विदेशका ४० देशमा ‘आभाष’,नेपालमा पायो ६५ वटा हल

चलचित्र सम्पादन क्षेत्रमा आफुलाई राम्रो परिचय बनाउन सफल सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र आभाष पुष २५ गते नेपालका ६५ वटा हलमा चल्ने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र नेपालका ६५ वटा हलहरुमा प्रदर्शन हुने चलचित्रका निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै चलचित्रका निर्माता गोविन्द शाहीले चलचित्रलाई अन्तरराष्ट्रिय कलाकार समाजले विभिन्न ४० वटा भन्दा बढी देशमा देखाउने भएको पनि बताएका छन् । त्यसबाट करिब चलचित्रलाई २५ लाख रुपैयाँ नाफा हुने जानकारी दिदैं निर्माता शाहीले यति बेला दर्शकको रोजाईमा चलचित्र आभाष परेको पनि बताए । त्यस्तै कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक सुरेन्द्र पौडेलले अहिलेको युवापुस्तालाई मनछुने गरि आफुले चलचित्र निर्देशन गरेका कारण युवापुस्ताले मात्र होइन जुन सुकै बर्गका दर्शकहरुले पनि चलचित्र हेर्न सक्ने निर्देशक पौडेलले बताए । कार्यक्रममा कलाकार आष्मा डिसी,सलोन बस्नेतको उपस्थिति भएका थिए भने संयम अर्को नयाँ चलचित्रको शिलशिलामा काठमाडौं भन्दा बाहिर रहेका छन् ।

aabash-film-3

कार्यक्रममा चलचित्रकी नायिका आष्मा डिसीले चलचित्रमा आफुले गरेको अभिनय भन्दा पनि सलोन र संयमले गरेको अभिनयले सबैको मनछुन सफल हुने बताइन । चलचित्रमा संयम र सलोनले निकै मेहेनत गरेको खुलाउदैं आष्माले सलोन र संयमको अभिनयको मापन गर्न पनि भ्याएकी थिइन । उनले संयमलाई १० र सलोनलाई ९.५ दिएकी छिन् । त्यस्तै कलाकार सलोन बस्नेतले चलचित्र आभाषले सबैलाई मनको आभाष गराउने दाबी गरे । चलचित्र राम्रो बनेका कारण दर्शकले चलचित्रलाई मनपराउने पनि सलोनले बताएका छन् । चलचित्रमा सुनिल रावल, संयम पुरी, होष्टेलबाट परिचित कलाकार सलोन बस्नेत, आष्मा डिसी,निशा अधिकारी,प्रकृति श्रेष्ठ लगायतले अभिनय गरेका छन् । क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आभाष’ लाई युवा निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । पवन श्रेष्ठ,गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाषले प्रेममा हुने विछोड र आकर्षणलाई पर्दामा उतारेको छ ।

Back To Top