Fri. Mar 29th, 2024

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाल ‘महानायक’ होइन भन्ने आशय व्यक्त गरेपछि उत्पन्न भएको विवादले यतिबेला सिंगो देश नै तताएको छ । यो विषय संसद् भवनमा समेत प्रवेश गर्न सक्ने संकेत देखिएको छ । किनभने, ‘महानायक’ को विवादमा सांसद गंगा चौधरीले समेत आफ्नो धारणा राखिसकेकी छन् ।
राजेश हमाललाई ‘महानायक’ को रुपमा स्वीकार नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले दीपाश्रीलाई तल्लो स्तरमा ओर्लिएर गाली गलौच गरिरहेका छन् । हमालका प्रशंसकसँग उनले माफी मागिसक्दा पनि गालीको वर्षा रोकिएको छैन । उनको अभिव्यक्तिमा समर्थन गरेको भन्दै कलाकार दीपकराज गिरीमाथि पनि स्वघोषित ‘महानायक’ भन्दै प्रहार भइरहेको छ ।
यस विषयमा केही दिनअघि उनले सामाजिक सञ्जालको माध्यमबाट आफ्नो लक्ष्य कहिल्यै ‘महानायक’ को घरतिर नमोडिएको बताउँदै आफ्नो गल्ती विनै जबरजस्ती रुपमा ‘महानायक’ बनाउनेहरूलाई धन्यवाद दिएका थिए । यो विवाद साम्य हुने संकेत नदेखेपछि उनले आइतवार फेसबुकमा एक भिडियो पोस्ट्याउँदै ‘छक्का पन्जा’ को ब्रान्डमाथि प्रहार भएको बताएका छन् ।
दीपकराजले अभिनेता हमालसँग दीपाश्रीबाट भएको गल्तीको माफी माग्दै भनेका छन्, ‘राजेश हमाल ‘महानायक’ हो वा होइन भनेर टिप्पणी गर्ने अधिकार हामीलाई छैन । इन्डस्ट्रीले एउटालाई ‘महानायक’ मान्छ भने हामी त्यसलाई सम्मान गर्नुपर्छ । दीपाजीले प्रयोग गरेका शब्दहरु र उहाँको बडिल्याङ्वेजमा कमजोरी भयो । उहाँले शब्द नै मिलाउन सक्नुभएन, त्यो गल्ती हो ।’
दीपाश्रीले माफी मागिसक्दा पनि यो विवाद साम्य नहुनुलाई आफ्नो समूहमाथि ‘साइबर बुलिङ’ भएको उनको भनाई छ । उनले सामाजिक सञ्जालमा आफूहरुमाथि असभ्य भाषा प्रयोग गर्नेमध्ये ७५ प्रतिशत फेक आइडीबाट भएको उनी बताउँछिन् । उनले थपेका छन्, ‘केही प्रतिशत राजेश हमालप्रतिको प्रेम छ । तर, त्योभन्दा ठूलो प्रहार ‘छक्का पञ्जा’ ब्रान्डमाथि भइरहेको छ ।’
यस विवादमा कलाकारिता क्षेत्रमा आबद्ध बरिष्ठ व्यक्तिहरुले पनि दोहोरो भूमिका खेलेको दीपकराजले आरोप लगाएका छन् । विवादित विषयलाई मिलाउनुभन्दा ‘आइ एम विथ राजेश हमाल’ भन्दै माहोल भड्काउने काम भइरहेको र पहिला राजेश हमालको बारेमा नकारात्मक टिप्पणी गर्नेहरु अहिले हमालको पक्ष लिएर माहोल गरम बनाइरहेको उनको टिप्पणी छ ।
उनले दीपाश्रीमाथि अस्लिल गाली गर्नेहरुप्रति लक्षित गर्दै भनेका छन्, ‘के तपाईंले आफ्नो दिदी बहिनीको बिषयमा पनि यस्तै शब्द प्रयोग गर्न सक्नुहुन्छ । तपाइको दिदी बहिनी पनि कुनै केटा साथीसँग काम गर्नुहुन्छ, के उहाँलाई पनि तपाई दिपाश्रीलाई प्रयोग गरे जस्तै शब्द प्रयोग गर्नुहुन्छ त ?’ दीपकले यो विवाद साम्य पार्न आफू राजेश हमालसँग भेट गर्ने सोचमा रहेको बताएका छन् ।

filmykhabar.com

Leave a Reply

%d bloggers like this: