Thu. Mar 28th, 2024
बलिउड सुपरस्टार सुशान्त सिंह राजपूतको सुसाइडको खबरले सबैलाई ठूलो झट्का दिएको छ । उनको परिवार, साथीसंगी र बलिउड शोकमा छ । सुशान्तको आत्महत्याको जानकारी उनको घरमा काम गर्ने नोकरले दिएका थिए । अब पुलिस उनले आत्महत्या गर्नुको कारणबारे जाँच गरिरहेको छ । उनी मुम्बईमा रहेको आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
सुशान्तले बलिउडमा आफूलाई अब्बल अभिनेताको रुपमा स्थापित गरिसकेका थिए । उनी अभिनयसँगै अध्ययनको क्षेत्रमा पनि अब्बल थिए । सेन्ट क्यारन हाई स्कूल र नयाँ दिल्लीको हंसराज मोडल स्कूलबाट आफ्नो स्कूलिङ पूरा गरेका उनी १२ पछि भने इन्जिनियरिङ लाइनमा लागे । उनले दिल्ली कलेज अफ इन्जिनियरिङमा मेकानिकल इन्जिनियरिङको अध्ययन गरेका थिए ।
सुशान्त पढाईमा होनहार थिए । उनले एक अन्तर्वार्तामा बताएका थिए कि दिल्ली कलेज अफ इन्जिनियरिङको इन्ट्रान्स परिक्षामा ७औं स्थान मिलेको थियो । तर, तीन वर्षसम्म इन्जिनियरिङ गरेपछि यसलाई आधामै छाडेका उनी आफ्नो सपना पूरा गर्न मुम्बई हानिए । वर्ष २००८ मा ‘किस देश में है मेरा दिल’ सिरियलका लागि छनोट गरेपछि उनको नयाँ सफर सुरु भएको थियो ।
यसपछि उनले ‘पवित्र रिश्ता’ सिरियलमा काम गरे । यो सिरियलले उनलाई ठूलो ख्याती दिलाएको थियो । ‘काई पो छे से’ फिल्मबाट बलिउडमा ब्रेक पाएका उनले ‘एम एस धोनी : द अनटोल्ड स्टोरी’, ‘छिछोरे’, ‘केदारनाथ’, ‘राबता’ र ‘ड्राइभ’ जस्ता फिल्ममा काम गरेका छन् । उनी अभिनीत फिल्म ‘धोनी’ ले बक्सअफिसमा २ सय करोडभन्दा बढी कमाएको थियो ।

Leave a Reply

%d bloggers like this: