Wed. Jan 22nd, 2025

काठमाडौं / अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी पहिलोपटक चलचित्रमा एकसाथ देखिने भएका छन् । अशोक थापा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘खुस्मा’मा उनीहरुको जोडी बाँधिन लागेको हो । माघे संक्रान्तिको अवसरमा सोमबार कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको छ । दुई चरणमा छायांकन हुने चलचित्र द्वन्द्वकालीन प्रेमकथामा केन्द्रित भएर बन्नेछ ।

चलचित्रको निर्मातामा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी छन् भने एसडी योगी, सुरेन्द्र राना र राम अविरल विष्टको संगीत रहनेछ । दीपक बज्राचार्यले छायांकनको जिम्मेवारी पाएको चलचित्रमा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) र अरुण मगरको पनि अभिनय रहनेछ । एम मिडियाको ब्यानरमा निर्माण हुने चलचित्रलाई काफिया फिल्मस्ले देशभर वितरण गर्नेछ ।

धिरजले चलचित्रमा आफ्नो गाउँको क्यारेक्टर रहेको बताएका छन् । ‘मलाई हरेक चलचित्रमा दर्शकले फरक लुक्समै देखिरहनुभएको छ । यसमा पनि त्यो देखिनेछ,’ उनी भन्छन्, ‘मलाई निर्देशकले फिल्म अफर गर्दा नै केही फरक लागेको थियो । यसमा फरक तरिकाले लभस्टोरी कथा आउनेछ । गाउँमा हुँदाको ‘इनोसेन्ट लभ’लाई चलचित्रलाई देखाइनेछ । म चलचित्रलाई लिएर उत्साहित छु ।’

उपासना भने स्क्रिप्ट सुन्नसाथ चलचित्रमा काम गर्नुपर्छ भन्ने निर्णयमा पुगेको बताउँछन् । ‘स्क्रिप्ट सुनेपछि नै मलाई यो चलचित्र गर्नैपर्छ भन्ने लागेको थियो । चलचित्रमा गाउँको मीठो लभस्टोरी छ,’ उनले भनिन् । धिरजसँग काम गर्ने इच्छा पूरा भएकोमा पनि उनले खुसी व्यक्त गरिन् । चलचित्रको छायांकन यही माघ ५ गतेदेखि रुकुमको मैकोट, बागलुङको ढोरपाटन, पोखरा र काठमाडौंमा गरिनेछ ।

Leave a Reply