Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
नेपाली संगीत संरक्षक तथा प्रवर्द्धक समूह, काठमाडौंले बिहीबार यहाँ गरेको शास्त्रीय संगीत एवं साहित्य संगममय साँझमा सहभागीहरूले निकै आनन्द उठाए ।
प्रजिअ मानबहादुर विक प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सुरुआत संगीत संरक्षक तथा प्रवर्द्धक समूहका संस्थापक अध्यक्ष उत्तम रिमालले ‘जहाँ छन् बुद्धका आँखा…’ गाउँदै गरे । शास्त्रीय प्रस्तुतिको सुरुमा आइन् जोनिशा पौडेल ।
उनलाई तबलामा रविनलाल श्रेष्ठ, हार्मोनियममा श्री केसी र तानपुरामा सरस्वती अधिकारीले साथ दिएका थिए । धनबहादुर गुरुङ र मिलन विष्टको बाँसुरीको धुनले बेग्लै स्वाद दियो । धनबहादुरले लोकप्रिय भाकाहरू पनि सुनाए ।
हेटांैडा–४, ओम हलमा आयोजित कार्यक्रममा साहित्यकार राजेन्द्र थापाले समसामयिक विषय वस्तुमा व्यंग्यात्मक मुक्तक प्रस्तुत गरेका थिए ।
आधा घन्टाभन्दा बढी स्टेज लिएका उनले राजनीति, सामाजिक, कुसंस्कार, मानिसको गलत प्रवृति लगायतका विषयमा मुक्तकमार्फत चर्को व्यंग्य प्रस्तुत गरेका थिए ।
साहित्यकार थापाले प्रस्तुत गरेका व्यंग्यमा वान्स मोर भनेर ताली बजाउने सहभागीहरूको कमी थिएन । सहभागीहरूको ताली र वान्स मोरको आवाजले उनी झन् उत्साहित बन्दै मुक्तकहरू प्रस्तुत गरेका थिए ।
शास्त्रीय संगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा हेटांैडाका संगीतकार भोला जोशी लगायत पाँच जनालाई सम्मान गरिएको थियो ।

%d bloggers like this: