Tue. Mar 19th, 2024

काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले दर्शकमा पुर्याइने जानकारी दिएका हुन्‌ ।

“मैले तेलुगु चलचित्रमा काम गरेको छु । त्यहाँका दर्शकलाई लक्षित गर्दै स्वराङ्कन गरिएको छ । यद्यपि नेपालमा भने नेपाली भाषामा मात्र प्रदर्शन हुनेछ”, निर्देशक भण्डारीले भने, “हामीले अन्य दर्शक थप्ने हो भने स्वराङ्कनको विकल्प नै छैन । यसले ओटिटीमा स्थान पाएमा अन्य चलचित्रलाई समेत सजिलो हुनेछ ।”

उनले ‘रणवीर’ चलचित्रमार्फत निर्देशनमा सुरुआत गरेका थिए । पहलो चलचित्र द्वन्द्वप्रधान भए तापनि दोस्रो प्रेमकथामा आधारित छ । निर्देशक भण्डारीले भने, “दर्शकलाई फरक स्वाद दिउँ भनेर प्रेम कथानक विधा रोजेको हुँ । यसमा द्वन्द्व छ तर प्रेमको । यसपछि केही समय म यस्तो चलचित्र निर्देशन गर्दिनँ ।”

गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरूष’मार्फत दर्शकमाझ स्थापित हुनुभएका अभिनेता अरुण क्षेत्रीले कथावस्तु सुन्दर रहेको बताएका छन्‌ । “ट्रेलरमा उस्तै देखिए तापनि मेरो चरित्र विल्कुलै फरक छ । आफूलाई भिन्न देखाउने कोसिस गरेको छु”, अभिनेता क्षेत्रीले भने, “दर्शकले गर्नुभएको विश्वास बढ्ने गरी काम गरेको छु ।”

चलचित्रकी अभिनेत्री सुवेक्षा खड्काले आफूले निर्वाह गर्न चाहेको भूमिका पाएको जानकारी दिइन्‌ । उनले भनिन्‌, “यो चरित्रसँग भावनात्मकरूपमा समेत जोडिएकी थिएँ । यसलाई जिवन्त बनाउन आफ्नोतर्फबाट सक्दो मेहनत गरेकी छु ।”

आयोजित पत्रकार सम्मेलनमा एसडी योगीको स्वर, सविन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत रहेको चलचित्रको नयाँ गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको थियो । त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको चलचित्रलाई काठमाडौँ, धनगढी र कर्णालीमा छायाङ्कन गरिएको छ ।

यसमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गरेका छन्‌ । चैत १७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘प्रेमा’ लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।

Leave a Reply

%d bloggers like this: