Fri. Mar 29th, 2024

काठमाडाैँ। नेपाली पारिवारिक कथामा आधारित चलचित्र ‘फुलबारी’ले नेपालका फिल्महरूमा दर्शकहरूको व्यापक चहलपहल बढाएको छ। नेपाली  फिल्मका दर्शकहरू घट्दै गइरहेको सन्दर्भमा कथा र अभिनयको राम्रो संयोजन हुँदा नेपाली फिल्मले पनि दर्शकहरूको मन जित्न सक्छ भन्ने प्रमाणित गरेको छ।

अहिले फिल्म दर्शकहरूको उत्तिकै क्रेजका साथ तेश्रो हप्तामा सुखद प्रदर्शन गरिरहेको छ । दिन लम्बिँदै जादा पनि फिल्ममा दर्शकको क्रेज भने सुरूवाति दिनको जस्तै आक्रामक रहेको छ ।

नेपाली फिल्महलहरूमा फागुन ५ गतेबाट ‘फुलबारी’ प्रदर्शन भइरहेको छ। पहिलो दिन सन्तोषजनक नै रहेको दर्शकहरूको संख्या दोश्रो, तेश्रो र चाैथो दिनमा झन बढिरहेको थियो । त्यस्तै, दिनपछि हप्ता बित्दै जाँदा समेत फिल्मको उत्साहमा कुनै कमी देखिएको छैन ।

उत्कृष्ट कथा र अभिनयको संयोजन भएकै कारण फिल्म वर्डस् अफ माउथ पनि राम्रो बटुलिरहेको छ। अहिलेसम्म हलमा फिल्म हाउसफुल प्रदर्शन भइरहेको छ।

फिल्म हेरेर निस्किएका दर्शकहरू पनि कथाको स्तर देखेर भावुक हुँदै बाहिरिएका देखिन्छन्। नेपाली पारिवारिक परिवेशको कथा समेटिएको कारण यस फिल्मले दर्शकहरूलाई भित्री रूपमा नै छोएको भान हुन्छन्।

प्रदशर्नको अघिल्लो दिन गरिएको प्रिमियरपछि नेपाली कलाकार, निर्माता  तथा वितरकहरूले समेत फिल्मले राम्रो कथा उठाएको भन्दै प्रशंसा गरेका थिए। फिल्ममा नै अभिनय गरेकी अभिनेत्री प्रियंका कार्कीले उनकी आमा समेत रूँदै फिल्म हेरेको बताएकी थिइन्।

फिल्म हेरेर निस्किएका एक दर्शकले उत्कृष्ट मध्येको एक नेपाली फिल्म भएको बताएका छन्। त्यस्तै, अर्का दर्शक भने कथा राम्रो भएको भन्दै ताली बजाउँदै बाहिरिएका छन्। अर्की एक दर्शक भने सञ्चारकर्मीलाई आँशु नै आएको प्रतिक्रिया दिँदै बाहिरिएकी छन्।

दर्शकहरूको प्रतिक्रिया अनुसार फिल्ममा भएको भावुक पक्ष, हास्य परिवेश, अभिनय र कथाले फिल्म उत्कृष्ट भएको छ। पछिल्ला महिनामा दर्शक नपाएर केही दिनमा नै हलबाट फिल्म बाहिरिनु पर्ने अवस्था ‘फूलबारी’ले तोडेकै कारण फिल्म उत्कृष्ट भएको सजिलै अनुमान गर्न सकिन्छ।

पछिल्लो समय भारत र नेपालमा पारिवारिक कथावस्तुमा अाधारित फिल्ममा दर्शकहरूको संख्या कम हुँदै गएको विभिन्न अध्ययनहरूले देखाएका छन्। तर, यो फिल्म हेर्न भने युवा, वयस्क, प्राैढदेखि वृद्धहरूको समेत हलमा उपस्थिति देखिन्छ।

यस फिल्मको ‘माया रैछ र त भर रैछ नि’ बोलको गीत पनि देश तथा विदेशमा रहेका नेपालीहरूमाझ लोकप्रीय छ। यस गितले युट्युबमा करिब ४१ लाख भन्दा बढी भ्युज पाइसकेको छ।

एउटा परिवारमा आउने उतारचढावको कथामा आधारित यस् चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। विशेषगरी आफ्नो करिअर बनाउन लगनशील सन्तान र सन्तानलाई त्यसलायक बनाउन शिक्षक पेशामा अवकाश पाइसकेका अभिभावक बीचको चाहना चलचित्रमा रहेको छ।

यशोदा फिल्म्सको ब्यानरमा निर्माण भएको यस् चलचित्रमा कमल किशोर मुलपानीको कथा रहेको छ भने उपेन्द्र सुब्बाको लेखन रहेको छ।

चलचित्रमा विपिन कार्की, दयाहाङ राई, अरुना कार्की, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के लगायतका कलाकारहरुको अभिनय रहेको छ।चलचित्रलाई जोश हेरुमले खिचेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।

नेपाली परिवारमा पनि विभिन्न खालका उतारचढाव देखिइरहेका हुन्छन् । यस फिल्मले सन्ततिले समाज तथा परिवारमा निर्वाह गर्नुपर्ने भूमिका राम्रोसँग प्रस्तुत गरेको छ । सन्ततिहरूलाई म्यासेज दिनका लागि पनि यो फिल्म हलमा गएर सपरिवार हेर्न लायक छ ।

Leave a Reply

%d bloggers like this: