Thu. Apr 25th, 2024

प्रेममा विछोड भएपछि अधिकांश युवायुवती उदासीन हुने गर्दछन् । हुनत, प्रेम वियोगमा को नै पो खुसी हुन सक्छ होला र ? केटा होस् वा केटी, दुबैका लागि ब्रेकअप नमिठो र उदासलाग्दो हुने गर्दछ । विछोडको पीडा सहन नसकि कतिपयले आफूलाई नै हानी पुग्ने किसिमका क्रियाकलापहरू समेत गर्ने गर्दछन् ।
ज्योतिषबाट फिल्मको हिरो भएका हरिहर अधिकारी पनि प्रेममा विछोड भएपछि विक्षिप्त भएका थिए । कुनै समय उनी एक युवतीको प्रेममा ‘फिदा’ थिए । बिहीवार ‘भ्यालेन्टाइन्स् डे’ को दिन पत्रकारसँग आफ्नो जन्मदिन सेलिब्रेट गर्दैगर्दा उनी आफ्नो विगतमा फर्किए । सिंगल हो र ? भन्ने पत्रकारको प्रश्नमा उनले भने- ‘अहिले चाहिँ सिंगल नै हुँ ।’
त्यसो भए पहिला कसैलाई मनपराउनु हुन्थ्यो ? पत्रकारले प्रतिप्रश्न गरे । उनले मुन्टो हल्ला । कसरी भयो नी ब्रेकअप ? फेरि पत्रकारले प्रश्न गरे । उनको बोली अवरुद्ध भयो । ‘मेरो प्रेम कहानी निकै इमोसनल छ । आज खुसीको माहोलमा विगत सम्झन चाहन्नँ ।’ यति भन्दै गर्दा उनी पूर्व प्रेमिकाको कल्पनामा डुबे । अगाडि थप्दै भने- ‘कुनै दिन कसैलाई आफूभन्दा पनि धेरै प्रेम गर्थेँ ।’
उनले आफ्नो प्रेममा आफैं भिलेन र आफैं हिरो रहेको पनि बताए । ‘मेरो व्यस्तताकै कारणले गर्दा प्रेमलाई दिगो बनाउन सकिनँ’, आँखाको डिलबाट झर्दै गरेका आँसुका ढिकालाई हत्केलाले पुस्दै उनी शब्दविहीन भए । पहिलो प्रेम टुटेपछि अब उनलाई प्रेममा रत्ति विश्वास छैन । प्रेममा विछोड भएपछि ‘भ्यालेन्टाइन डे’ मा कालो पहिरन लगाउने गरेको बताउँछन्, उनी ।
ओठमा मुस्कानलाई सधैं च्याप्ने उनी आफ्नो बर्थडे सेलिब्रेसनमा समेत ज्याकेट, टिर्सट र पाइन्ट सबै कालो रंगको लगाएर पुगेका थिए । यतिसम्म कि उनले देब्रे हातमा कालो रंगको पञ्जा समेत लगाएका थिए । उनी आफ्नो पहिरन देखाउँदै भन्छन्, ‘यो भ्यालेन्टाइनमा कालो रंगको पहिरन लगाउने मै मात्र होला ।’ उनी पहिलो प्रेम टुटेपछि ‘भ्यालेन्टाइन्स् डे’ लाई ‘कालो दिन’ मान्छन् ।
ज्योतिष विधामा निकै कम उमेरमै लोभलाग्दो सफलता हात पारेका हरिहर अब नेपाली फिल्म क्षेत्रमा आफूलाई अभिनेताको रुपमा स्थापित गर्ने दौडमा छन् । उनले चैत १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘शुभ लभ’ बाट नेपाली रजतपटमा आफ्नो अभिनय करिअरको सुरुवात गरेका छन् । यसमा क्रिस्टिन पौडेल उनको अपोजिटमा छिन् ।
बर्थडे केक काट्दै उनले आफ्नो डेब्यू फिल्मको बारे पनि चर्चा गरे । हरिहरले आफू फिल्ममा पनि ज्योतिषकै भूमिकामा रहेको बताए । ‘ज्योतिष नै फिल्मको हिरो हो । हिरोको प्रोफेसन नै ज्योतिषिको छ’, उनी भन्छन्, ‘फिल्ममा उचारचढाव धेरै छन् । एउटा उत्कृष्ट मनोरञ्जनात्मक फिल्म बनेको छ ।’ उनको छेवैमा रहेकी नव-अभिनेत्री क्रिस्टिन भने डेब्यू फिल्मलाई लिएर उत्साहित देखिइन् ।
‘शुभ लभ’ को टाइटल गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिम फिल्मले बक्सअफिसमा सुखद नतिजा ल्याउनेमा आशावादी छ । फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । फिल्मको कथा हरिहर स्वयंको हो । फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी छ । प्रदिपकुमार उदय यसका प्रस्तुतकर्ता हुन् ।
 

FILMYKHABAR.COM

Leave a Reply

%d bloggers like this: