Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
बेबी गायक जस्टिन बिबर उमेरले त अब बेबी रहेनन्, तर मन उनको त्यस्तै छ । कोमल, बालबालिकाको जस्तो, जुन कति बेला पग्लिने हो, थाहा हुन्न ।
क्यानाडेली गायकको त्यो भावुकता हालै हत्या गरिएकी अमेरिकी गायिका क्रिस्टिना ग्रिम्मीप्रति देखिएको छ ।
२२ वर्षे गायक आफ्नै देशमा गत सप्ताहान्त पर्पोज टुरमा थिए । त्यस क्रममा आफ्नो गीत ‘पर्पोज…’ लाई क्रिस्टिनामा समर्पित गर्दै गाउँदै थिए । गाउँदा गाउँदै उनी स्टेजमै उत्तानो परे अनि आँसु पुछ्दै बर्बराए, ‘ग्रिमी, क्यान यु हियर मी ?’
यतिन्जेल उनका फ्यानहरू चिच्याउन र गायकको फोटो खिच्नमै व्यस्त रहेको इन्टरटेनमेन्ट विक्लीले उल्लेख गरेको छ ।
२२ वर्षीया क्रिस्टिनाको अमेरिकी राज्य फ्लोरिडाको ओर्लान्डोमा पाँच दिनअघि हत्या भएको थियो । त्यो दुर्भाग्यपूर्ण दिन उनी ओर्लान्डो कन्सर्ट सकेर फ्यानहरूलाई अटोग्राफ दिँदै थिइन् । त्यत्तिकैमा एउटा अपरिचितले उनीमाथि गोली चलायो । टाउकोमा गोली लागेकी गायिकालाई त्यसको दुई घण्टापछि डाक्टरले मृत घोषणा गरे ।
त्यो व्यक्ति कन्सर्ट स्थलमा बलजफ्ती छिरेको थियो । यही विषयलाई लिएर गायिकाका दाइसँग घम्साघम्सी परेपछि उसले गोली चलाएको र आफूलाई समेत हानेको प्रहरीले बताएको छ ।
अमेरिकन रियालिटी टेलिभिजन सिंगिङ कम्पिटिसनबाट गायनमा आएकी क्रिस्टिना विशेषत: कन्टेम्पोररी पप गीतका कभरबाट लोकप्रिय हुँदै गएकी थिइन् ।
सन् २०११ मा पहिलो एल्बम ‘फाइन्ड मी’ ल्याएकी क्रिस्टिनाले त्यसपछि कभर सङ होइन, आफैंले रचना गरेर गाउन थालेकी थिइन् । एनबीसी टेलिभिजनको रियालिटी सिंगिङ कम्पिटिसन ‘द भ्वाइस’ को छैटौँ संस्करणमा उनी तेस्रो भएकी थिइन् ।
क्रिस्टिनाले १५ वर्षको उमेरदेखि गीत गाएर आफ्नै युट्युब च्यानलमा हाल्न सुरु गरेकी थिइन् । उनले पहिलो कभर हान्ना मोन्टानाको ‘डन्ट वान्न बी टोर्न’ गाएर अपलोड गरेकी थिइन् ।
त्यसपछि माइली साइरसको ‘पार्टी इन द यूएसए’ बाट एकाएक लाइम लाइटमा आएकी थिइन् । युट्युबमा आफ्ना २० लाखभन्दा बढी सस्क्राइबर्स भएकी गायिका २०१३ मा युट्युबमा सर्वाधिक सस्क्राइबर्स हुने संगीतकर्मीको चौथो नम्बरमा थिइन् ।
उनी माई युट्युब कम्पिटिसनमा रिहाना, निक्की मिनाज, जस्टिनजस्ता गायनका हस्तीलाई पछि पार्दै दोस्रो नम्बरमा आएकी थिइन् । पहिलो भने सेलेना गोमेज बनेकी थिइन् । क्रिस्टिनाको युट्युब लोकप्रियता देखेपछि सेलेनाका सौतेनी बाबु ब्रायन टिफी २०१० पछि उनको म्यानेजर बनेका थिए ।

%d bloggers like this: