Tue. Apr 23rd, 2024

निर्माता सन्तोष सेनले निरन्तर फिल्म निर्माण गरिरहेका छन् । ‘प्रेमगीत’ पछि वर्षमा एउटा फिल्म निर्माण गर्दै आएका उनी अर्को वर्षका लागि एक कमेडी फिल्म लिएर आउँदैछन् । फिल्मको नाम ‘हुतुतु’ जुराइएको छ । छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा फिल्मको निर्देशन गर्नेछन् । अर्को वर्षबाट छायांकन सुरु हुने फिल्ममा नाम चलेका कलाकारहरु फाइनल गरिएको छ ।
फिल्ममा हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेलका साथै प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेनको प्रमुख भूमिका रहनेछ । उनीहरु सबैसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ । ठूलो लागतमा निर्माण हुने फिल्मको कथा सन्तोष सेनको हो भने त्यसलाई पटकथामा ढाल्ने काम छेतन गुरुङ र अभिमन्यू निरवीले गरिरहेका छन् ।
फिल्मको बारेमा जानकारी दिँदै सन्तोषले फिल्मीखबरसँग भने, ‘अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्मका लागि पुरुष कलाकार छनौट भइसके पनि महिला कलाकार चाँडै छनौट गर्नेछौं । फिल्म पूर्ण कमेडी कथामा बन्नेछ । फिल्ममा जति पनि पुरुष कलाकार फाइनल हुनुभएको छ, उहाँहरु सबैको प्रमुख भूमिका छ । कोरोनाको महामारीपछि फिल्म फ्लोरमा जानेछ ।’
लामो समयदेखि दर्शकहरु प्रदीप र पललाई एउटै फिल्ममा हेर्न प्रतिक्षारत थिए । अब त्यो पूरा हुने भएको छ । उनीहरुलाई एकसाथ स्क्रिनमा हेर्न निकै रोचक हुने देखिन्छ । त्यस्तै, दुई पुस्ताको समिश्रणले फिल्म कस्तो बन्ने हो भन्ने चासो पनि सुरु भएको छ । कलाकार आचार्यले धेरैपछि बाहिरी ब्यानरको फिल्ममा काम गर्न लागेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ भने हुने छैनन् ।

filmykhabar.com

Leave a Reply

%d bloggers like this: