आज सार्वजनिक गर्ने भनिएको ‘बलिदान’को गीत रिलिज स्थगित

Loading

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले आज सार्वजनिक गर्ने भनिएको ‘बलिदान’को गीत रिलिज स्थगित गरेका छन् । हिजो बिहीबारबाट नेपाल सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा सिनेमा क्षेत्रमा पनि त्यसको असर परेकाले आज शुक्रबार रिलिज हुने भनिएको गीत अनिश्चितकालका लागि पोस्टपोन्ड गरिएको जानकारी निर्देशक सेनले दिए ।

पछिल्लो समयका चर्चित गायक सुजन चापागाईको स्वरमा तयार पारिएको ‘बलिदान’को लागि शीर्ष गीत ‘आमा’ आज शुक्रबार ५ बजे सार्वजनिक गर्ने तयारी थियो । निर्देशक तथा निर्माता सन्तोष सेनले बिहीबार गीतको पोस्टर समेत सार्वजनिक गरेका थिए । एक साताअघि गीतको टिजर समेत ल्याइएको थियो । तर नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल निस्क्रिय गर्ने सरकारको निर्णयपछि गीत रिलिज पोस्टपोन्ड गरिएको निर्देशक सेनले बताए ।

अब यो गीत कहिले रिलिज हुन्छ त्यसबारे यसै भन्न नसकिने उनले बताए । ‘अहिले सामाजिक सञ्जालका कतिपय प्लेटफर्म आंशिक रूपमा मात्रै चलेका छन् । यस्तो अवस्थामा रिलिज गर्न उपयुक्त ठानेनौं,’ उनले भने ‘अब केही दिन हेरौं । परिस्थिति अनुकूल नभए उपलब्ध प्लेटफर्मममा मात्रै रिलिज गर्नुपर्ला । टिममा पनि सल्लाह गरेर कहिले रिलिज गर्नेबारे निर्णय लिन्छौं ।’

सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो सिनेमालाई वडादशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *