Tue. Apr 23rd, 2024

फाल्गुण १५ अलनेपाल रिलिजको तयारीमा रहेको स्वर्गीय निर्देशक आलोक नेम्वाङ्को अन्तिम चलचित्र ‘अझै पनि’ यूनिट प्रणय दिवसमा आयोजित एक भव्य कार्यक्रममा सहभागि भएको छ । कायरा बुटिकले आयोजना गरेको ‘भ्यालेण्टाइन रनवे रोमाञ्स’मा आफ्नो बिशेष प्रस्तुती दिँदै प्रेम दिवस र चलचित्रको बिशेष अर्थ दर्शाएको छ । नेपालका चर्चित सेलिब्रेटीका जोडीले क्याटवाक गरेको उक्त कार्यक्रममा ‘अझै पनि’ युनिट पनि रनवेमा देखिएको हो । चलचित्रका तर्फबाट मुख्य कलाकारहरु तथा निर्माता सहभागी थिए । नायक सुदर्शन थापा र नायिका पुजा शर्मा त्यस्तै अर्का नायक पुष्प खड्का र नायिका सुरक्षा पन्त रनवेमा प्रणय झल्काउँदै हिँडेका थिए भने निर्माताद्वय पुनम गौतम र सुदर्शन थापाले पनि क्याटवाक गरे ।

कार्यक्रममा बोल्दै निर्माता पुनम गौतमले चलचित्र रिलिज मिति नजिकिँदै गर्दा आफु उत्साहित रहेको र बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा ‘अझै पनि’को प्रस्तुती राख्न पाउँदा खुशीले गद्गद् भएको बताईन् । उनले कला क्षेत्रलाई माया गर्ने सम्पूर्णको साथ पाए चलचित्र सफल हुने जिकिर गरिन् । साथै, अर्का निर्माता तथा नायक सुदर्शन थापाले फरक प्रकृतिका चलचित्र भन्दै चलचित्र क्षेत्रमा बनिरहेका चलचित्र जस्ता नभएर पुरानै शैलिमा नेपाली समाज भित्रकै महत्वपू्र्ण घटना र कथालाई लिएर चलचित्र बनेको बताए । उनले स्व.निर्देशक आलोक नेम्वाङ्को अन्तिम चलचित्र ‘अझै पनि’ उत्कृष्ट बनेको दावी गर्दै चलचित्र हेरेर साथ दिन सबैलाई आग्रह गरे ।

Sudarshan-Thapa-Pooja-Sharma

नायक सुदर्शन थापा र नायिका पुजा शर्मा 

अझै पनि चलचित्र समाजमा व्याप्त हरेक सकारात्मक र नकारात्मक कुराहरुको शिलशिला निरन्तर नै छ भन्ने उद्येश्यबाट प्रेरित भएर निर्माण गरिएको चलचित्र हो । नेपाली धर्म र संस्कृतीको समेत सम्मान गर्दे यूवा पुस्तालाई आफ्नो पहिचान र अस्तित्वको जर्गेना गर्नुपर्ने विषयलाई सामाजिक रुपमा समेत सन्देशमूलक ढंगले चलचित्रले प्रस्तुत गरेको छ ।

surakshya-panta-puspa-khadka

नायक पुष्प खड्का र नायिका सुरक्षा पन्त

चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, मिथिला शर्मा, विजय लामा, विशाल ढुंगाना, पुष्प खड्का, रामेश्वर पाठक लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा सुदर्शन थापा र पुजा शर्माको प्रेमलाई निकै आर्कषक तबरले देखाइएको छ । हालसम्म सार्वजनिक भएका गीतहरु देखी ट्रेलरसम्ममा सुदर्शन थापा र पुजा शर्माको प्रेमलाई नै मुख्यकेन्द्रि विन्दुमा राखिएको छ ।

पुनम गौतम र सुदर्शन थापाले संयुक्त रुपमा बनाएको यो चलचित्र सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेण्टको ब्यानरमा बनेको हो । ‘भ्यालेण्टाइन रनवे रोमाञ्स’मा चलचित्र क्षेत्रका केही चर्चित जोडीहरुले क्याटवाक गरे । नायिका झरना थापा र निर्माता सुनिल कुमार थापा, नायक मुकेश ढकाल र नायिका मेलिना मानन्धर, नायिका निता ढुंगाना र नायक आमेश भण्डारी, नायक दीलीप रायमाझी र उनकी श्रीमति मञ्जु रायमाझी, फेसन डिजाईनर विश्व गौतम र उनकी श्रीमती साथै साप्ताहिक पत्रिकाका सम्पादक सुवास ढकाल र उनकी श्रीमतीले क्याटवाक गरेका थिए ।

%d bloggers like this: