Sat. Apr 20th, 2024

‘कसले चोर्यो मेरो मन’ पछि एकअर्काको मुख समेत हेर्न नचाहने आर्यन र रेखा फेरी एकपटक सारा दुश्मनी भुलेर फिल्म ‘रुद्र प्रिया’ मा देखिँदैछन् । केही दिन अगाडि अंकमाल गर्दै बर्षौसम्मको शीतयुद्ध अन्त्य गरेका रेखा र आर्यन एकसाथ पर्दामा देखिन लाग्नु दर्शकहरुलाई पक्कै पनि खुशीको खबर हो । यो जोडीलाई दर्शकहरुले ‘किस्मत’ पछि ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ मा निकै रुचाएका थिए । एकसाथ अभिनय गरेका तीन फिल्म नै हिट सावित हुँदा रेखा र आर्यनको जोडीलाई दर्शकहरुले फेरी पर्दामा हेर्न चाएका छन् जेठ ४ गतेबाट रेखा र आर्यन अभिनित फिल्म ‘रुद्र प्रिया’ को छायांकन सुरु हुँदैछ ।
फिल्ममा आर्यन फाइनल हुनु अगाडि रेखा स्वयले मिडियामा आधिकारीक जानकारी दिएकी थिइन् कि ‘रुद्र प्रिया’ मा अर्पण थापा र सुदर्शन थापा मुख्य भूमिकामा रहनेछन् । तर, फिल्ममा आर्यनको इन्ट्री भएपछि रेखाले अर्पण र सुदर्शनलाई आउट गरेकी छन् । सुदर्शन थापा आफ्नो निर्देशनमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को रिलिजको तयारीमा रहेका कारण ‘रुद्र प्रिया’ लाई समय दिन नसक्ने भन्दै बाहिरिएका छन् भने अर्पण आफ्नो निर्देशन र अभिनयमा तयार भएको फिल्म ‘आधा लभ’ को रिलिज नजिकिँदै गएका कारण ‘रुद्र प्रिया’ बाट हात झिकेको खबर छ । रेखाको कुरा सुन्ने हो भने फिल्म ‘रुद्र प्रिया’ को कथा नायक आर्यन सिग्देललाई नै सोचेर तयार पारिएको थियो । करीब ६ महिनादेखि आर्यनसँग यो फिल्मको विषयमा कुरा पनि भैरहेको थियो तर आर्यन रेखासँग एकसाथ फिल्म गर्न तयार थिएनन् । यसैबीच रेखाले फिल्ममा अर्पण र सुदर्शनलाई लिड रोलमा फाइनल गरिन् । तर, फिल्मका निर्माता रमेश पौडेलले भने आर्यनलाई मनाउन छाडेनन् । अन्ततः आर्यन पनि रेखासँग फिल्म खेल्न राजी भए । रुद्र प्रिया’ लाई ‘माला’ फिल्मका निर्देशक सुदीप भूपाल सिंहले निर्देशन गर्दैछन् । यो फिल्म रेखा थापाको ब्यानर रेखा फिल्मसबाट निर्माण हुन लागेको हो ।

Leave a Reply

%d bloggers like this: