Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
राजधानीमा हुन लागेको मानवअधिकारका विषयमा आधारित फिल्म महोत्सवका लागि पोखरेली कलाकारहरू सर्ट मुभी बनाउन जुटेका छन् ।
महोत्सवमा सहभागिताका लागि पोखरा फिल्म सोसाइटीले संवादरहित फिल्म ‘ऐना’ को छायांकन थालेको हो ।
लेखनाथको बूढीबजारस्थित स्टुडियोलाई बुधबार प्रहरी हिरासत बनाएर फिल्मका केही दृश्य छायांकन गरिएका छन् । निर्देशक तथा कलाकार विष्णु गौतमका अनुसार द्वन्द्वकालमा सशस्त्र प्रहरी बलको गठनसँगै तत्कालीन विद्रोही पक्राउका लागि अपनाइएका विभिन्न तरिकामध्येको एउटालाई फिल्मको विषय बनाइएको बताए ।
हिरासतका अनुहार कालो कपडाले ढाकेर राखिएपछि यातना दिन सुरु गर्दाको दृश्य छायांकनपछि गौतमले भने ‘सशस्त्रको एउटी महिला जवानले पत्रपत्रिका वितरणको काम गर्दै विद्रोहीलाई सूचना पुर्‍याउने गरेको युवकलाई पक्रेर हिरासतमा ल्याएको दृश्य आजको हो ।’
भाजु महेशको कथालाई १५ मिनेट अवधिको संवादरहित फिल्म बनाउन सोसाइटीलाई श्यामशुक्ल फिल्म सोसाइटीले सघाएको छ । फिल्ममा मुख्य पात्रका रूपमा निर्देशक गौतम र सम्झना सिर्पालीले अभिनय गरेका छन् ।
‘संवादरहित बनाउनु आफैंमा चुनौती रहेछ तर, अभिनयका माध्यमले भावद्वारा विषय बुझाउन सकिन्छ भनेर सुटिङ सुरु गर्‍यौं’, निर्देशक गौतमले भने, ‘सानो बजेटमा बनाउन सुरु गरेको यो फिल्म द्वन्द्वकालका मानवअधिकार हननका धेरै घटनामध्ये यस्तो पनि भएको थियो भनेर देखाउने माध्यम हुनेछ ।’

%d bloggers like this: