Thu. Apr 25th, 2024

काठमाडौं । फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत सोमबार भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा इङग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ ।

कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इङग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो ।

विश्वकपको उपाधि दाबेदार मानिएको इङग्ल्यान्डले खेलको पहिलो हाफमा तीन गोल गर्यो भने खेलको दोस्रो हाफमा पनि समान तीन गोल नै थप्यो ।

इङग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे भने जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल थपे । यता इरानका लागि भने मेहदी तारेमीले दुई गोल फर्काए ।

खेलको ३५औँ मिनेटमा वेलिङघमले गोल गर्दै इङ्ग्ल्यान्डलाई सुरुआती अग्रता दिलाए । खेलको ४४औँ मिनेटमा साकाले गोल गर्दै इङग्ल्यान्डको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा स्ट्रर्लिङले गोल गरेपछि इङग्ल्यान्ड खेलको पहिलो हाफमा ३–० ले अघि रह्यो ।

यसैगरी खेलको ६२औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई ४–० को अग्रता दिलाए । खेलको ६५औँ मिनेटमा इरानका खेलाडी तारेमीले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । खेलको ७१औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका रासफोर्डले गोल गर्दै इङ्ग्ल्यान्डलाई ५–१ को अग्रता दिलाए ।

मैदान प्रवेश गरेको एक मिनेट पनि बित्दै नपाउँदै उनले गोल गरे । खेलको ९०औँ मिनेटमा अर्का सब्सिच्युड खेलाडी ग्रेलिसले गोल गर्दै इङग्ल्यान्डलाई ६–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा इरानका खेलाडी तारेमीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गदै खेललाई ६–२ को स्थितिमा ल्याए । इङग्ल्यान्डका खेलाडीले पेनाल्टी क्षेत्रमा इरानी खेलाडीलाई फउल गरेपछि पाएको पेनाल्टीमा तारेमीले गोल गरेका थिए ।

यस जितसँगै इङग्ल्यान्डले पहिलो खेलमै शीर्ष ३ अङ्क जोडेको छ । इरानले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।

आजै राति १२:४५ बजे समूह बी अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसअघि समूह ए मा रहेको सेनेगल र नेदरल्याण्ड्सबीच खेल हुनेछ । उक्त खेल अहिले ९ः४५ बजे सुरुआत हुनेछ ।

Leave a Reply

%d bloggers like this: