Tue. Apr 16th, 2024

१० जेठ, चिप्लेढुङ्गा – लोकगायक एवं गीतकार पदमराज ढकालको एकल साँझ काठमाडौँमा हुने भएको छ । जेठ १८ गते काठमाडौँको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा हुने एकल साँझमा ढकालले आफ्ना नयाँ पुराना करीब १४ गीत प्रस्तुत गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उक्त कार्यक्रममार्फत बचत भएको रकम कलाकार उपचार कोष तथा स्रष्टा सम्मान कोषमा जम्मा गरिने पदमराज ढकाल एकल साङ्गीतिक कार्यक्रम–२०७६ का मूल आयोजक समितिका संयोजक मनकुमार श्रेष्ठले बताए । यसअघि पोखरा र लेखनाथमा आफ्नो एकल साँझ सम्पन्न गरेका ढकालको यो कार्यक्रम चौथो हो । श्रेष्ठका अनुसार यो कार्यक्रम सांस्कृतिक संस्थान र सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान पोखराको संयुक्त आयोजनामा हुनेछ । ढकालको एकल साँझमा लोकगायिका प्राज्ञ हरिदेवी कोइराला, गायिका दुर्गा परियार, कृष्णा परियारले समेत गाउँनेछन् ।
गण्डकी क्षेत्रको लोकभाकालाई आफ्नो आवाज, लय र शब्दका माध्यमबाट विश्वसामु प्रस्तुत गर्ने ढकालका १०० भन्दा बढी गीत रेकर्ड भएका छन् । ढकालका लोकगीत, जागरण गीत र राष्ट्रिय गीतका एक दर्जन एल्बम यसअघि नै सार्वजनिक भइसकेका छन् ।
चेतनामूलक गीत गाउन मन पराउने ढकालले देशभक्तिका राष्ट्रिय गीतका साथमा कौरा, सोरठी, झ्याउरे, धिमाल, देउसी, सिङ्गारुजस्ता गीत गाउँदै नेपाली लोक संस्कृति संरक्षण अभियानमा समेत सक्रिय छन् ।
कार्यक्रमलाई सफल पार्न रु सात लाख ४५ हजार अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ । अनुमानित आम्दानी रु १२ लाख ५० हजार गरी अनुमानित बचत रु पाँच लाख ५०० गर्ने लक्ष्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Leave a Reply

%d bloggers like this: