काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेन ले सार्वजनिक गर्ने भनिएको ‘बलिदान’को गीत रिलिज सोमबार हुने भएको छ।जेन्जी ग्रुपले गरेको आन्दोलन सिनेमा क्षेत्रमा पनि त्यसको असर परेकाले भदौ २० गते शुक्रबार रिलिज हुने भनिएको गीत अनिश्चितकालका लागि पोस्टपोन्ड गरिएको जानकारी निर्देशक सेनले दिएका थिए ।
पछिल्लो समयका चर्चित गायक सुजन चापागाईको स्वरमा तयार पारिएको ‘बलिदान’को लागि शीर्ष गीत ‘आमा’ भोली सोमबार सार्वजनिक गर्ने तयारी रहेको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले एक स्टाटस लेख्दै भनेका छन “ जेन्जी आन्दोलनको क्रान्तिले कतै जनताको मुहारमा नयाँ बिहानको उज्यालो जगाएको छ,आशाको किरण, साहसको बिउ तर यही स्वर उठाउने क्रममा कैयौले आफ्नै प्राण अर्पण गर्दा घर–परिवार शोकको गहिरो समुद्रमा डुबेका छन्..। यो केवल एक आन्दोलन होइन, राष्ट्रकै हृदयमा परेको ठूलो चोट हो..।
अब हामी सबैले जाग्नै पर्छ प्रत्येक क्षेत्र, प्रत्येक हात, प्रत्येक स्वर..। सरकारी संयन्त्र पुनः संवेदनशील हुनै पर्छ, व्यापारी र पेशागत वर्ग जागरूक हुनै पर्छ, नागरिक हरेक कोणबाट अघि बढ्नै पर्छ..। देश चलायमान पार्ने जिम्मा अब अरूको मात्रै होइन, हामी सबैको हो..।
यसै यात्रामा हामी चलचित्रकर्मीहरू पनि मौन बस्न सक्दैनौँ..। हाम्रो कला, हाम्रो कथन, हाम्रो पर्दा पनि राष्ट्रको आत्मासँग जोडिएको छ..। त्यसैले हामी आफ्नो माध्यमबाट आशाको ज्योति बलाउन, बलिदानी आत्माहरूको सम्मान गर्न, र यो क्रान्तिको घाउमा चेतनाको मल्हम लगाउन अघि बढिरहेका छौँ..।
यसै सिलसिलामा, रोकिएको हाम्रो सिर्जनालाई निरन्तरता दिँदै “बलिदान” शीर्षक गीत भोली आम दर्शकको हृदयसम्म पु-याउने तयारीमा छौँ .. आन्दोलनको पीडा र पराक्रमलाई समेटेर, हरेक नेपालीलाई फेरि उठ्न, फेरि उज्यालो देख्न, र फेरि देशलाई आफ्नै काखमा सबल पार्न स्मरण दिलाउने दृढ संकल्पसहित ऊठ्ने कोशिश गर्दैछौ..”।केही साताअघि गीतको टिजर समेत ल्याइएको थियो । तर नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल निस्क्रिय गर्ने सरकारको निर्णयपछि गीत रिलिज पोस्टपोन्ड गरिएको निर्देशक सेनले बताएका थिए ।
सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो सिनेमालाई वडादशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।