Thu. Apr 25th, 2024

अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’ को छायांकन रोकिएको छ । गएको महिना फिल्मीखबर डटकममा ‘रोजी महर्जनको हत्या प्रकरणसँग कनेक्सन छ प्रदीपको ‘रोजी’ ?’ शिर्षकमा समाचार प्रकाशित भएपछि रोजीको परिवारले मृत छोरीमाथी अन्याय भएको हुनसक्ने भन्दै चलचित्र विकास बोर्डमा फिल्मको छायांकन रोक्न मौखिक दवाव दिएका थिए ।
फिल्मको सुटिङ तत्काल नरोके प्रहरीमा उजुरी दिने महर्जन परिवारको निर्णयपश्चात् विकास बोर्डले बिहीवार फिल्मको सम्पूर्ण छायांकन तत्काल रोक्न निर्देशन दिएको छ । बिहीवार सुटिङ नै रोकेर ‘रोजी’ टिम महर्जनको परिवारसँग छलफल गर्न चलचित्र विकास बोर्ड पुगेको थियो ।
फिल्मीखबर डटकमसँग फोनवार्ता गर्दै फिल्मका निर्देशक निरक पौडेलले भने, ‘रोजी महर्जनको परिवारले फिल्मको सुटिङ रोक्न पटक-पटक दवाव दिएपछि चलचित्र विकास बोर्डबाट हामीलाई फोन आयो । सुटिङ रोकेर हामीले महर्जनको आमा-बुबासँग छलफल पनि गर्‍यौ तर निश्कर्षमा पुग्न सकेनौ । आउँदा बुधवार २ बजे पुनः छलफल हुनेछ ।’
उनले महर्जन परिवारले फिल्मको नाम परिवर्तन गर्न आग्रह गरेको बताए । उनका अनुसार, अब छलफल निश्कर्षमा नपुगेसम्म ‘रोजी’ छायांकन रोकिनेछ । २०६८ साल साउन २० गते आफ्नै प्रेमी सुबास उप्रेतीको योजनामा राजु लोहारले रोजी महर्जनको हत्या गरेको कथामा यो फिल्म आधारित रहेको सिनेवृतमा चर्चा छ ।
तर, यो कुरा गलत रहेको निर्देशक पौडेल बताउँछन् । ‘रोजी महर्जनको हत्या प्रकरणसँग फिल्मको छेउटुप्पो केही मिल्दैन । हाम्रोे कथा विल्कुलै फरक छ’, उनले भने । निर्देशक पौडेलले रोजी महर्जनको हत्या प्रकरणसँग फिल्म आधारित नभएको बताएपनि ‘रोजी’ मा आफ्नै प्रेमीले प्रेमिकाको हत्या गरेको सिन छ । जुन रोजी महर्जनको हत्या प्रकरणसँग मिल्छ ।
विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले रोजीको परिवारलाई कथा देखाएर, सहमती जुटाएर मात्र छायांकन सुरु गर्न ‘रोजी’ टिमलाई ठाडो आदेश दिएकी छन् । तपाईहरुलाई जानकारी रहोस्, ‘रोजी’ का निर्देशक निरक बोर्ड अध्यक्ष पौडेलका भाई हुन् ।
फिल्म ‘रोजी’ मा प्रदीपका अलावा परमिता आरएल राणा, मिरुना मगर, कर्मा शाक्यलगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मको एक गीतसहित २० दिनको छायांकन बाँकी छ । विकास बोर्डले फिल्मको छायांकन रोक्न आदेश दिएपछि निर्माण टिमलाई अब ठूलो भार थपिने भएको छ ।
लगानीको हिसाबले यसले आफूहरुलाई ठूलो घाटा हुने निर्देशक पौडेल दुखेसो गर्छन् । अब फिल्मको छायांकन हुन्छ वा हुँदैन भन्नेमै शंका उब्जिन थालेको छ ।
from:filmykhabar

Leave a Reply

%d bloggers like this: