सिनेमा ‘रियाल रिङ्गेट’को प्रदर्शन मिति घोषणा,फर्स्टलुक पोस्टर सार्वजनिक

विभोर पोखरेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘रियाल रिङ्गेट’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली युवाहरूको सपना, संघर्ष र बिछोडको मार्मिक कथामा आधारित सिनेमालाई गगनलाल प्रधानले निर्माण गरेका हुन् । रेबेल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता प्रधान दशकौँदेखि गीत संगीत निर्माणमा सक्रिय छन् । सिनेमाको कथा लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

सिनेमाको नाम नेपालीहरू मजदुरी गर्न जाने देशह कतार तथा साउदी अरेबियाको करेन्सी ‘रियाल’ र मलेसियाको करेन्सी ‘रिङ्गेट’लाई मिसाएर बनाइएको छ । यसको पोस्टरमा भावनात्मक गहिराइ झल्काइएको छ । पोस्टरको ट्यागलाइनमा लेखिएको छ, ‘जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो ।’ यसले सिनेमाको समग्र मर्मलाई एक वाक्यमा समेटेको छ । यो छोटो कविता कवि नाथन रायनले लेखेका हुन् ।

पोस्टरको माथिल्लो भागमा देखिएकी महिला पात्र नीता ढुंगानाको अनुहारमा पीडा, अपुरो आशा र शून्यता देखिन्छ । पोस्टरको बीच भागमा विभिन्न सामाजिक पृष्ठभूमिका पात्रलाई प्रस्तुत गरिएको छ । जसले गरिबीले थिचिएका र अनगिन्ती सपना बोकेर बिदेशिएका नेपाली युवाको प्रतिनिधित्व गर्छन् । पृष्ठभूमिमा प्रवासी मुलुकको सहरका विशाल गगनचुम्बी भवनहरूले मलेसिया, कतार वा युएईजस्ता खाडी मुलुकहरूको संकेत गर्छ ।

सिनेमामा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।

सिनेमामा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत तथा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेका यी गीतका शब्द अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् । भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायांकन गरिएको सिनेमालाई काफिया फिल्मस्ले वितरण गर्दैछ ।द सिनेमा टाइम्स

Leave a Reply