Wed. Dec 25th, 2024

–सजना बराल
राम्रै अंक ल्याएकी थिएँ एसएलसीमा । राम्रो अंक ल्याउनेले ‘राम्रै विषय’ पढ्नुपर्छ भन्नुहुन्थ्यो मेरा आफन्तहरू । उहाँहरूले राम्रा भनेका विषय विज्ञान र व्यवस्थापन थिए । गुरुहरू मलाई ‘साइन्स पढ, डाक्टर बन’ भन्नुहुन्थ्यो । अभिभावकको चाहना मलाई ‘बैँककी हाकिम्नी’ बनाउने थियो । उहाँहरू व्यवस्थापनमा जोड दिनुहुन्थ्यो । मैले कसैको सुनिनँ । आट्र्स अर्थात् मानविकी संकायमा पत्रकारिता र अंग्रेजी साहित्य लिएर पढ्न थालेँ ।
मेरो पारा देखेर सबै छक्क परे । (विज्ञान र व्यवस्थापनभन्दा मानविकीमा कम खर्च लाग्ने भएकाले मेरा अभिभावक चाहिँ खुसी नै थिए । तर, व्यवस्थापन पढ्देकी भए मनग्गे पैसा कमाउँथी भन्ने लागिरहेको थियो उहाँहरूलाई पनि ।) विज्ञान÷व्यवस्थापन नपढेकोभन्दा पनि मैले पत्रकारिता पढेको देखेर धेरैले आश्चर्य माने । कतिले त मुखै फोरे– ‘तिमीजस्तो मान्छेले पनि पत्रकारिता पढ्ने हो ? सुहाउँदै सुहाएन ।’
नसुहाउनुको कारण पनि सुनाउँथे उनीहरू । म हेर्दै सानी, सिकुटी र स्कुल पढ्ने बच्चीजस्तो देखिन्थेँ रे । ‘पत्रकार भनेका अलि हट्टाकट्टा, खाइलाग्दा हुनुपर्छ,’ काका भन्नुहुन्थ्यो, ‘तँ फुकीढल पत्रकार भएर के गर्छेस् ?’
‘दुईचार जनाको हत्या गर्छु,’ भन्दिऊँ झैँ लाग्थ्यो । तर, अर्कै भन्थेँ, ‘पत्रकारले कुस्ती खेल्ने होइन । समाचार खोज्ने र लेख्ने हो । म त्यही गर्छु ।’
‘तँ च्याँसीले लेखिस् समाचार !’ काका मुख लोपार्नुहुन्थ्यो ।
‘लेखिनँ भने म बाँदरकी छोरी !’ म आफूलाई दाउमा राख्थेँ । आफ्नो सम्पूर्ण अस्तित्वलाई दाउमा राख्थेँ ।
‘जे भए पनि तँैले पत्रकारिता चाहिँ नपढ्नु पर्ने हो,’ साथीहरू अर्ती दिन्थे, ‘बरु मेजर म्याथ लिएको भए चाँडै प्रगति गर्थिस् ।’
यस्ता अर्ती–उपदेशले मेरो टाउकै खाएका थिए एकताका । अरू कारणले होइन, उही म सानो कदकी भएकाले पत्रकारितामा ताउरमाउर गर्न सक्दिनँ भन्ने विश्वास थियो सबैलाई । त्यसैले पत्रकारिता पढेर मैले भूल गरेको अवगत गराउन जोसिन्थे जो पनि ।
‘पत्रकारले त आन्दोलनको पनि समाचार लेख्नुपर्छ, तँ छोरी मान्छे, हुलमुलमा कसरी छिर्छेस् ? किचेरै मार्दिन्छन् तँलाई,’ आमा पिलपिलाउनु हुन्थ्यो ।
आफूलाई बिनाकारण कमजोर देखेकोमा म आमादेखि रिसाउँथेँ ।
‘मरे मर्छु,’ म भन्थेँ, ‘सबैजना मर्छन् । तपाईं घर बसी–बसी मर्नुहुन्छ । म कम्तीमा घरबाहिर त मर्छु ।’
पत्रकारहरूमा हुन नहुने अर्को (अव) गुण पनि थियो ममा– भावुकता ।
म असाध्यै भावुक, रुन्चे, मितभाषी र सोझी थिएँ रे ।
छु पनि ।
‘पत्रकारहरू तँजस्ता पिलन्धरे हुँदैनन्,’ भाइको धारणा थियो, ‘उस्तै परे जाइलाग्न सक्छन् । तँ कसैले चर्को स्वर गर्नेबित्तिकै रुन थाल्छेस् । पत्रकार होइन, तँ त रुन्चीकार बने हुन्छ ।’
यही निहुँमा भाइ र मेरो गोरु जुधाइ चल्थ्यो । हानाहान, मारामार भएपछि म रुन थाल्थेँ । ऊ ‘रुन्चीकार, पत्रकार’ भन्दै गिज्याउँथ्यो ।
कम बोल्ने भएकाले मामाहरू पनि भाञ्जीले पत्रकारिता गरेर खालिन् भन्नेमा शंका गर्नुहुन्थ्यो । ‘पत्रकार भएपछि बोल्न सिपालु हुनुपर्छ,’ माहिलो मामा भन्नुहुन्थ्यो, ‘तिमी त दुई शब्द पनि अरूले सुन्नेगरी बोल्दिनौ । कसरी पत्रकार बन्लिऊ र खै ?’
‘लेखेर,’ म यत्ति भन्थेँ ।
मलाई सबैले निकम्मा देख्थे । पत्रकार हुने नामोनिसानै भेटाउँदैन थिए ममा ।
तर, म पत्रकार भइछाडेँ । बाह्र कक्षा पास गर्नासाथ मैले ‘शुक्रवार’मा जागिर पाएँ । मेरा आफन्तको मुख टालियो ।
आफन्त चुप भए पनि मेरा लेखप्रति शंका गर्नेहरू सेलाएनन् । शुक्रवारमा काम सुरु गर्दाताका मैले धेरै आरोप खेप्नुप¥यो । मेरो लेख पढ्ने कतिपय ‘पाठक’ मलाई पत्याउँदैन थिए ।
‘यस्ती फुच्चीले के यस्तो लेखिहोला र ? कसैको चोरी होली । पक्कै सम्पादकले मेहनत गरेको हुनुपर्छ…’ आदि भन्थे । यस्ता लाञ्छनाहरू सुनेको दिन म घर गएर खुब रुन्थेँ । ‘फलानोले यस्तो भन्यो’ भन्दै आमालाई पोल लगाउँथे । ‘त्यो पाजीसँग भोलि भेटा’ मलाई,’ उहाँ पाखुरा सुर्किनुहुन्थ्यो, ‘मैले जान्या छु त्यसलाई । तँभने दिनभरि कुद्ने, रातभरि लेख्ने गर्छेस् । त्यो बजिया (बजिनी) चाहिँ त्यसो भन्ने ? गाला फुट्ने गरी दिन्छु, म त्यसको ।’
आमाको कुराले हँसाउँथ्यो मलाई । म रुँदै हाँस्थेँ । यस्ता आरोप धेरै सुन्न थालेपछि म रुन छाडेँ । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने उखान दिमागमा पस्यो । यसैलाई आफ्नो दर्शन बनाएँ । यसबीच शुक्रवारका साथीभाइको सहयोग पनि अमूल्य रह्यो मेरा लागि । म हतोत्साहित भएका बेला यो टिमले आड दिइरह्यो मलाई । लेख्ने अवसर जुटाइदियो । म लेखेको लेख्यै भएँ ।
अझै पनि मान्छेहरू मलाई देखेर आँखा ठूला पार्छन् । ‘नाबालक पत्रकार’को उपाधिसमेत दिन्छन् कोहीकोहीले । (तर, यो होच्याएर नभई जिस्काएर हुन्छ ।)
गायक प्रेमध्वज प्रधानकहाँ ‘गीतको कथा’ स्तम्भका लागि कुरा गर्न जाँदा उनी मलाई देखेर जिल्ल परेको अझै सम्झिन्छु । ‘कति योङ जर्नालिस्ट तपाई !’ उनले छक्क पर्दै भनेका थिए ।
‘कति ह्यान्डसम सिंगर तपाईं,’ मैले पनि उनलाई जिस्काइदिएकी थिएँ ।

शुक्रवारबाट