Sat. Apr 20th, 2024

काठमाडौं, चैत २९ ।  नाटकप्रेमीका लागि खुसीको खबर छ । केही समयको अन्तरालपछि वरिष्ठ रंगकर्मी सुनिल पोखरेल निर्देशित नाटक हेर्न पाइने भएको छ । यही शुक्रवारदेखि उनी अनुवादित÷निर्देशित नाटक ‘रशोमन’ मञ्चन हुने भएको छ । राजधानीस्थित मण्डला थिएटरमा मञ्चन हुने नाटक जापनिज लेखक ¥युनोसुके अगुतावाको लघुकथामा आधारित छ । विश्वका विभिन्न भाषामा अनुवाद गरी देखाइसकिएको नाटकलाई पोखरेलले नेपालीकरण गरी मञ्चन गर्न लागेको बताए ।
सत्य निरपेक्ष हुँदैन भन्ने थिममा सिर्जित उक्त नाटकलाई सुनीलले सन् १९८५ मा दिल्लीमा पढ्दाताका अनुवाद गरेका थिए । उनले भने, ‘नयाँ नाटक देखाउनुप¥यो भनेपछि मैले हातैले लेखेको यो नाटकको अनुवाद भेटाएँ ।’ सत्यलाई हेर्ने चार दृष्टिकोण नाटकमा देखाइएका छन् । एक लडाकूको हत्याको रहस्य पत्ता लगाउने कथा ‘रशोमन’मा छ । हत्याका बारेमा लडाकूकी पत्नी, लडाकूकी आमा, डाँकू र दाउरेले चार फरक यथार्थ बताउँछन् । चारमध्ये सत्य कुन हो भन्ने पत्ता लगाउने जिम्मा दर्शकलाई छाडिन्छ । यसलाई नेपालीकरण गरिएको छ । त्यसैले पोसाकदेखि द्वन्द्वसम्म नेपाली परिवेशअनुसार हुने निर्देशक पोखरेलले बताए ।
नाटकमा श्रीमान्को भूमिकामा सुरेश चन्द, श्रीमतीको भूमिकामा निशा शर्मा, आमाको भूमिकामा सरिता गिरी, डाँकूको भूमिकामा प्रवीण खतिवडा र दाउरेको भूमिकामा राजकुमार पुडासैनी छन् । त्यसैगरी सिपाही विजय बराल, भिक्षु प्रदीप चौधरी र छोरा विपिन कार्की भएका छन् । संगीत अनुपम र आदित्य, प्रकाश राजकुमार, मञ्च अनुप बराल र द्वन्द्व ज्याक गुरु (गोपाल श्रेष्ठ) को रहेको छ ।

%d bloggers like this: