Wed. Apr 24th, 2024

chalachitra patrakar sangh pokhara
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा रेम बिक चयन भएका छन् । आईतबार भएको संघको तेस्रो अधिवेशनले अध्यक्षमा रेम बिकसहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा सुशन घिमिरे, सहसचिवमा माधव भुषाल र कोषाध्यक्षमा बोधराज रेग्मी चयन भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरुमा प्रभु अधिकारी, अरुण गिरी, विनु सुवेदी र शशि पौडेल चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको अध्यक्ष चयन भएसँगै रेम बिकले आगामी दिनमा पोखराको चलचित्र पत्रकारिताको विकासका लागि लाग्ने बताए ।
‘पोखरा चलचित्रको लागि उर्भर भुमी हो । र, यहाँ चलचित्रसंग सम्बन्धित क्रियाकलापहरु पनि धेरै हुन्छन् ।’ बिकले भने–‘चलचित्र पत्रकारितामा यहाँ धेरै संभावना छ । त्यसैले यसको विकासमा मेरो हरदम प्रयास हुनेछ ।’ बिक विग एफएम, मेनखबर डटकम र फिल्मीखबर डटकमसँग आबद्ध छन् । उनले वर्तमान समयमा संस्थालाई अगाडि लैजान चुनौती भएपनि संभावना अझै बढि भएको बताए । साथै उनले कार्यसमिति सदस्यहरुलाई साथमै लिएर पोखरालाई ‘चलचित्र नगरी’ बनाउन उद्दत रहने प्रतिबद्धता जनाए ।
चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलको सँयोजकत्वमा निवर्तमान उपाध्यक्ष विभु भुषाल र संस्थापक सदस्य माधव बराल सदस्य रहेको निर्वाचन टोलीले नयाँ कार्यसमितिलाई सर्वसम्मत घोषणा गरेको थियो । आईतबार भएको संघको तेस्रो अधिवेशनमा केन्द्रीय अध्यक्ष शान्तिप्रियले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए । साथै उनले केहि सुस्त रहेको पोखराको चलचित्र पत्रकारिता नयाँ कार्यसमिति गठन भएसँगै तिव्र हुने अपेक्षा गरे ।
त्यस्तै केन्द्रीय समितिका संगठन उपाध्यक्ष विष्णु सुवेदीले संस्थालाई चुस्त तवरले अगाडि बढाउन नयाँ कार्यसमितिलाई आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, निर्देशक समाजका केन्द्रीय उपाध्यक्ष सुमन दाहाल, चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, चलचित्र पत्रकार संघ हेटौँडाका मणिराज गौतम लगाएतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।

%d bloggers like this: