Thu. Apr 18th, 2024

बलिउडका अभिनेत्रीबीचको सम्बन्ध केलाउनुपूर्व फिल्म समीक्षकहरू अभिनेत्री कट्रिना कैफको शब्द सापटी लिने गर्छन्, ‘दुई अभिनेत्री कहिल्यै साथी बन्न सक्दैनन् । ‘चेन्नई एक्प्रेस’बाट बक्सअफिसमा धमाका मच्चाइरहेकी अभिनेत्री दीपिका पादुकोणसँग कट्रिनाको सम्बन्धको इतिहास हेर्ने हो भने कट्रिनाको भनाइ सत्यको धेरै नजिक लाग्छ ।
बलिउडमा रजाइँ गरिरहेका यी दुई अभिनेत्री एकअर्कालाई पानी बाराबार गर्छन् । एकले अर्काको मुखै देख्न नपरोस् भनेर एकजना सहभागी हुने सार्वजनिक समारोह अर्कोले बहिष्कार गर्छन् । दुवै जना सहभागी हुनैपर्ने भयो भने पनि एकअर्काको नजिकै पर्दैनन् । निकटवर्तीहरूसँग दुवैले एकअर्काको खिसीटिउरी त गर्छन् नै, मौका मिल्यो भने सार्वजनिक ठाउँमै उछित्तो काट्न पनि संकोच मान्दैनन् ।
भनिन्छ, हरेक पुरुषको सफलताको पछाडि एउटी महिलाको हात हुन्छ । त्यस्तै दुई युवतीबीचको शत्रुताको पछाडि पनि एउटै पुरुषको हात हुनसक्छ । कट्रिना–दीपिका सम्बन्धमा यही ‘नियम’ लागू भएको छ । उनीहरूबीच कटुता उत्पन्न गराउने पुरुष हुन्, अभिनेता रणवीर कपुर ।
सन् २००८ मा रिलिज भएको फिल्म ‘बचना ए हसिनो’ मा दीपिका र रणवीरको जोडीले काम ग-यो । उनीहरूबीच प्रेम बस्यो । फिल्म ‘अजब प्रेम की गजब कहानी’मा कट्रिनासँग रणवीरले काम गर्न थालेपछि दुई अभिनेत्रीबीच वैरभाव उत्पन्न भयो ।
त्यतिबेला कट्रिना अभिनेता सलमान खानसँग ‘इंगेज्ड’ थिइन् । बिस्तारै उनको नाम रणवीरसँग जोडिनथाल्यो । भखैरै फिल्मी क्षेत्रमा पाइला हालेका रणवीर कपुर कट्रिनालाई ‘सिनियर’ मान्थे । दीपिकाले कट्रिनासँगको सम्बन्धलाई लिएर आपत्ति जनाउँदा उनी चित्त दुःखाउँथे ।
एक दिन गोवामा ‘अजब प्रेम की गजब कहानी’ छायांकन भइरहेका बेला दीपिका अचानक मुम्बईबाट छायांकनस्थल पुगिन् र रणवीरमाथि कडा निगरानी राख्न थालिन् । कट्रिनासँगको व्यावसायिक सम्बन्धप्रति पनि दीपिकाले गम्भीर आपत्ति जनाउन थालेपछि रणवीर दिक्क भए । दीपिकालाई ‘सानो चित्त भएकी केटी’को संज्ञा दिँदै उनले ब्रेकअप भएको घोषणा गरे । संयोग नै मान्नुपर्छ, दीपिका र रणवीरबीच ब्रेकअप भएलगत्तै सलमान खानसँग कटिनाको प्रेम पनि टुट्यो ।
अहिले दीपिका सिद्धार्थ माल्य नाम गरेका व्यापारीसँग प्रेममा मस्त छिन् । रणवीर र कट्रिना एकअर्कासँग झन् नजिकिएका छन् । दुवैले प्रेममा परेको सार्वजनिक रूपमा स्वीकार नगरे पनि उनीहरूबीचको प्रेम ‘ओपन सेक्रेट’ भइसकेको छ । केही साताअघि उनीहरू इटालीको एउटा समुद्री किनारमा सँगै नुहाइरहेको फोटो सार्वजनिक भएको थियो । इटालीबाहेक अन्य थुप्रै ठाउँमा यो जोडी घुम्दै गरेको अवस्थामा फेला परेको छ ।
उमेरले कट्रिनाभन्दा तीन वर्ष कान्छी भए पनि २७ वर्षीया दीपिका झगडा गर्ने मामलामा भने अघि छिन् । अर्की अभिनेत्री अनुष्का शर्मासँग पनि दीपिकाको ठाकठुक छ । यसको कारण पनि रणवीर नै हुन् । कुनै बेला अनुष्का र रणवीर ज्यादै निकट थिए । दीपिकासँग रणवीर लहसिएपछि दीपिका अनुष्काको शत्रुजस्तै बनेकी थिइन् । अनुष्काबाहेक लारा दत्तासँग पनि दीपिकाको सम्बन्ध अमिलो छ ।
हेर्दा सोझी भए पनि कट्रिना पनि शत्रुता निर्वाह गर्ने सवालमा कम्ती छैनन् । फिल्म ‘तिस मार खान’मा उनको आइटम नम्बर ‘शिलाकी जवानी’ सुपरहिट भएको थियो । त्यसलगत्तै ‘दम मारो दम’ मा दीपिकाको आइटम नम्बर आयो, तर ‘शिलाकी जवानी’जस्तो हिट भएन । दीपिकाको भन्दा आफ्नो आइटम नम्बर हजार गुणा राम्रो भन्दै कट्रिनाले आफ्ना निकटवर्तीहरूसँग फुइँ लडाउन थालिन् । आफ्नो आइटम नम्बरको शब्द, संगीत, कोरियोग्राफी र स्टाइल सबै दीपिकाको भन्दा राम्रो भएको भन्दै उनी गम्किन थालिन् । एक पत्रकारले ‘दीपिकाको आइटम नम्बर कस्तो लाग्यो’ भनी सोध्दा कट्रिनाले ‘यस्ता कुरामा टिप्पणी गर्ने रहर मलाई फिटिक्कै छैन’ भनिन् ।
सन् २०११ को फेब्रुअरीमा दीपिका र कट्रिनाबीच ‘प्याच अप’ भएको थियो, निर्देशक करन जौहरको पार्टीमा । दीपिकाले अघि सरेर ‘विगतका सबै कुरा बिर्सिदिऊँ । तिमीविरुद्ध ममा कुनै दुरभावना छैन’ भनेपछि दीपिकाको अप्रत्याशित व्यवहार देखेर छक्क परेकी कट्रिनाले दीपिकाको व्यवहारबाट ज्यादै खुसी छु भनेकी थिइन् । यद्यपि एकअर्काको उछित्तो काढ्न पाउँदा दुवै खुसी हुन्छन् ।
(एजेन्सीको सहयोगमा)

%d bloggers like this: