Thu. Apr 25th, 2024

भारतीय मूलकी सितारवादक अनुष्का शंकरको सम्पूर्ण जीवन सितारको धुनजस्तो मधुर छैन । फूलमा त काँडा हुन्छ भने मान्छेको जीवन सन्ताप र विषादबाट कसरी मुक्त हुन सक्छ र ? 
‘म आम महिलाभन्दा भिन्न कहाँ छु र ?’ सिंगो संसारलाई स्तब्ध पार्ने दिल्ली ग्याङ रेपको सन्दर्भमा बिबिसी रेडियोले गरेको कुराकानीमा उनले भनिन्, ‘मेरो बाल्यकाल पनि ध्वस्त भएको थियो ।’
गएको वर्ष डिसेम्बरमा भारतको राजधानी नयाँ दिल्लीमा बसभित्र एक २३ वर्षीया युवतीको छ जना हुल्याहा केटाको समूहले बलात्कारपछि हत्या गरेको थियो । यो कहालीलाग्दो घटनाले भारतमा बलात्कारविरोधी जुलुस र प्रदर्शनमात्र गराएन, सिंगै दक्षिण एसियालाई झकझकायो ।
बिबिसी रेडियोले अनुष्कासँग दिल्ली बलात्कारकाण्डबारे कुराकानी गरेको थियो । उनले सानो छँदा आफू बलात्कृत भएको त्रासद अतीतको पर्दा उघारिन् । आफ्नो नयाँ एल्बममा महिलाविरुद्ध यौन हिंसाविरोधी सन्देश दिएको बताउने उनले आफूलाई संगीतमार्फत यससम्बन्धी चेतना जगाउने कार्यमा समर्पित गरेकी छिन् ।
‘पिताजीले धेरै विश्वास गरेको मानिसले बाल्यकालको मेरो कलिलो शरीरलाई जथाभावी गिजोलेको थियो,’ अनुष्काले अतीत सम्झिइन् । ‘दिल्ली ग्याङ रेप’जस्ता लाखौँ घटना भारतमा गुपचुप रहेको महिला अधिकारकर्मीहरूको भनाइमा उनी सहमत छिन् । अहिले महिलाविरुद्ध हिंसा र भारतमा महिलाहरूको ‘रोल एन्ड पोजिसन’बारे संसारको ध्यान आकर्षित भइरहेको बेला यसले भारतका अन्य महिलाझैँ आफूलाई पनि सचेत बनाएको उनले बताइन् ।
बेलायतमा जन्मिएर उतै घरजम गरेकी बंगाली मूलकी यी संगीतकारले आफूमाथि बलात्कार भएको घटना सार्वजनिक गर्नुलाई वर्तमानप्रतिको आफ्नो दायित्व सम्झिएकी छिन् । ‘हो, यस्तो दायित्वबोध मलाई भएको छ । सबै कुरा खुलस्त गर्ने सही समय यही हो भन्ने मलाई लागेको छ,’ आफ्नो भोगाइ अरूका निम्ति पाठ हुन सक्ने विश्वाससहित उनले भनिन् ।
बत्तीस वर्षीया अनुष्काले पीडादायी बाल्यकाल सम्झिइन्, ‘ममाथि यौन र मानसिक अत्याचार पटक–पटक हुने गथ्र्याे । वर्षौंसम्म मैले यस्तो सकसमा बाँच्नुप¥यो । जसलाई पिताजीले असाध्यै विश्वास गर्नुभएको थियो, ऊ नै ममाथि दैत्य भएर खनिएको थियो । शरीरका विभिन्न भागमा जबर्जस्ती छुने, मुसार्ने र आमाचकारी गाली गर्ने गथ्र्यो ऊ ।’ उनले ती व्यक्ति को हुन् भन्ने चाहिँ खुलाइनन् ।
किन यत्तिका वर्षसम्म मौन रहनुभयो भन्ने सोधिएको प्रश्नको जवाफमा अनुष्काले भनिन्, ‘मेरो कुरा अरूलाई सुनाउनुको के अर्थ छ र जस्तो लाग्थ्यो । तर, अहिले यो सब बताउनु उपयुक्त छ । यौन हिंसा जोसुकैले जोसुकैलाई जहाँ पनि गर्न सक्छ भन्ने थाहा पाउनैपर्ने भएको छ सबैले ।’
बलात्कार वर्गीय चरित्रको हुन्छ जस्तो उनलाई लाग्दैन । ‘यस्तो हर्कत उच्च वर्गका महिलामाथि हुँदैन भन्ने आम धारणा छ,’ उनले भनिन्, ‘यौन हिंसाको शिकार हुने सबै मध्यमवर्गीय परिवारका महिलामात्रै हुन्छन् भन्ने वाहियात मान्यता छ हामीकहाँ ।’ उनले ठूला घरानाका महिला पनि उत्तिकै जोखिममा रहेको बताइन् ।
सात वटा एल्बम निकालिसकेकी उनले नयाँ एल्बम ‘ट्रेसेज अफ यू’मा बलात्कारविरोधी सन्देश मुखरित गरेकी छिन् । ‘दिल्लीमा ग्याङ रेपपछि हत्या गरिएकी २३ वर्षीया युवतीप्रति मैले यो एल्बम समर्पण गरेकी छु । उनीमाथि हमला हुँदाको बर्बर र त्रासद क्षणलाई संगीतमा उतार्ने प्रयास गरेकी छु,’ उनले भनिन् । गत वर्ष निधन भएका पिताजी रविशंकरप्रति समर्पित गीत पनि एल्बममा रहेको उनले बताइन् ।

%d bloggers like this: