‘वरिष्ठ बलराम’को गीतमा विजय र समृद्धिको ठुम्का

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको छ । ‘न्यौली बनैमा’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।

गीतमा प्रशान्त शिवाकोटीको शब्दरचना छ । संगीत पनि प्रशान्तकै छ । स्वर प्रशान्त र शान्तीश्री परियारको छ ।

प्रेमिल गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा छ । गीतमा माया र शंका छ । शंकाका बीचमा प्रेमका कारण बनेको विश्वास छ । विश्वासका कारण घर बसाउने सहमति छ ।

गीतमा प्रेमिकासँग सँगै जीवन विताउने सपना बोकेको प्रेमीले बताएका छन् । प्रेमिकाले भने प्रेमीको बानीव्यवाहारप्रति शंका व्यक्ति गरेकी छन् ।

मायामा शंका नगर्न गरेको प्रेमीको आग्रहमा प्रेमिका सहमत हुने गीतको भिडियो पनि आकर्षक छ । भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय छ । गीत र भिडियोले विजय र संबृद्धिको जोडी रहेको संकेत गरेको छ ।

कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

गित –

‘बलिदान’बारे निर्देशक सन्तोष सेनको विश्वास, ‘मनोरञ्जनसँगै देश र आमाप्रतिको माया झल्किन्छ

काठमाडौं – नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’का निर्देशक तथा निर्माता सन्तोष सेनले चलचित्रप्रतिको आफ्नो अटुट भरोसा व्यक्त गरेका छन्। उनले यस चलचित्रलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका छन्।
“हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको निरन्तर धैर्य र परिश्रमपछि आज यो चलचित्र पर्दामा आउन लागेको हो। यसको प्रमुख भरोसा भनेकै देशप्रतिको र आफ्नी आमाप्रतिको माया, ममता र कर्तव्य हो,” निर्देशक सेनले बताए, “चलचित्रलाई सफल बनाउन यसका कलाकारहरूको प्रस्तुति अत्यन्तै महत्त्वपूर्ण छ। हामीले प्रस्तुत गरेको कथा र दृश्यहरूले दर्शकलाई देश र आमा प्रतिको भावना झल्काउनेछन्। साथै, चलचित्रले राजनीतिक कुटिलताले आम जनतालाई कसरी बहकाउँछ र प्रयोग गर्छ भन्ने सन्देश पनि दिन्छ।”
सेनले ‘बलिदान’को मेकिङ र प्रस्तुति उच्च गुणस्तरमा भएको दाबी गर्दै भने, “हामी आमाको कोखबाट जन्मिन्छौँ र मातृभूमिको काखमा हुर्कन्छौँ। यी दुवै नै हाम्रो जीवनका आधार हुन्। यही आधारलाई चलचित्रमा समेटिएको छ। चलचित्र हेर्दा दर्शकले मनोरञ्जन मात्र होइन, जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा पाउनेछन्।”
गत शुक्रवार सार्वजनिक गरिएको ‘बलिदान’को ट्रेलरले नेपाली चलचित्र क्षेत्रमा व्यापक चर्चा ल्याएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत उत्सुकता बढाइसकेको चलचित्रले ट्रेलरमार्फत झन् ठुलो अपेक्षा निर्माण गरेको छ। ट्रेलरमा एक आमाले छोरासँग देश र अस्मिता जोगाउने वचन माग्ने भावनात्मक दृश्य देखिन्छ। त्यसपछि दर्शकले प्रतीक्षा गरेका अभिनेता समीर भट्टको प्रवेश हुन्छ, जसमा उनले देशप्रतिको सङ्कल्प र आमाप्रतिको ममतामा आधारित दमदार संवाद प्रस्तुत गरेका छन्। सौगात मल्ल, अर्पण थापा र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्। समीर र सौगातबीचको द्वन्द्व, तीव्र एक्सन दृश्य, दर्जनौँ खलनायकहरूसँगको लडाइँ, सशक्त संवाद र दमदार ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई उच्च स्तरमा पुर्‍याएको छ। यसअघि सार्वजनिक भएको शीर्ष गीत ‘यो ज्यान बलिदान’ अहिले जनमानसमा निकै लोकप्रिय बन्दै गएको छ। सुजन चापागाईँको स्वर र सङ्गीत तथा हर्क साउदको शब्दमा तयार यो गीतले देशभक्तिको भावनालाई झन् प्रज्वलित बनाएको छ।
‘आशुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
असोज १३ गते (फूलपातीको दिन) प्रदर्शनमा आउने ‘बलिदान’लाई नेपाली चलचित्र इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ। निर्देशक सेनले यसलाई केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका छन्। उनका अनुसार, ‘बलिदान’ हेर्ने दर्शकले मनोरञ्जनसँगै देशभक्ति, आमाप्रतिको माया र समाजप्रतिको जिम्मेवारीको गहिरो सन्देश पाउनेछन्।

‘परान’ को नयाँ पोस्टरमा नीर शाहको भूमिकालाई लिएर अड्कलबाजी

  1. काठमाडौं। दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक पोस्टरमा दिग्गज अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन्।

यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा यसपटक नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा उनी शंख फुक्दै गरेको अवस्थामा छन्। उनको अनुहारमा गम्भीरता र अनुभवको भाव स्पष्ट झल्किएको छ।

यो दृश्यले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्त्वपूर्ण स्थान हुन सक्ने सङ्केत दिन्छ। पोस्टरले नीर शाहको भूमिका र फिल्मको कथावस्तुबारे विभिन्न अड्कलबाजीहरू उब्जाएको छ। निर्माणपक्षले भने कथाबारे केही कुरा खुलाएको छैन। ‘परान’ को ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ छ। जसले फिल्मको मूल सन्देश एकअर्काको साथको महत्त्वलाई जोड दिएको आँकलन गर्न सकिन्छ।

यो फिल्ममा भावनात्मक पक्ष बलियो रहेको र सम्बन्धहरूको गहिराइलाई केलाएको हुन सक्ने अनुमान गर्न सकिन्छ। नीर शाहजस्तो अनुभवी कलाकार केन्द्रीय भूमिकामा देखिनुले ‘परान’ एक सशक्त कथा र उत्कृष्ट अभिनय रहेको फिल्म हुने समेत अपेक्षा गर्न सकिन्छ।

देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले परानको निर्माण गरेको हो। बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा फिल्म निर्माण गरिएको बाइस्कोपका प्रबन्ध निर्देशक रन्जीत आचार्यले बताए। दीपक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्।

फिल्ममा वरिष्ठ अभिनेता नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराईली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ। निर्देशक दिपक आचार्यको शब्द, रिदम कँडेलको सङ्गीत रहेको यस फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्।

फिल्मका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाई हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन् । फिल्ममा शिवराम श्रेष्ठको डीओपी र मित्र डी. गुरूङको सम्पादन छ। फिल्ममा कोरियोग्राफी सुनिल क्षेत्रीको छ । ‘परान’ दसैं र तिहारलगत्तै कार्तिक १४ (अक्टोबर ३१) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ। निर्माण टिमले आगामी फुलपातीको अघिल्लो दिन आइतबार फिल्ममा समावेश एक गीत सार्वजनिक गर्ने तयारी गरेको छ ।

राज बहादुर सानेको निर्देशनमा सिनेमा ‘लज्जावती’को शुभमुहूर्त

राज बहादुर सानेको निर्देशनमा निर्माण हुने सिनेमा ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ । सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो सिनेमाको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो ।

यो सिनेमाको शुभमुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्धाजले गरेका हुन् । सिनेमाका मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि सिटामोल निर्माता विकास राज जोशीले नरिवल फुटाएका थिए । पशुपति आर्यघाटमा छायांकन गरिएको सिनेमाको छायांकन सेड्युल ३० दिनको राखिएको निर्देशक साने बताउँछन् ।

आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमल प्रसाद शर्मा र सन्दीप रोकाया हुन् । दिपक भण्डारी कार्यकारी निर्माता तथा भिमराज रोकाया सह-निर्माता रहेको सिनेमालाई दिव्यराज सुवेदीले खिच्नेछन् । दिव्यलाई छायांकनमा सह छायांकारको रुपमा प्रवीन सुवेदीले सघाउनेछन् । सिनेमाका मुख्य सहायक निर्देशक विशाल बराल र मेकअप आर्टिष्ट रवी केसी हुन् ।

काठमाडौं आसपासमा छायांकन गरिने सिनेमामा मुकुन, श्रीकृष्ठ, मेनुका र जानुकासहित माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमाको सम्पुर्ण प्रोस्ट प्रोडक्सनको काम सकिएपछि मात्रै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ ।

अनमोल स्टारर ‘जेरी अन टप’ गीत वर्ल्ड प्रिमियर, अनमोलसँग रोमान्टिक आँचल (भिडियो)

काठमाडौं । यहि असोज ३१ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘जेरी अन टप’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । बडा दशैंको घटस्थापनाको अबसरमा निर्माण ब्यानर अनन्या फिल्मस्’ले सोमबार ‘कस्तूरी’ बोलको गीत युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् । मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्यहरू भिडियोमा कैद गरिएको छ । उच्च मेकिङ र कलरफूल देखिने भिडियोमा कोरियोग्राफी किरण थापाको छ ।

थापाले अनमोल र आँचललाई रोमान्टिक ‘लभ वर्ड’को रूपमा चित्रित गराएका छन् । गीतका शब्द र भिडियोमा समावेश दृश्यहरू प्रेमिल छन् । अनमोल र आँचलको केमिस्ट्रि आकर्षक देखिन्छ ।

आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको गीत संगीतकार जयन जे वाइबाले तयार गरेका हुन् । वाइबाकै शब्द र साउण्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ छ ।

सुयोग गुरुङको निर्देशनमा तयार भएको ‘जेरी अन टप’मा अनमोल र आँचलसँगै अभिनेत्री जसीता गुरुङ, हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गी प्रमुख अभिनयमा छन् । अभिनेत्री सुरक्षा पन्तले यो फिल्ममा एक विशेष भुमिका निभाएकी छन् ।

सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् । फिल्मको कथा हेमराज बिसीको हो ।

अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । ‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन छ ।

यो फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् । फिल्म सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित छ ।
गित

इन्डो–नेपाल सहकार्यमा ‘मोना लिसा (ब्लडी लभ) निर्माण हुदैँ ,२०२६ मा विश्वव्यापी प्रदर्शन हुने

काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मी मिलेर नयाँ फिल्म निर्माण हुने भएको छ। दक्षिण भारतीय केही निर्माताको सहकार्यमा नेपालमै तयार हुन लागेको यो फिल्मलाई अपेक्षित प्रोजेक्टका रूपमा लिइएको छ।

बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको हो।

आज घटस्थापनाको दिन पारेर चलचित्र निर्माणको औपचारिक घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन्।

ठूलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेशनल स्टुडियोजले दिएको छ। यसअघि ठूला–ठूला अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका प्राविधिक समूह यसमा संलग्न हुने भएकाले प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ।

हाल फिल्मको प्रारम्भिक तयारीसँगै कलाकार छनोट (कास्टिङ) प्रक्रिया अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ। कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो चलचित्र २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना रहेको बताइएको छ।

चलचित्र ‘ऊनको स्वीटर’ ओटीटीमा रिलिज, एमएसएम भिडियोमार्फत् घरमै बसेर हेर्न सकिने


काठमाडौं –
गत वैशाख २६ गते सिनेमा हलहरूमा प्रदर्शनमा आएको सफल चलचित्र ‘ऊनको स्वीटर’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ। बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल यो चलचित्र अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन वा कम्प्युटरमा हेर्न सक्नेछन्।

आर्टमान्डूले निर्माण गरेको ‘ऊनको स्वीटर’ले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतका कारण दर्शकहरूलाई आकर्षित गरेको थियो। मिडिया र स्वतन्त्र समीक्षकहरूबाट पनि सकारात्मक समीक्षा पाएको यस चलचित्रको निर्देशन र लेखन नवीन चौहानले गरेका हुन्।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको गीत सुजन चापागाईँ र सङ्गीत कोविद बज्रले निर्देशन गरेका हुन्।

‘ऊनको स्वीटर’ले देशभरका करिब ४० वटा सिनेमा हलमा ५१ दिनसम्म सफलतापूर्वक प्रदर्शन भएको थियो।

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। दशैँको फूलपातीमा रिलिज तयारीमा रहेको यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्रको ट्रेलर आज सार्वजनिक भएको हो। दिपेन्द्र के खनाल निर्देशित चलचित्रको ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै अहिलेको समसमायिक राजनीतिक बिषयलाई पनि समेटेको छ।

हरिवंश आचार्य चलचित्रमा हरिबहादुर पात्रमा प्रस्तुत भएका छन्। नेपाली टेलिभिजनको पर्दामा सर्वाधिक सफल यो पात्रको जीवनमा आउने उतारचढावको कथालाई चलचित्रको ट्रेलरमा समावेश गरिएको छ। त्यो संगै युवापुस्ताले खोजेको राजनैतिक परिवर्तन र त्यसबीचमा उत्पन्न हुने परिस्थितिलाइ पनि ट्रेलरमा प्रस्तुत गरिएको छ।

Screenshot

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ।

Screenshot

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

रिलिजको केही घण्टामै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘बलिदान’ ट्रेलर

काठमाडौं – बडादसैँको फूलपातीमा रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’को ट्रेलरले युट्युबमा तहल्का मच्चाएको छ । सार्वजनिक भएको केही घण्टामै यो नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । साथै, नेपालीको बसोबास भएका अन्य मुलुकहरूमा पनि यसले ट्रेन्डिङमा आफ्नो स्थान बनाएको छ ।

धेरै समयदेखि चर्चामा रहेको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक भएसँगै दर्शकमाझ यसले थप उत्सुकता जागेको छ । ट्रेलरमा समावेश शक्तिशाली संवाद, तीव्र एक्सन दृश्य र भावनात्मक प्रस्तुतिले धेरै दर्शकको मन जितेको देखिन्छ । विशेष गरी, समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल र अर्पण थापाको फरक अवतार र अभिनयले ट्रेलरलाई आकर्षक बनाएको छ ।

ट्रेलरको भावनात्मक सुरुवातदेखि समीर भट्टको शक्तिशाली संवाद र एक्सनले दर्शकलाई बाँधेर राख्छ । यसमा सौगात मल्ल र समीरबीचको द्वन्द्व अनि अन्य पात्रहरूको प्रस्तुतिले चलचित्रको कथावस्तु झन् रोमाञ्चक हुने देखाएको छ । छायाङ्कन, संवाद र ब्याकराउन्ड स्कोरको उत्कृष्ट संयोजनले ट्रेलरलाई उच्चस्तरको बनाएको छ ।

चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’लाई केवल चलचित्र नभई हरेक नेपालीको विद्रोहको प्रतीक भनेर बताउनुभएको छ, जसले गर्दा यो चलचित्र नेपाली दर्शकका लागि अझ विशेष बनेको छ । यसको शीर्षक गीत ‘यो ज्यान बलिदान’ पनि पहिले नै चर्चामा आइसकेको छ ।

ट्रेलर ट्रेन्डिङ चार्ट: https://charts.youtube.com/charts/TrendingTrailers/NP

‘बलिदान’को ट्रेलर सार्वजनिक, समीर भट्टको दमदार एक्सन

काठमाडौं – नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत दर्शकमाझ चर्को उत्सुकता जगाइसकेको चलचित्रले ट्रेलरमार्फत अझ व्यापक रूपमा चर्चा बटुलेको छ।

ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत छिन्। उनले छोरासँग, “देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्” भन्दै वचन लिन खोज्ने दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ।

यसपछि दर्शकले आतुरतापूर्वक प्रतीक्षा गरेका अभिनेता समीर भट्टको प्रवेश हुन्छ। उनले उच्च स्वरमा घोषणा गर्छन् – “मेरो शरीरको एक एक थोपा रगत माग दिन्छु। जे भन्नु छ मलाई भन सुन्छु। तर मेरो आमाको बारेमा केही भनिस् भने काट्दिन्छु”। यो संवादसँगै उनी शक्तिशाली एक्सनमा उत्रन्छन्। उनका लडाइँका दृश्यहरू यति तीव्र छन् कि लाग्छ उनले आफ्नो सम्पूर्ण शक्ति स्क्रिनमा पोखिदिएका छन्।

ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्। मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका छन् भने समीर र सौगातबीचको द्वन्द्व दृश्य विशेष रूपमा उभिएको छ।

कहिलेकाहीँ समीरले दर्जनौँ खलनायकहरूसँग एक्लै लड्ने दृश्य देखिन्छ, जसले दर्शकलाई जिरिङ्ग बनाउँछ। छायाङ्कन, संवाद र ब्याकराउन्ड स्कोरले ट्रेलरलाई उच्चतम विन्दुमा पुर्‍याएको छ।

यसअघि सार्वजनिक गरिएको टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको शक्तिशाली संवाद र ऋचा शर्माको भावनात्मक प्रश्नले दर्शकलाई देशभक्ति र क्रोधको भावनामा डुबाएको थियो। निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रको रूपमा देखिएका दृश्यले टिजरलाई थप रोचक बनाएको थियो।

ट्रेलरसम्म आइपुग्दा चलचित्र ‘बलिदान’लाई नेपालको मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै प्रतीक्षित नेपाली चलचित्रका रूपमा हेरिएको छ। निर्देशक सेनले यसअघि नै ‘बलिदान’लाई केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका थिए।

यसबीचमा, चलचित्रको शीर्ष गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक भई चर्चामा छ। सुजन चापागाईँको स्वर र सङ्गीत, हर्क साउदको शब्दमा तयार गीतले जनमानसमा लोकप्रियता पाइरहेको छ।

‘आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको छ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

यो वर्षको बडादसैँको फूलपातीको दिन (असोज १३ गते) प्रदर्शनमा आउने ‘बलिदान’ नेपाली चलचित्रको इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ।

ट्रेलरः https://youtu.be/ZtZSSgDDXrk