काठमाडौं । असोज ३ गते रिलिज हुने चलचित्र ‘जारी–२, सङ अफ च्याब्रुङ’को नयाँ गीत रिलिज भएको छ । वर्षकै प्रतिक्षित सिनेमाको ‘अम्लारी’ बोलको गीत सार्वजनिक भएको हो ।
अविज्ञा घिमिरे र विकास लिम्बुको स्वर रहेको गीतमा सुष्मा सिग्देलको शब्दरचना छ । संगीत सुशान्त गौतमको छ । पालम, ख्याली र हाकपारेमा भने दयाहाङ राई र यसेली योङहाङको स्वर छ ।
गीतको केन्द्रमा प्रेम र एकअर्काको साथ छ । सम्झना र त्यसले दिने पीडा गीतमा समेटिएको छ । भिडियोमा सिनेमा मुख्य कलाकार फिचर्ड छन् ।
उपेन्द्र सुब्बा सिनेमाका लेखक तथा निर्देशक हुन् । चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका छ । अन्य कलाकारमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमालाई वर्ष व्यापार गर्ने चलचित्रको श्रेणीमा राखिएको छ ।
‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष यो सिनेमाले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ ।
सिनेमाले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ ।