Fri. Apr 19th, 2024

भारतका चर्चित गायक कुमार सानुले शनिवार काठमाडौंमा आफ्नो सांगीतिक कन्सर्ट सकाएका छन् । झन्डै २५ वर्षपछि नेपाल आएका कुमार सानुले दर्जनौं नेपाली फिल्मको पाश्र्वगायन तथा विभिन्न एल्बममा स्वर दिएका छन् । काठमाडौंको पाँच तारे होटल याक एन्ड यतिमा आयोजना भएको ‘कुमार सानु लाइभ इन कन्सर्ट’मा उनले केही नेपाली गीतसँगै दर्जन बढी हिन्दी गीतहरु गाएर मनोरञ्जन दिए ।
कन्सर्टमा कुमार सानुले ‘मुसुक्क हाँसी देउ फूल फुले झैँ’ लगायतका केही नेपाली गीत गाए तर नेपाली भाषा शुद्धसँग उच्चारण गर्न समस्या भएपछि उनलाई चर्चित नेपाली गायक तथा संगीतकार शम्भुजित बास्कोटाले साथ दिएका थिए । हास्यकलाकार जितु नेपाल र अभिनेत्री निशा अधिकारीले सञ्चालन गरेको कन्सर्टमा नेपालका रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका वन्दना र स्मिता घिमिरेले पनि आफ्नो प्रस्तुती दिएका थिए ।
सन् १९९३ मा वर्षभरिका सबैभन्दा बढी गीत रेकर्डिङ गराउने गायकका रूपमा गिनिजबुकमा नाम लेखाएका कुमार सानुले गाएका नेपाली गीतमध्ये ‘पुरानो हुँदैन माया’, ‘मत अब रिसाउँछु’, ‘भरे आउँछु सपनीमा’, ‘फूल भए जिन्दगी’लगायत दर्जनौँ गीत चर्चित छन् । कुनै वेला एकपछि अर्को फिल्ममा पाश्र्वगायनमा व्यस्त भएका उनले एकै दिनमा १८ वटासम्म गीत रेकर्ड गराएका थिए ।
कुमार सानु कन्सर्टबाट उठेको केही प्रतिशत रकम स्वर्गीय अभिनेता श्रीकृण श्रेष्ठ र उनकी श्रीमती एवं नायिका श्वेता खड्काको नाममा रहेको श्वेताश्री फाउन्डेसनलाई प्रदान गरिने रोशन पराजुलीले जानकारी दिए । कन्सर्टमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी, डा. भोला रिजाल, संगीतकार शम्भुजित बास्कोटा, अभिनेता सरोज खनाल, रंगकर्मी सुनील पोखरेललगायतका कलाकर्मी सहभागी थिए ।

Leave a Reply

%d bloggers like this: