चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष देखिएको छ ।
खोलाको ढुंगा र बालुवाको ठेकेदार रहेका दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने द्वन्द्वको वरिपरि सिनेमाको ट्रेलर घुमेको छ ।
आफू गरिब भएकै कारण अरूको हेपाइसीमा परेको अनुभूत गर्ने विजय र आफूले ढुंगा, बालुवा उठाइरहेको खोलामा अर्कोले हस्तक्षेप गरेपछि त्यसलाई ठेगान लगाउने दयाहाङको नोकझोक ट्रेलरमा छ ।
दयाहाङ अगाडिपछाडि केटा लगाएर रवाफका साथ हिँडिरहेको देखिने ट्रेलरमा विजय एक नवयौवना समृद्धि अर्यालको प्रेममा छन् ।
जात र कुल ठेगान नभएका विजयको चोला परिवर्तन गर्ने चाहना र आफ्नो हैकम ओरालो लाग्न नदिने दयाहाङको ढिट ट्रेलरमा देख्न सकिन्छ । आफ्नो झोलामा खोला राखेर त्यसमा रजगज गर्ने दयाहाङ र त्यसको स्वाद आफू पनि लिन खोज्ने विजयको प्रयासलाई ट्रेलरमा समेटिएको छ ।
स्तर उकास्न खोज्ने र स्तर कायम राखिराख्न खोज्नेबीचको द्वन्द्व ट्रेलरमा रोचक देखिएको छ । ट्रेलरमा वरिष्ठको चरित्रमा दयाहाङ र बलरामको चरित्रमा विजय देखिएका छन् ।
‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ । ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।
‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।
मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।