Sat. Apr 20th, 2024

एजेन्सी । सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘राधे’ यस वर्षको ईदमा नै प्रदर्शन हुने भएको छ । सलमानले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । ‘राधे’ लाई सिनेमा हलमै रिलिज गर्न देशभरका हल सञ्चालक र प्रदर्शकले सलमानलाई अनुरोध गरेका थिए । उनीहरुकै आग्रहमा उनले कोरोना कहरको समयमा फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन लागेका हुन् ।
मंगलवार उनले सोसल मिडियामा लेखेका छन्, ‘क्षमा गर्नुहोस् कि सबै थिएटर मालिकहरुलाई जवाफ दिन लामो समय लाग्यो । यो समयमा यो एक ठूलो निर्णय हो । कोरोनाका कारण समस्यामा रहेका हल सञ्चालकलाई म ‘राधे’ रिलिज गरेर मद्दत गर्न चाहन्छु । बदलामा म हल सञ्चालकहरुसँग ‘राधे’ हेर्न आउने दर्शकका लागि सिनेमा हलमा अत्याधिक सावधानी अपनाउन आग्रह गर्छु ।’
सलमानका फिल्म प्रायः ईदमा नै रिलिज हुने गरेका छन् । प्रभु देवा निर्देशित यस फिल्ममा दिशा पटानी, ज्याकी श्राफ, जरीना वहाब र रणदीप हुड्डाको पनि मुख्य भूमिका छ । कोरोनाका कारण सिनेमा हल बन्द भएपछि ‘राधे’ ओटीटी प्लेटफर्ममा रिलिज हुने चर्चा चलेको थियो । तर, सलमानले फिल्मलाई सिनेमा घरमै रिलिज गर्ने भएका छन् । यो फिल्मप्रति सिंगो बलिउडकै आश छ ।

Leave a Reply

%d bloggers like this: