म लसक–मसक गर्ने खालकी छैन रे-सिर्जना सुब्बा

मनोरंजनसंसार डटकम | Tuesday, October 1st, 2013

सिर्जना सुब्बा\रंगकर्मी


थिएटरमा कसरी आइपुग्नुभयो ?
मोडलिङ छाडेर डान्स सिक्न थालेँ । सानोमा पनि राम्रै नाँच्थँे । १५ दिनमै म त डान्स राम्रो नाच्ने भइसकिछु । त्यसपछि स्टेज प्रोग्राममा नाच्न थालेँ । एक वर्षजति स्टेजमा डान्स गरियो । त्यही बेला नेपाल टेलिभिजनमा आउने ‘सुपरएक्टिङ’ भन्ने रियालिटी सोमा भाग लिएकी थिए । नाचघरमा भएको अञ्चलस्तरीय नाटक प्रतियोगितामा त पुरस्कार पनि पाएकी थिएँ । त्यहीँ एक्टिङ सिक्ने कुरा भयो । साथीको सल्लाहमा एक्टर्स स्टुडियोमा सिक्न गएँ ।

मोडलिङमा मन भाँच्चिनुको कारण ?

साँच्चै भन्ने हो भने मलाई मोडलिङमा खासै रुचि थिएन । गर्दिऊँ न त भनेर मात्रै गरेकी थिएँ । नाटक गर्न भनेपछि सानैदेखि रमाइलो लाग्थ्यो । एक्टिङतिर लाग्ने मेसो नपाएर मोडल बनेकी थिएँ । नाटक पाएपछि त्यो छोड्दिएँ ।

कतिवटा नाटक खेल्नुभयो अहिलेसम्म ?
तेह्रवटाजति पुगे कि ? आजसम्म यतिमात्रै नाटक हुनाका कारण थिटरमा एउटै नाटक महिनौँसम्म प्रदर्शन हुन्छ । कहिलेकाहीँ पुरानै नाटक फेरि देखाइन्छ । फिल्मजस्तो नाटकमा एकचोटि प्रदर्शन गर्नासाथ साराले हेर्ने र सकिहाल्ने हुँदैन । थिएटर आर्टिस्टको काम गणितमा धेरै देखिँदैन ।
उही नाटक, एउटै एक्टिङ, उही कथा, उही संवाद दोहो¥याउँदा वाक्क लाग्दैन ?
लाग्दैन । बरु जति पटक ग¥यो, उति रमाइलो लाग्दै जान्छ । पहिलो सोभन्दा दोस्रोमा ‘इम्प्रुभमेन्ट’ हुँदै जान्छ । गल्ती सच्याउँदै गइन्छ । त्यसैमाथि अडियन्स बढ्यो भने त त्यतातिरको ऊर्जा पनि आफूमा समाहित भएको जस्तो हुन्छ । हरेक फिल्डका मान्छेको काम दोहोरिरहेकै हुन्छ नि । हामीलाई त उल्टो नाटक देखाउन पाएन भने दिक्क लाग्छ ।
अचेल त नाट्यकर्मीले फेरि वाहवाही पाउन थालेका छन् है…
सबैतिरबाट वाहवाही भएको छैन । काठमाडौँबाहिरका मान्छेलाई अझै पनि नाटक गर्ने कलाकार भनेका सडकमा ‘नौटंकी’ गर्ने हुन् भन्ने बुझाइ छ । नाटक थिएटरमा यति राम्रोसँग प्रदर्शन हुन्छ भन्ने थाहा छैन । तर, काठमाडौँबासीले भने बुझेका छन्, हेरेका छन् । त्यसैले वाहवाही पनि गरिरहेका छन् । फिल्ममा पनि थिएटर आर्टिस्टको माग बढिरहेको छ । थिएटरका कलाकारले राम्रो गर्छन् भनेर धेरैले पत्याउन थालेका छन् ।
थिएटर आर्टिस्टले फिल्म खेल्न जरुरी छ ?
छैन । आ–आफ्नो च्वाइस हो । तर, खेल्दा कुनै नोक्सान हुँदैन । फेरि नेपालको हालत त्यही हो । व्यापारीबाहेक एकातिर मात्रै काम गरेर धान्न सकिने अवस्था कसैको छैन । सक्नेजति काम गर्दा आफैँलाई फाइदा हुने त हो नि ।
तपाईंले चाहिँ कतिवटा फिल्म खेल्नुभयो ?
फिल्म ‘आवाज’मा छापामार युवतीको भूमिकामा अभिनय गरेकी थिएँ । त्यसपछि ‘लुट’मा पुतली भएर गरेँ । फिल्म ‘नतिजा’, ‘राहदानी’र ‘उमा’मा पनि अभिनय गरेकी छु ।

‘लुट’मा अभिनय गरेयता तपाईंलाई सिर्जनाभन्दा बढी पुतली भनेर चिन्छन्, होइन ?
पहिले पुतली भनेर चिने पनि त्यो सिर्जना सुब्बा भन्ने पनि धेरैलाई थाहा भइसक्यो होला अब त । त्यसअघि ‘आवाज’मा छापामार युवती भएर काम गर्दा चाहिँ माओवादी युद्धमा सामेल भएकै केटी रहिछ भनेछन् धेरैले । अहिले बाटोतिर मास्क नलगाई हिँड्यो भने धेरैले पुतली भनेर बोलाउँछन् । नसुनेझैँ गर्नुपर्छ । स्टेज कार्यक्रम गर्न जाँदा ‘हाकु खोइ ?’ भनेर हैरान पार्छन् । जे होस्, पुतली निकै फेमस भएकी छे ।
साँच्ची, पुतलीको हाकु खोइ, बिहे गर्ने बेला भएन ?
बिहे गर्न जुरेकै छैन, हौ । म एक्लैले गर्छु भनेर भएन । साथीभाइलाई केटा खोज्देऊ भन्यो भने ‘तँ पनि केटासँग बिहे गर्छस् र ?’ भनेर उल्याउँछन् । म अरू केटीजस्तो लसक–मसक गर्ने खालकी छैन रे । केटाजस्ती छस् भन्छन् । सँगै काम गर्ने केटा साथीसँग अरूको लभ पर्छ रे, मेरा त बेस्ट फ्रेन्ड हुन्छन् ।
शंका गर्ने खालको कुरा पो गर्नुभयो त ?
हैट् ! त्यस्तो केही होइन । म त शतप्रतिशत केटी । तर, अलि फरक सोच र स्वभाव भएकी । धेरै लजाउन आउँदैन, चित्त नबुझेको कुरा फ्याट्टै भन्छु । फेरि, मेरो हुर्काइ पनि त्यस्तै भयो । स्कुलदेखि नै ‘डन टाइप’की थिएँ । संगत पनि त्यस्तै खालका केटीहरूसँग थियो । त्यसकै प्रभाव परेको होला ।
जे भए नि विवाह त गर्नैपर्ला नि !

दुईचार वर्षभित्र आँट्नुपर्ला । भने निँ, बिहे गर्नलाई आफूले मात्रै प्लान गरेर भएन । जुरेकै हुनुपर्छ । ढुक्क हुनहोस्, तपाईंलाई पनि निम्तो आउँछ ।

Facebook Comments