काठमाडौं । बाढी र पहिरोको जोखिमका अग्रिम टिकट काटेर सिनेमा हेर्न जान नसक्नेको पैसा फिर्ता हुने भएको छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पैसा तिरेर सिनेमा हेर्न हल जान नसक्नेहरूको पैसा फिर्ता गर्ने भएको हो ।
क्यूएफएक्सले एक सूचना जारी गर्दै सबैभन्दा पहिला आफू सुरक्षित रहन भनेको छ । सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय लिइएको क्यूएफएक्सले जनाएको छ ।
‘हामी आशा गर्छौं तपाईं र तपाईंका प्रियजनहरू सुरक्षित हुनुहुन्छ । नदीको पानीको सतह बढेको कारण केही क्षेत्रहरू बाढीबाट प्रभावित भएका छन् । तपाईंको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो,’ क्यूएफएक्सले भनेको छ, ‘यदि, तपाईं सिनेमाघरहरूमा जान सक्नुहुन्न भने तपाईंको टिकटको पूर्ण रकम फिर्ता गरिनेछ ।’
सरकारले बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै भोलि र पर्सि बिदा दिने निर्णय गरेको छ ।