Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
समान काम अनि समान पारिश्रमिकको बहस यतिबेला हलिउडदेखि बलिउडसम्म चलेको छ । एउटै फिल्ममा काम गरे तापनि नायकको दाँजोमा नायिकाले न्यून पारिश्रमिक पाउने गरेको तीतो यथार्थलाई पछिल्लो समयका नायिकाहरूले विरोध गर्न थालेका छन् ।
यही मेसोमा बलिउडका केही नायिकाहरू पनि नायकहरूको तुलनामा पारिश्रमिक पाउन थालेका छन् । तर त्यो कुनै समानताका लागि नभई स्टार भ्यालुकै बलबुतामा बढी पारिश्रमिक पाउनेमा दीपिका पादुकोण र प्रियंका चोपडा अगाडि देखिएका छन् ।
अमेरिका पुगेर टीभी सिरियल ‘क्वान्टिको’ की लिडिङ क्यारेक्टरमा एफबीआई एजेन्टको भूमिका निर्वाह गरेपछि प्रियंका सबैतिर वाहवाही भइन् । लगत्तै उनलाई रकसँग खेल्ने गरी हलिउड फिल्मको अफर पनि आउन थाल्यो । ‘वेबाच’ मा खेल्ने भएपछि त प्रियंकाको चकाचक झनै बढ्यो ।
केही साताअघि मात्रै उनी स्वदेश आउँदा छोटो अवधिमा धेरै विज्ञापन खेलेर मोटो रकम उठाइन् । २४ विज्ञापनका लागि ४० दिन छुट्याएर भारत आएकी उनले उक्त अवधिमा एक सय करोड भारु कमाएको तथ्यांक निकालिएको थियो । हिसाब गर्दा त्यसबेला नायिकाले दैनिक साढे दुई करोड भारु कमाएकी रहिछन् ।
स्वदेशमै ‘पीकू’, ‘वाजिराव मस्तानी’ र ‘तमाशा’ लगालग हिट भएपछि यसकी नायिका दीपिका पादुकोणको पनि भाग्य बदलियो । उनी सोझै हलिउड छिरिन् र भिन डिजेलसँग ‘एक्सएक्सएक्स : द जेन्डर केज’ मा खेल्न पाइन् । दीपिका पनि के कम ?
उनले पनि स्वदेशी विज्ञापनमा खेल्नेदेखि लाइभ पर्फम गर्दा लिने रेटमा काफी वृद्धि गराइन् । हालै उनले तीन दिन सुटिङ गर्न लागिएको एक विज्ञापनका लागि आठ करोड भारु चार्ज गरेकी छन् ।
अन्तिम सम्झौता हुन बाँकी रहे पनि दीपिकाको उक्त डिमान्डलाई यतिबेला अर्थपूर्ण रूपमा हेरिएको छ । प्रियंकाले एक दिनको सरदर साढे दुई करोड भारु लिने गरी रेट बढाएका बेला दीपिकाको भने प्रतिदिन दुई करोड ६७ लाख भारु हुन आउँछ । जुन पारिश्रमिक बलिउड नायकहरू शाहरूख खान, सलमान खान, आमिर खान, रणवीर कपुरको बराबरी हो ।
नेपाल/भारतजस्ता पितृसत्तात्मक समाजका लागि नायक बराबरी पारिश्रमिक लिने हैसियत बनाउनु चानचुने पक्कै हैन । यसअघि दीपिकाले दैनिक डेढ करोड भारु पारिश्रमिक लिने गर्थिन् । जब कि हालै ४५ दिनको सुटिङ सेडयुअलका लागि अक्षय कुमारले फिल्म ‘जोली एलएलबी २’ का लागि ४५ करोड भारु नै पारिश्रमिक पाएका थिए ।
बढी पारिश्रमिक चार्ज गर्ने नायिकामा कट्रिना कैफ पनि माथि छिन् । जबकी उनी हलिउडमा समेत पुगिसकेकी छैनन् र फिल्मले पनि उल्लेख्य सफलता पाइरहेका छैनन् ।

%d bloggers like this: