Sat. Apr 20th, 2024

बरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको असनमा वि.स. २००३ सालमा गायिका नूरा देवीको कोखबाट उनको जन्म भएको थियो । आमा नूराले उनलाई बेहोसी अवस्थामा जन्म दिएकी थिइन् । उनी जन्मँदा पाँच दिन अगाडि गाइजात्रा थियो । दुःखद संयोग ! उनको निधन गाइजात्राको एकदिन पछि भएको छ ।
२०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’ थियो । यसपछि उनले नाट्य अभिनयमा लामो समय विताइन् । बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा उनले अभिनय गरेकी थिइन् । उनले पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ थियो ।
निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उनी अभिनीत पहिलो फिल्म हो । यसमा उनले हरिप्रसाद रिमालको पत्नीको भूमिका निभाएकी थिइन् । यो फिल्म गर्दा उनी २२ वर्षकी थिइन् । उनले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा काम गरेकी छन् ।
लामो समयदेखि दमको रोगी अभिनेत्री अधिकारीको शनिबार बिहान ८ बजे आफ्नो निवास डल्लुमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघले बताएको छ । अहिले सामाजिक सञ्जालमा फिल्मकर्मीहरुले उनीप्रति श्रदाञ्जली अर्पण गरिरहेका छन् ।
 

filmykhabar.com

Leave a Reply

%d bloggers like this: