा शर्माको भावनात्मक प्रश्नले दर्शकलाई देशभक्ति र क्रोधको भावनामा डुबाएको थियो। निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रको रूपमा देखिएका दृश्यले टिजरलाई थप रोचक बनाएको थियो।

ट्रेलरसम्म आइपुग्दा चलचित्र ‘बलिदान’लाई नेपालको मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै प्रतीक्षित नेपाली चलचित्रका रूपमा हेरिएको छ। निर्देशक सेनले यसअघि नै ‘बलिदान’लाई केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका थिए।

यसबीचमा, चलचित्रको शीर्ष गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक भई चर्चामा छ। सुजन चापागाईँको स्वर र सङ्गीत, हर्क साउदको शब्दमा तयार गीतले जनमानसमा लोकप्रियता पाइरहेको छ।

‘आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको छ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

यो वर्षको बडादसैँको फूलपातीको दिन (असोज १३ गते) प्रदर्शनमा आउने ‘बलिदान’ नेपाली चलचित्रको इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ।

ट्रेलरः https://youtu.be/ZtZSSgDDXrk

‘बलिदान’ अमेरिकाको एएमसी सिनेमा चेनका २०० भन्दा बढी हलमा प्रदर्शन हुने, एक हजार शो पाउने अपेक्षा

काठमाडौं – यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रचेको छ। सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो बहुप्रतीक्षित चलचित्र पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शनमा आउन लागेको छ। योसँगै ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले बताए।

यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा प्रदर्शन नभएको इतिहास तोड्दै ‘बलिदान’ ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याएको दाबी सेनले गरे। एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरूमा समेत ‘बलिदान’ प्रदर्शन हुनेछ।

‘बलिदान’का यसअघि सार्वजनिक गरिएका पोस्टर तथा टिजरले नै चलचित्रप्रति व्यापक उत्साह जगाएको छ। यस चलचित्रमा समीरका साथै, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको छ। आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको ‘बलिदान’लाई नेपाली चलचित्रको साहसी कदमको रूपमा लिइएको छ।

नेपाली चलचित्र ‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने

काठमाडौं – दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो।

फेस्टिभलले जारी गरेको सूचनाअनुसार, फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ। यस पटक महोत्सवका लागि ३,०५९ वटा चलचित्र पेस भएका थिए, जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो।

फिल्मका निर्माता केदार भुसालले यस उपलब्धिले नेपाली कथाहरूलाई विश्वसामु पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको बताएका छन्। उनले भने, “नेपालका फरक–फरक कथाहरूलाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौँ। ‘रिहाना’को बुसान छनोटले मलाई अझ ठुलो हौसला र प्रेरणा दिएको छ।”

चलचित्रलाई ‘अ दुम्सी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको हो, जसमा मिराज मोशन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेमको सहकार्य रहेको छ। चलचित्रको लेखन तथा निर्देशन सुरज पौडेलले गरेका हुन्। यसमा पृथु भट्ट र सृजना अधिकारीको मुख्य भूमिका छ। चलचित्रलाई उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालले मिलेर निर्माण गरेका हुन् भने रोशनी अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छन्।

शिशिर विशंखेको छायाङ्कन रहेको चलचित्रको सम्पादन गौरव कुमार मुल्लिकले गरेका हुन्। कास्टिङ निर्देशकको जिम्मेवारी मदन श्रेष्ठले निभाएका छन्। यसै गरी, साउन्ड डिजाइन र मिक्सिङको काम डिकेश खड्गी शाहीले गरेका छन्, र राम लाल खड्का प्रोडक्सन डिजाइनरका रूपमा छन्। फिल्मको सह–लेखन शैलेश आरसी (एलएसएम)ले गरेका छन्।

बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक मानिन्छ। विशेष गरी एसियाली सिनेमालाई विश्वसामु चिनाउने प्रमुख मञ्चको रूपमा यसले ख्याति कमाएको छ। नयाँ निर्देशक र फरक कथा शैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले यसलाई ‘एसियाको क्यान्स’ पनि भनिन्छ।

यस महोत्सवमा छनोट हुनु कुनै पनि देश वा चलचित्र निर्माताका लागि ठुलो उपलब्धि मानिन्छ। ‘रिहाना’ को यो सहभागिताले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा नेपालको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।