Tue. Apr 23rd, 2024

बक्सअफिस लागू गर्नेविषयमा सोमवार राजधानीमा चलचित्र पत्रकार संघ, नेपालले प्रत्येक महिनाको १५ गते आयोजना गर्ने “स्पीकर्स कर्नर” को पहिलो श्रृंखला अन्तर्गत “नेपालमा बक्सअफिस” विषयमा विभिन्न चलचित्र सम्बन्धि संघ–संस्थाका प्रतिनिधि र फिल्म निर्देशकसँग छलफल गरेको छ । उक्त छलफल कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले र फिल्म निर्देशक दीपेन्द्र के. खनाल उपस्थित थिए ।चलचित्र पत्रकार संघ, नेपालका महासचिव अनिल यादवले सञ्चालन गरेको छलफल कार्यक्रमको सभापतित्व संघका अध्यक्ष सन्दीप सापकोटाले गरेका थिए ।
छलफल कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले अहिलेको प्रविधिको जमनामा नेपालमा बक्सअफिस अत्यन्त आवश्यक रहेको बताए । उनले भने, “बक्सअफिस भनेको समयको माग हो । विज्ञानले दिएको एउटा सिस्टम हो । नेपालमा सञ्चालित मल्टिप्लेक्स सिनेमा हलमा आ–आफ्नै बक्सअफिस छ । तर, विकास बोर्डले लगाउन लागेको बक्सअफिसमा देशभर एउटै सफ्टवेयर हुन्छ । त्यसको एउटै आउटपुट हुन्छ । जस्तो, एउटा हलमा जोडिएको सफ्टवेयर अर्को हलको सफ्टवेयरसँग जोडेर राखिन्छ । त्यसले एउटै सफ्टवेयरबाट देशभरको डाटा काठमाडौंमा बसेर थाहा पाउन सकिन्छ ।”
उनले अगाडि थप्दै भने, “बक्सअफिस अहिलेको अवस्थामा अत्यावश्यक चाहिँ निर्माताहरुलाई नै हो । जे जस्तो व्यापार गरेपनि निर्माताले आफ्नो फिल्मले गरेको व्यापार स्पष्ट थाहा पाउन सक्छन् र राज्यलाई पनि कर छल्ने मौका पाउँदैनन् ।” उनले ४ महिनाभित्र काठमाडौं भित्र र विस्तारै देशभर बक्सअफिस लागू गर्ने काम सुरु हुने पनि बताए ।
त्यस्तै, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले नेपालमा सोचिएको बक्सअफिस संसारमै लागू नभएको बताए । उनले भने, “हलीउड, बलीउडमा बक्सअफिस छ तर त्यहाँ सबै सिनेमा हलहरुको आ–आफ्नै सफ्टवेयर छ । फिल्म चल्ने बेलामा बक्सअफिसको पासवर्ड निर्माताहरुलाई दिईन्छ र निर्माताहरुले आफ्नो फिल्मले गरेको विजनेश हेर्न पाउँछन् ।”
उनले अगाडि थपे, “नेपालमा बक्सअफिस लागू नै भएको छैन् तर यहाँका मल्टिप्लेक्स हलहरुले आफ्नै बक्सअफिस सुरु गरिसकेका छन् । नेपालमा बक्सअफिस लागू गर्न नेपाल चलचित्र संघ सधै सहमत रहेको छ । जतिबेला देखि नेपालमा बक्सअफिसको कुरा सुरु भयो त्यसबेला देखि हाम्रो आपत्ति एउटै कुरामा हो कि हलवालाहरु पारदर्शी छैनन्, हलवालाहरुले चोर्छन् त्यसैले बक्सअफिस लागू हुनु पर्छ भन्ने जुन स्वर सुनियो त्यसप्रति मात्र हाम्रो आपत्ति हो । बक्सअफिसप्रति हाम्रो आपत्ति हुँदै होइन ।”
छलफल कार्यक्रममा बोल्दै चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्लेले भने, “बक्सअफिस लागू भएर नेपाली फिल्मले राम्रो विजनेश गर्ने वा लागू नभए नराम्रो विजनेश गर्ने होइन । त्यसका लागि फिल्म आफैमा राम्रो हुनु पर्छ । बक्सअफिस लागू भएर फिल्म हलमा दर्शकको भिड लाग्ने होइन । बुझ्नेलाई नेपालमा बक्सअफिसले खासै असर पर्छ जस्तो चाहिँ मलाई लाग्दैन तर फिल्म असफल हुने निर्माताहरुलाई चाहिँ मेरो फिल्मले यो हलबाट यति विजनेश गर्यो भनेर चित्त बुझाउने बाटो हुन्छ भन्ने मात्र हो ।”
त्यस्तै, फिल्म निर्देशक दीपेन्द्र के. खनालले नेपालमा बक्सअफिसले ठूलो प्रभाव भने नपारेको बताए । “नेपालमा बक्सअफिस लागू भएर निर्मातालाई ठूलो राहत मिल्ने भन्ने होइन मात्र पारदर्शीता हुन्छ भन्ने हो । बक्सअफिसले ठूलो उथल पुथल हुने पनि होइन मात्र निर्माताहरुलाई डाटा एकै ठाउँबाट आउँछ । नेपालमा बक्सअफिस लागू भएर फिल्मको विजनेशमा ठूलो मद्दत पुग्छ भन्ने चाहिँ हुँदैन ।”, उनले भने ।
नेपालमा  बक्सअफिस लागू नहुँदा एउटा निर्माताले पारदर्शी रुपमा आफ्नो फिल्मले गर्ने विजनेश थाहा पाउन सक्दैनन् । त्यसैले पनि नेपालमा बक्सअफिस लागू गर्नु पर्ने कुरा बारम्बार उठ्दै आइरहेको छ । यसलाई समाधान गर्न चलचित्र विकास बोर्डले नेपालमा बक्सअफिस लागू गर्ने कुरा धेरै पहिलादेखि गर्दै आइरहेको पनि हो । तर, अहिलेसम्म नेपालमा बक्सअफिस लागू भने भएको छैन् । चलचित्र विकास बोर्ड नेपालमा बक्सअफिस लागू गर्न तयार भएपनि हल सञ्चालकहरु आफूलाई चोर भन्ने प्रवृतिको अन्त्य नभएसम्म बक्सअफिस लागू हुन नदिने बताउँछन् ।

Leave a Reply

%d bloggers like this: