Thu. Apr 25th, 2024

काठमाडौं –
सम्पत्तिबाट धेरै कुरा किन्न सकिएला तर गुमेको र गिरेको चरित्र फिर्ता गर्न सकिन्न । एउटा पुरानो नै भनाइ छ, ‘धन गयो केही गएन, सम्पत्ति गयो केही गयो तर चरित्र गयो भने सबै थोक गयो । ‘
मानिस धनको पछि दौडिन्छन् । करोडौं मात्र होइन, अर्बौं कमाउँछन् । तर, त्यही व्यक्तिको धन गलत आचरणका कारण कामै नलाग्ने पनि हुन पुग्छ । ‘पाप धुरीबाट कराउँछ’ बूढापाकाले त्यसै भनेका हैनन् । हो, अहिले भारतका डेरा सच्चा सौदाका प्रमुख बाबा राम रहिम सिंहको अवस्था त्यस्तै छ । एक सामान्य किसान परिवारका छोरा उनी रातारात जिरोबाट हिरो बनेका थिए । एक रिपोर्टअनुसार तीन वर्षअघिसम्म उनको वार्षिक आम्दानी ६० करोड भारतीय रुपैयाँ (झन्डै एक अर्ब नेपाली रुपैयाँ) थियो । अर्थात अगस्ट २८ तारिखअघिसम्म बाबा राम रहिम अर्बपतिको हैसियतमा थिए । हाल खाकपति बनेका छन् ।
‘इन्डियन एक्सप्रेस’ अनलाइनका अनुसार भारतको पन्जाबमा मात्रै उनको डेरा सच्चा सौदाको कुल सम्पत्ति कम्तीमा ५२ करोड भारु रहेको छ । बाठिन्डा जिल्लामा मात्रै उनको १९ करोड भारु बराबरको सम्पत्ति छ । राम रहिमको डेरा सच्चा सौदाले दैनिक रूपमा १६ लाख ४४ हजार ८ सय ३३ भारतीय रुपैयाँको कमाइ गरेको ‘आउटलुक’ को अनलाइन संस्करमा उल्लेख छ । यो हिसाबले उनको संस्थाको सम्पत्ति अर्बौं नाघ्न सक्छ ।
भारतीय आयकर विभागलाई उद्धृत गर्दै सार्वजनिक गरिएका रिपोर्टहरूका अनुसार सन् २०१०–११ मा डेराको आम्दानी १६ करोड ५२ लाख ४८ हजार भन्दा माथि थियो । सन् २०११–१२ मा २० करोड २० लाखभन्दा बढी र सन् २०१२–१३ मा २९ करोड ८ लाख १८ हजार पुग्यो । झन्डै ३० करोड भारतीय रुपैयाँ आम्दानी भइसक्दा पनि सरकारलाई बाबा राम रहिमको संस्थाले एक पैसा पनि कर तिर्दैनथ्यो ।
‘बिजनेस वल्र्ड’ का अनुसार भारतका ३६ जना अति विशिष्ट व्यक्तित्व (भीभीआईपी) मध्ये राम रहिम पनि एक थिए । उनलाई ‘जे–प्लस’ स्तरको सुरक्षा उपलब्ध थियो । सन् २०१५ मा ‘इन्डियन एक्सप्रेस’ अखबारले जारी गरेको १०० जना शक्तिशाली भारतीयमध्ये बाबा राम रहिम ९६ औं स्थानमा परेका थिए । अखबारले बाबाको ५ करोड अनुयायी रहेको, ‘लभ चार्जर’ नामक आफ्नो सिडीको एक करोड प्रति बिक्री गरेको र चलचित्र निर्माता/नायकसमेत बन्न भ्याएको दाबी गरेको छ । उनको आफ्नै ७ सय एकड कृषियोग्य जमिन, राजस्थानमा १७५ सिटको हस्पिटल, थुप्रै ग्यास स्टेसन, सुपरमार्केट कम्प्लेक्स र विश्वभरिमा २ सय ५० जति आश्रम रहेका छन् ।
‘रकस्टार बाबा’ को नामले समेत चिनिएका उनी आफूलाई एक्टिङ र गायन क्षेत्रमा समेत उभ्याउन सफल भएका थिए । उनले बनाएको चलचित्र ‘एमएसजी’ को टेलर हेर्नेहरूको संख्या एकै सातामा १५ लाख नाघेको थियो, जुन आफैंमा एउटा रेकर्ड थियो ।
‘बक्स अफिस इन्डिया’ का अनुसार बाबा राम रहिमले पाँचवटा चलचित्रहरू ‘एमएसजी’ (लागत ३० करोड भारु), ‘एमएसजी २’ (लागत २३ करोड), ‘एमएसजी : वारियर लायनहर्ट’ १८ करोड), ‘हिन्द का नापाक को जवाब–एमएसजी लायन हर्ट–२’ (लागत १२ करोड) र ‘जत्तु इन्जिनियर’ (लागत ९ करोड) रहेका छन् । उनले बनाएका चलचित्रमा आफैं नायक र गायक बन्ने गरेका थिए । आज त्यही बाबा राम रहिम कैदखानामा पुगेका छन् । आफ्नै अनुयायी ‘साध्वी’ को चीरहरण मुद्दामा २० वर्षको झयालखानाको हावा खान बाध्य भएका छन् ।
बाबा राम रहिमको जन्म भारतीय राज्य राजस्थानको एउटा किसान परिवारमा भएको हो । राजस्थानमै केही वर्ष बिताएपछि उनी राम रहिम डेरा सच्चा सौदाका प्रमुख बन्न सफल भए । केही वर्षभित्रै उनको पहुँच भारतीय राजनीतिका कहलिएका व्यक्ति/नेतादेखि चलचित्र अभिनेतासम्म र क्रिकेटरसँग जोडिन पुग्यो । सबैसँग उनले राम्रो सम्बन्ध स्थापित गर्न भ्याएका थिए । सामाजिक प्रभाव बढेकै कारण उनलाई पैसाको कमी कहिले भएन । ‘अध्यात्मवाद’ को नाममा देश र विदेशमा अर्बौंको सम्पत्तिसहितको संस्थाका मालिक बने । तर, ती सबै कामै नलाग्ने भएको छ । आफ्नो चरित्र र उचाइको ख्याल नगर्दा मानिस समस्यामा पर्दा रैछन् भन्ने प्रमाण पनि हो यो ।
बर्सेनि करोडौंको आम्दानी गर्ने उनी र उनको संस्थाको अहिले धज्जी उडाइँदै छ । यति मात्रै हैन, उनी अब एक एक रुपैयाँका लागि तडपिने स्थितिमा पुगेका छन् । भारतीय राज्य पंजाब र हरियाणास्थित उच्च अदालतले उनको सबै सम्पत्ति जफत गर्ने आदेश दिइसकेको छ । यो आदेश डेरा समर्थकद्वारा सरकारी सम्पत्तिमा तोडफोड गर्दा पुगेको करोडौं क्षति असुल्न अदालतले त्यसो गरेको बताएको छ । यसले उनको ऐयासी जीवनशैली अब फर्किने छाँट टाढा–टाढा पनि नदेखिएको लख काट्नेहरू बढेका छन् ।
त्यसो त एउटा ‘बाबा’ जसले आफैंलाई आध्यात्मिक गुरु घोषणा गरेका थिए, तिनको जीवनशैली ‘सच्चा जीवन उच्च विचार’ को सिद्धान्तमा चल्नुपथ्र्यो । एउटा अर्बपतिको स्वभाव तिनमा देखिनुपथ्र्यो । तर, त्यो कहिले र कहीँ उनीमा फिटिक्कै देखिएन । सधै बाबा राम रहिमले भड्किलो जीवनशैली अपनाए । तर, उनका अधिकांश अनुयायी गरिब दलित थिए, छन् । दुई छाक टार्नसमेत हम्मे–हम्मे पर्नेहरू बढी उनका ‘फ्लोअर्स’ रहेको सञ्चार माध्यमहरूले जनाएका छन् ।
राम रहिम महँगो कपडा लगाउने, पंखा भएको पगडी धारण गर्ने र ब्रान्डेड जुत्ता लगाएर घुम्न सौखिन थिए । उनको कारगेडमा कम्तीमा पनि सय जति कारहरू हुन्थे । संसारकै सबैभन्दा महँगो कार चढ्थे । १५ देखि २० हजार मानिसहरू बस्न र खाना खान सक्ने गरी आश्रम बनाएका थिए । बाहिरबाट केही पनि खरिद नगर्ने गरी आश्रममै अन्नदेखि तरकारीसम्म उत्पादन गर्ने प्रणाली विकास गरेका थिए । तर, आज त्यो सबै ‘बद्नामी’ को बोझले थिचिएको अवस्थामा पुगेको छ । उनको आश्रममा रहेको च्यानेल मनिटरिङ कन्ट्रोल रुम काम नलाग्ने स्थितिमा पुगेको छ, जसमा २४ सै घण्टा सबै कुराको मनिटर गरिने व्यवस्था उनले मिलाएका थिए ।
कम्तीमा सयवटा जति वाकी–टकी भएको सुरक्षागार्डले पनि बाबा राम रहिमको कालो कर्तुतलाई रोक्न सकेन । उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा सबैभन्दा ठूलो फिंगर पेन्टिङको रेकर्डसमेत बनाइसकेका छन् । ३९ सय वर्गमिटरको उक्त पेन्टिङ २३ सेप्टेम्बर २०१२ मा सिरसामा बनाउन लगाएका थिए ।
त्यस्तै सबैभन्दा ठूलो पोस्टर बनाउने रेकर्डसमेत गुरमित राम रहिम सिंह र हकिकत इन्टरटेन्मेन्ट प्रालिको नाममा छ । राम रहिमले १५ हजार १ सय २३ दशमलव ८ वर्गमिटरको उक्त पोस्टर हरियाणामा १४ सेप्टेम्बर २०१६ मा बनाउन लगाएका थिए । उक्त पोस्टर उनले आफ्नो चलचित्रको प्रोमोसनका लागि बनाउन लगाएका थिए ।
यसैगरी सिरसास्थित एसएमजी कम्प्लेक्समा सन् २०१२ मा आयोजित कार्यक्रममा ७ हजार ६ सय ७५ जनाले हात धोएर रेकर्ड बनाएका थिए, भारतका अन्य सहरहरूमा सरसफाइलाई प्रोमोट गर्न उक्त कार्यक्रमको आयोजना उनले गरेका थिए । त्यस्तै आर्गेनिक तरकारीलाई बढावा दिन उनले तरकारीहरू प्रयोग गरी १ हजार ८ हजार ५८ दशमलव ०७ वर्गमिटरको सांकेतिक चित्र बनाउन लगाएका थिए । त्यो बनाउन ७७ हजार ७ सय २३ केजी काँचो तरकारीको प्रयोग गरिएको बीबीसीले जनाएको छ ।
बाबा राम रहिमको भारतका ५ राज्यहरूमा अर्बौं सम्पत्ति रहेको बताइएको छ । हरियाणा, पन्जाब, राजस्थान, उत्तरप्रदेश र महाराष्ट्रमा उनको धरै सम्पत्ति छ । अमेरिका, क्यानाडा र बेलायतदेखि अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्ससम्म उनको आश्रम विस्तार गरिसकेका छन् । अब कम्तीमा ती आश्रम उनका लागि काम नलाग्ने भएका छन् । दुई साहसी र बहादुर अनुयायी (साध्वी) ले उनको गलत स्वभावलाई उजागर गरेपछि उनी जेलमा परेका छन् । आफ्नै ती साध्वीको बलात्कारको १५ वर्ष पुरानो मुद्दामा सीबीआईको विशेष अदालतले उनलाई १०–१० वर्ष (२० वर्ष) को जेल सजाय र ३० लाखभन्दा बढीको जरिवानासमेत सुनाएको छ ।
विशेष न्यायाधीश जगदीप सिंहले आफ्नो नौ पृष्ठ लामो फैसलामा ‘दोषी (गुरमित राम रहिम) ले एउटा ‘जंगली जनावर’ झैं व्यवहार गर्‍यो र आफ्नो ‘पवित्र’ महिला अनुयायीहरूलाई समेत छाडेन’ भन्ने वाक्यांश राखेकाले उनको चरित्रलाई उदांगो पार्न काफी छ ।  (एजेन्सी)

Leave a Reply

%d bloggers like this: