Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
सिन्धुपाल्चोकको गिरानचौरमा दोस्रो एकिकृत बस्ती निर्माणमा खटिएका हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले समाजसेवाका निम्ति खोलेको धुर्मुससुन्तली फाउन्डेसनको बैंक खातामा तीन करोड रुपैयाँ जम्मा भएको छ।
फाउन्डेसनका अध्यक्ष कट्टेलकाअनुसार तिलगंगा आँखा प्रतिष्ठानले रु. १५ लाख सहयोग गरेपछि तीन करोड पुगेको हो। बस्ती निर्माण सुरु गर्दा फाउन्डेसनको खातमा जम्मा एक लाख ७८ मात्र थियो।
धुर्मुससुन्तलीलाई हालसम्म मोटो रकम सहयोग गर्नेमध्ये संस्थाको तर्फबाट हेल्प नेपाल फाउन्डेसनमार्फत २० लाख, सिटी एक्सप्रेस र तिलगंगा आँखा अस्पतालबाट १५ लाख सहयोग प्राप्त भएका छन् भने ६ लाख दिने डेन्डु लामा व्यक्तिका तर्फबाट सबैभन्दा धेरै सहयोग गर्नेमध्ये अगाडि छन्। फाउन्डेसनलाई हालसम्म करिब पाँच सय संस्था तथा व्यक्तिबाट सहयोग प्राप्त भएका छन्।
भुइँचालो गएको एक वर्ष पुगेको दिन वैशाख १२ गते उनीहरुले ६५ परिवारका लागि घरसहित, बगैंचा, पार्क, सामुहिक भवन निर्माणको शुभारम्भ गरेका थिए। धुर्मुसको भनाइमा नमुना बस्तीको अवधारणाअनुसार काम गर्दा करिब पाँच करोड खर्च लाग्नेछ।
अब दुई करोड रकम उठ्नेमा उनीहरु ढुक्क छन्। ‘पहिलो बस्ती बनाइसकेकोलाई विश्वास नगरे कसलाई गर्लान् भन्ने एकखाले अहम्सहितको आँटले बस्ती निर्माणको घोषणा गरेका थियौं,’ धुर्मुसले सेतोपाटीसँग भने, ‘चिनेजानेकाहरु चारपाँच करोड कहाँबाट उठाउँछस्, बहुलाइस् तँ? भन्थे। सुरुमा सोचेअनुसारको सहयोग रकम नउठ्दा त डर पनि लागिसकेको थियो। अब दुई करोड त पक्का उठ्छ। त्यति विश्वास छ। ल मानौं उठेन भनेपनि कार्यक्रमको टुर गरेर र घरै बेचेर भएपनि फूलपातीसम्म बस्ती हस्तान्तरण गर्छौं।’
बस्ती निर्माणका लागि दुई महिनादेखि इन्जिनियर, ओभरसियरलगायत सात जनाको टोलीसहित धुर्मुस गिरानचौरमै काममा खटिएका छन्। हालसम्म घर बनाउने ठाउँ सम्याउने, बाटो बनाउने, ब्लक तयार पार्ने काम भइरहेको र यसै हप्ताबाट घर बनाउने काम थालिने धुर्मुसले बताए।
उनले हालसम्म धेरै खर्च नभएको र खर्चका दिन अब सुरु हुने बताए। कुन शीर्षकमा कति खर्च भयो, खर्चका सबै विवरण फाउन्डेसनको आधिकारिक वेबसाइटमार्फत् सार्वजनिक गरिने उनको भनाइ छ। उनले भने, ‘हामी सबै सामान किन्दा सकेसम्म अनिवार्य भ्याट बिलसहित सामान खरिद गरिरहेका छौं। यो एकिकृत बस्ती निर्माण घर बनाउनु मात्र नभइ एउटा उदाहरणको काम गरौं भनेर गरेका हौं। त्यसैले हामी हरेक खर्चहरु पारदर्शी गर्छौं। यदि पारदर्शी नभएको प्रमाण भेटिए, सार्वजनिक स्थलमा मान्छे भेला पारेर जे सजाय दिए पनि हुन्छ, देश निकाला गरिदिए पनि हुन्छ।’

%d bloggers like this: